+
+
Shares

मधेशमा ट्रान्सफर्मर चोरी बढ्दै, प्राधिकरण र प्रहरी हैरान

खासगरी गाउँभन्दा केही पर चौरमा सिंचाइ प्रयोजनका लागि जडान गरिएका तथा खानेपानी योजनाका ट्रान्सफर्मर चोरको निशानामा छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ भदौ २ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा सिंचाइ र खानेपानी आयोजनाका लागि राखिएका ट्रान्सफर्मर चोरी हुने घटना बढ्दा किसान र सर्वसाधारण मारमा परेका छन् ।
  • प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्र मधेशमा ३३ वटा ट्रान्सफर्मर चोरी भएका छन् भने पाँच वर्षमा १०१ वटा चोरी भएका छन् ।
  • विद्युत् प्राधिकरणले चोरी रोक्न वेल्डिङ गर्ने लगायतका सुरक्षा उपाय अपनाए पनि चोरहरूले ती विधि तोडेरै उपकरण चोर्ने गरेका छन् ।

२ भदौ, जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका–१ मा सिंचाइका लागि जडान गरिएको १०० केभी क्षमताको ट्रान्सफर्मर २७ साउन राति चोरी भयो । यो ट्रान्सफर्मर एक वर्षअघि २८ असार २०८२ मा जडान गरिएको थियो ।

ट्रान्सफर्मर चोरी भएपछि किसानलाई धानखेतमा सिंचाइ गर्न समस्या भएको छ । सिंचाइको भरपर्दो विकल्प नभएको अवस्थामा ट्रान्सफर्मर चोरीले खेतीपातीमा ठूलो समस्या भएको किसान विपिन यादवले गुनासो गरे ।

‘समयमा पानी पर्दैन । एक वर्षअघि ट्रान्सफर्मर जडान भएपछि केही राहत पुगेको थियो । त्यो पनि चोरी भयो । अब धानमा कसरी सिंचाइ गर्ने ?,’ उनको दुःखेसो छ ।

गत ३ साउन राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरमा खानेपानीको ट्रान्सफर्मर चोरी भयो । सञ्चालनको तर्खरमा रहेको खानेपानी ट्रान्सफर्मर चोरी हुँदा समस्या भएको वडाध्यक्ष अवधकिशोर यादवले बताए । ‘खानेपानी आयोजना सञ्चालनको तयारी थियो । ट्रान्सफर्मर चोरी भएपछि अन्योल भयो,’ उनले भने ।

उनका अनुसार यसअघि पनि वडा नम्बर ८ र ९ को बीचमा रहेको कृषि सिंचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको थियो । पटकपटक ट्रान्सफर्मर चोरीको घटना भइरहेको र यसबारे प्रहरी प्रशासनलाई पनि जानकारी गराइएको उनको भनाइ छ ।

२६ असारमा धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित खानेपानीको ट्रान्सफर्मर चोरी भयो । नक्टाझिजको साविक ६ नम्बर वडामा रहेको खानेपानी उपभोक्ता समितिको ट्रान्सफर्मर पोलबाट झारेर तेल र क्वाइल चोरी गरी लगे । त्यहाँको ट्रान्सफर्मर पहिलो पटक चोरी भएको होइन । त्यसअघि दुई पटक चोरी भइसकेको छ । चोरी नहोस् भनेर वेल्डिङ गरिएको थियो । तर वेल्डिङ तोडेरै चोरी भयो । चोरी भएपछि स्थानीयहरू खानेपानीबाट चार दिन वञ्चित भए । त्यहाँ अर्को टान्सफर्मर जडान गरेपछि खानेपानी पुनः सुचारु भयो ।

धानबाली लगाएको यो मौसममा पानी नपर्दा किसान खडेरीको सामना गरिरहेका छन् । पानी नपर्दा इनार, बोरिङ, स्यालो ट्युबवेल लगायतबाट किसानहरू विद्युतीय मोटरको प्रयोग गरी सिंचाइ गरिरहेका छन् । तर सिंचाइका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी हुन थालेपछि किसान चिन्तित भएका छन् ।

त्यति मात्र होइन, पानीको सतह घट्दै गएपछि आम सर्वसाधारण विद्युतीय मोटर तथा खानेपानी आयोजनाबाट पानी उपभोग गरिरहेका छन् । तर खानेपानी आयोजनामा जडान भएका ट्रान्सफर्मरलाई पनि चोरले लक्षित गरेका छन् ।

ट्रान्सफर्मर चोरीको घटना मधेशमा क्रमिक रूपमा बढ्दै गएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा ३३ वटा ट्रान्सफर्मर चोरी भएका छन् ।

सबैभन्दा बढी महोत्तरीमा ११ वटा ट्रान्सफर्मर चोरी भएका छन् । सप्तरीमा ७ वटा, धनुषा र बारामा ४–४ वटा, सर्लाहीमा ३ वटा, सिरहामा २ र रौतहटमा एउटा ट्रान्सफर्मर चोरी भएको प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता एसपी भेषराज रिजालले जानकारी दिए ।

रिजालले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षको तथ्यांकले पनि वर्षेनी ट्रान्सफर्मर चोरीको घटना बढ्दै गएको देखाउँछ । आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म मधेश प्रदेशमा १०१ वटा ट्रान्सफर्मर चोरी भएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा २१ वटा ट्रान्सफर्मर चोरी भएका थिए । त्यस्तै, आव २०८०/८१ मा १२ वटा र २०७९/८० मा ७ वटा ट्रान्सफर्मर चोरी भएका थिए । आव २०७८/७९ मा भने २८ वटा ट्रान्सफर्मर चोरी भएका थिए । त्यस आर्थिक वर्षदेखि क्रमिक रूपमा घटेको चोरीको घटना पछिल्ला आर्थिक वर्षमा पुनः बढ्दै गएको तथ्यांकले देखाउँछ ।

