News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको भन्दै पूर्वतयारीमा जुट्न आग्रह गरेको छ।
- डा. धर्मराज उप्रेतीले भने, 'अब काउन्टडाउनमा जानुपर्छ, किनभने मनसुन कुनै बेला सक्रिय र कुनै बेला निष्क्रिय हुन्छ।'
- मध्यपहाडी क्षेत्रमा खण्डवृष्टिबाट क्षति भए पनि मधेसमा कम वर्षा भएको र आगामी दिनमा पश्चिम नेपालसहित तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
१ भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्।
सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्। नेपालमा यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको उनले बताए।
नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ। भदौ १ सम्म आइपुग्दा मनसुन अवधि करिब १ महिना १४ दिन बाँकी छ। अब जोखिम व्यवस्थापनका लागि ‘काउन्टडाउन’ मा जानुपर्ने अवस्था रहेको प्रमुख उप्रेतीले बताए।
उनका अनुसार यस वर्ष मनसुनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्यपहाडी क्षेत्रका कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मधेस क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क उद्धृत गर्दै प्रमुख उप्रेतीले नेपालमा वार्षिक औसत वर्षा करिब १ हजार ४७० मिलिमिटर हुनेमा भदौ १ सम्म करिब ८२४ मिलिमिटर वर्षा भएको बताए। यो कुल औसतको करिब ५५ प्रतिशत हो।
तर, वर्षाको समग्र परिमाणभन्दा यस वर्षको वितरण र प्रवृत्ति फरक देखिएको उनको भनाइ छ। पश्चिम नेपालमा आगामी तीन दिनमा भारी वर्षासम्म हुन सक्ने र तराई तथा मधेस क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना देखिएको उनले बताए।
‘नेपालले मनसुन भित्रिने दिन जुन महिनाको १३ तारिखलाई र बाहिरिने दिन अक्टोबर २ तारिखलाई मानेको छ। भदौ १ गतेसम्म आइपुग्दा अब १ महिना १४ दिन मनसुनको अवधि बाँकी छ। अब काउन्टडाउनमा जानुपर्छ, किनभने मनसुन कुनै बेला सक्रिय र कुनै बेला निष्क्रिय हुन्छ,’ उनले भने।
यसपालिको असामान्य वर्षा प्रणालीलाई एल निनोको प्रभावसँग जोडेर हेर्न सकिने उनले बताए। समुन्द्रको सतहको तापक्रममा आएको परिवर्तनले जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गर्दा स्थानीय वायुसँग पनि अन्तरक्रिया गरिरहेको उनको भनाइ छ।
‘जल तथा मौसम विज्ञान विभागको आँकडालाई आधार मान्ने हो भने १ हजार ४७० मिलिमिटर जतिको वर्षालाई औसत वर्षा मानिन्छ। आजको मितिसम्म ८२४ मिलिमिटर अर्थात् ओभरअलमा ५५ प्रतिशत वर्षा भएको छ,’ डा. उप्रेतीले भने ।
उनले थपे, ‘मध्यपहाडी क्षेत्रमा कुनै एकदमै ‘आइसोलेटेड’ ठाउँमा खण्डवृष्टि धेरै भएको र त्यसले गर्दा ठूलो हानि–नोक्सानी गरेको अवस्था छ। तर मधेसमा हेर्ने हो भने यस वर्ष औसतभन्दा निकै कम वर्षा भएको अवस्था छ। आज, भोलि र पर्सिको यो तीन दिनको सन्दर्भमा पनि पश्चिम नेपालमा अलिकति भारी वर्षासम्म हुने देखिन्छ। मधेसमा पनि पहिलोपटक ठूलो वर्षा झर्दैछ।’
अन्य वर्षको तुलनामा यो वर्षको वर्षा प्रणालीलाई एल निनोसँग जोड्न सकिने बताउँदै उनले भने, ‘यसलाई हामीले हिन्द महासागरको जुन दुईवटा ध्रुवीय अवस्था छ- ‘इन्डियन ओसन डाइपोल’, त्यससँग पनि जोड्न सक्छौं। त्यो अहिले तटस्थको अवस्थामा छ। त्यो पोजेटिभ हुने भनेर पनि कतिपय मोडलहरूले देखाएका छन्। पोजेटिभ भयो भने फेरि दसैं–तिहारतिर पानी पर्न सक्ने सम्भावना होला, तर आजै त्यो भन्न मिल्दैन।’
उनले मनसुनसम्बन्धी जानकारी दिन एकीकृत सूचना प्रणालीको विकास गर्न लागेको पनि बताए। साथै, स्थानीय तहमा डोजर प्रयोग गरेर जथाभाबी सडक खन्दा वर्षाको समयमा पहिरो जाने जोखिम बढेको देखिएको पनि उनले बताए।
प्रतिक्रिया 4