ट्रान्सफर्मर चोरीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै नयाँ ट्रान्सफर्मर जडान तथा मर्मतमा प्राधिकरणमाथि थप आर्थिक भार पर्ने गरेको छ । खासगरी गाउँभन्दा केही पर चौरमा सिंचाइ प्रयोजनका लागि जडान गरिएका तथा खानेपानी योजनाका ट्रान्सफर्मर चोरको निशानामा छन् । चोरीको घटना बढ्दै गएपछि विद्युत् प्राधिकरण र प्रहरी प्रशासनसमेत हैरान छन् । यसको मारमा किसान तथा सर्वसाधारण परेका छन् ।

विद्युत् प्राधिकरण वितरण केन्द्र सखुवा महेन्द्रनगरका प्रमुख मकसुद आलम चोरीका घटना रोक्न पछिल्लो समय ट्रान्सफर्मर जडान गर्दा वेल्डिङ गर्ने गरिएको बताउँछन् । तर वेल्डिङसमेत काटेर चोरी गर्ने गरेको उनको भनाइ छ ।

‘हामीले आफ्नो वितरण केन्द्रभित्र सिंचाइका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी नहोस् भनेर वेल्डिङ गर्ने गरेका छौँ । चोरहरूको टार्गेटमा खानेपानीका ट्रान्सफर्मर छन् । वेल्डिङ कटर, वायरलेसबाट पनि वेल्डिङ काटेर चोरी गर्ने गरेका छन्,’ उनले भने ।

आलमका अनुसार यस विषयमा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अनुगमन तथा गस्तीबारे पनि कुरा उठाइएको थियो । ट्रान्सफर्मर चोरी गर्ने गिरोह नै सक्रिय रहेकाले प्रहरी प्रशासनले चाहेमा यसको नियन्त्रण गर्न सकिने कुरा आफूले छलफलमा उठाएको उनले बताए ।

चौरमा जडान गरिएका ट्रान्सफर्मर चोरीको उच्च जोखिममा छन् । यस्ता ट्रान्सफर्मर चोरी हुँदा पुनः जडान गर्न समस्या हुने गरेको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख ओमप्रसाद अधिकारी बढ्दै गएको ट्रान्सफर्मर चोरीको घटनाप्रति प्रहरी गम्भीर रहेको बताउँछन् ।

‘ट्रान्सफर्मर चोरीका घटनाले प्रहरी पनि हैरान छ । यसबारे विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग पनि छलफल भएको छ,’ उनले भने, ‘चोरी नियन्त्रण गर्न के–के गर्ने भन्नेबारे पनि विमर्श भएको छ । यसमा जडान गर्ने बेलामै चोरी नहोस् भन्ने आवश्यक सुरक्षाका उपाय अपनाउनु पर्छ ।’

उनको भनाइमा ट्रान्सफर्मर जडान गर्ने बेला वेल्डिङ गर्दा केही हदसम्म चोरीबाट सुरक्षित हुन सक्छ । त्यसपछि ट्रान्सफर्मर जडान भएका क्षेत्रका सर्वसाधारणले पनि चोरी नहोस् भनेर सुरक्षा र निगरानीमा सचेतना अपनाउनु पर्ने उनी बताउँछन् ।

नेपाल प्रहरीको वर्तमान जनशक्ति क्षमता युनिटहरूमा सीमित छ । सीमित जनशक्तिले सबै क्षेत्रको सुरक्षा तथा आवश्यक कार्यसम्पादन गर्नुपर्ने बाध्यता रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुर, मुजेलियाका अनुसार मधेश प्रदेशमा करिब ८ हजार ट्रान्सफर्मर जाडान छ । चोरीको घटना बढेपछि कार्यालयले सर्वसाधारणमा नै सुरक्षा तथा निगरानी गर्ने गरी जनचेतना जगाउने र प्रहरी प्रशासनमा आग्रह गर्ने गरिएको छ ।

‘चोरीको घटना नियन्त्रण गर्न जहाँ टान्सफर्मर जडान छ, त्यहीँका जनतालाई यसको रेखदेख, निगरानी र सुरक्षा दिन, लाइन कटेपछि फोन गरेर जानकारी गराउन आग्रह गरिरहेका छौं,’ क्षेत्रीय कार्यालयका प्रमुख शम्भु कुसियैत यादवले भने, ‘चोरीको घटनावृद्धि नहोस् भनेर मधेश प्रदेश प्रहरी कार्यालयलाई निगरानीको लागि पत्राचार गरेका छौं । जिल्ला प्रशासन तथा प्रहरी कार्यालयहरूलाई पनि अनुगमन तथा निगरानी र अनुसन्धानको लागि पत्राचार गरिएको छ ।’

उनका अनुसार धनुषा, महोत्तरी र सिरहामा ट्रान्सफर्मर चोरीका तीन वटा मुद्दा पनि दर्ता गरिएको छ । प्राधिकरण एक्लैको निगरानीले ट्रान्सफर्मर सुरक्षित नहुने भएकाले सबैको सहयोग तथा निगरानी आवश्यक रहेको उनको भनाइ छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?