News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको त्रिवेणी नगरपालिका–९, ताम्सुमा पहिरोले घर पुर्दा १८ वर्षीया प्रतीक्षा थापाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
- प्रहरी नायव उपरीक्षकको नेतृत्वमा गएको १७ सदस्यीय टोलीले जोखिमपूर्ण बाटो र बाढीको प्रवाह नगरी घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको छ ।
- विपद्को पूर्वतयारी, जोखिमयुक्त बस्तीको व्यवस्थापन तथा स्थानीय निकाय र सुरक्षा निकायबीच प्रभावकारी समन्वयको खाँचो रहेको सुरक्षा अधिकारीहरूले औँल्याएका छन् ।
आकाश रोइरहेझैँ निरन्तर भारी वर्षा भइरहेको थियो । बाहिर वर्षाको आवाज थियो, मनभित्र भने एउटा नमिठो आभासले ठाउँ बनाइरहेको थियो ।
बाजुरा पहिरो र बाढीको उच्च जोखिममा रहेको जिल्ला भएकाले वर्षाको समयमा एउटा प्रश्न बारम्बार मनमा ठोक्किन्थ्यो– कतै कुनै अप्रिय घटना त भएन ?
रातको १२:२३ बजेको थियो । त्यही बेला ड्युटी अफिसरको फोन आयो, ‘सर, जय नेपाल ! त्रिवेणी नगरपालिका–९, ताम्सुमा पहिरोले दुई वटा घर पुरेको खबर आएको छ । दुई जना घाइते छन् । घाइतेमध्ये करिब ४० वर्षीय धर्म थापाको बायाँ खुट्टा र शरीरमा चोट लागेको छ, अवस्था मध्यम छ । करिब ४० वर्षीया धौलीदेवी रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको छ, कानबाट रगत बगिरहेको छ, अवस्था गम्भीर छ । एक जना १८ वर्षीया बालिका प्रतीक्षा थापा बेपत्ता भएको जानकारी आएको छ । नजिकको प्रहरी कार्यालयमा खबर गरिसकेको छु ।’
उहाँको कुरा पूरा हुन नपाउँदै मैले घटनाबारे खबर गर्ने व्यक्तिको फोन नम्बर मागेँ । उद्धार टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएँ । सबैभन्दा नजिकका प्रहरी टोलीलाई तत्काल घटनास्थलतर्फ परिचालन गर्न भनियो ।
केही क्षणमै प्राप्त नम्बरमा फोन गरेँ । फोन एक घण्टीमै उठ्यो । तर फोनको अर्को छेउबाट आएको आवाज शब्दभन्दा धेरै पीडादायी थियो– रुवाइ, चिच्याहट र आत्तिएको आवाज ।
मैले कुनै भूमिका नबाँधी भने, ‘जिल्ला प्रहरी कार्यालयबाट मेरो कमान्डमा उद्धार टोली आउँदै छ । प्रहरी चौकी बडिमालिका र बार्जुघाटबाट पनि टोली हिँडिसकेको छ । नआत्तिनुस्, हामी आउँदै छौँ, हामी छौँ । हामी नपुग्दासम्म गाउँका सबै मिलेर घाइतेलाई पहिरोबाट निकाल्ने प्रयास गर्नुहोला । अहिले सबैले आफ्नोतर्फबाट मानवताको धर्म निभाइदिनु होला ।’

फोन राखेपछि मनमा एउटै कुरा घुमिरहेको थियो– छिटोभन्दा छिटो त्यहाँ पुग्न पाए हुन्थ्यो । तर प्रकृति आफैँ बाटो बनेर उभिएकी थिइनन्, बाटो छेकेर उभिएकी थिइन् ।
प्रहरी चौकी बडिमालिकाबाट खबर आयो– चारैतिर खोला बढेको छ, बाढीले बाटो घेरेको छ, पानी नघटेसम्म ताम्सु पुग्न सम्भव छैन ।
केही बेरमै एक स्थानीय भाइको फोन आयो, ‘म्याडम, यहाँबाट आउन निकै कठिन छ । खोला बढेको छ । बाढी अलि कम भएपछि मात्र अगाडि बढ्न सकिन्छ ।’
मैले घाइतेहरूको अवस्था सोधेँ । उत्तर आयो, ‘एक जना महिलाको खुट्टा, टाउको र कानबाट रगत बगिरहेको छ । एक जना पुरुषको खुट्टामा चोट लागेको छ । घरमै राखेका छौँ । अस्पताल लैजाने बाटो सबै भत्किएको छ । बाढीका कारण अहिले लैजान सम्भव छैन । बेपत्ता बालिकाको भने अहिलेसम्म केही अत्तोपत्तो छैन ।’
त्यो सुन्दा मन झन् भारी भयो । एकातिर घाइतेको जीवन बचाउनुपर्ने जिम्मेवारी थियो, अर्कोतिर बेपत्ता बालिकालाई जीवितै भेट्ने आशा ।
तर बाटोमा पहिरो थियो, ढुंगा थिए, बाढी थियो । सञ्चार शाखाबाट बुझ्दा ठाउँ–ठाउँमा पहिरो खसेको र ठूल्ठूला ढुंगाले बाटो पुरिएको जानकारी आइरहेको थियो ।
Set Content Imageरात ढल्दै थियो । तर मनभित्रको छटपटी भने झन् बढ्दै थियो । त्यहीबीच त्रिवेणी नगरपालिकाका मेयर कर्णबहादुर थापा, उपमेयर कमलाकुमारी जैशी (न्यौपाने) लगायत पालिकाको टोली पनि उद्धारका लागि निस्किएको खबर आयो । समय करिब २ बजिसकेको थियो । उहाँहरूबाट पनि बाटो अत्यन्त कठिन भएको जानकारी आयो ।
त्यतिबेला मेरो मनमा एउटै प्रार्थना थियो– दुई जना घाइतेलाई जसरी भए पनि समयमै अस्पताल पुर्याउन सकियोस् । अनि बेपत्ता बालिका प्रतीक्षालाई सकुशल भेट्न सकियोस् ।’
अन्तत: जिल्लाबाट मसहित १७ जनाको उद्धार टोली आवश्यक उद्धार सामग्रीसहित बिहान ३:३० बजे ताम्सुतर्फ प्रस्थान गर्यौँ ।
मार्तडीबाट तल झर्दै गर्दा कारागारमुनिको बाटोमा लेदो खसेको थियो । गाडी चिप्लिने जोखिम थियो । टोलीले आफैँ लेदो पन्छायो र यात्रा अगाडि बढायो । बाटोमा माथिबाट ढुंगा खसिरहेका थिए । कतिपय ढुंगा गाडीमै आएर बज्रिएझैँ लाग्थ्यो । सेलागाड, राप्का, वीरेखोला लगायतका ठाउँमा ढुंगा, लेदो र माटोले बाटो अवरुद्ध थियो । उज्यालो भइसकेको थिएन । अँध्यारोबीच हामी कहिले बाटो पन्छाउँदै, कहिले जोखिम मोलेर अगाडि बढिरहेका थियौँ ।
वीरेखोलाभन्दा केही अगाडि पुग्दा ठूल्ठूला ढुंगाले बाटो पूर्ण रूपमा छेकेको थियो । लाग्यो– अब कसरी पार गर्ने ?
तर, उद्धार टोलीको अगाडि ‘सम्भव छैन’ भन्ने शब्द कहाँ टिक्थ्यो र ?
सबै मिलेर करिब आधा घण्टाको प्रयासपछि बाटो खुलायौँ । बिहान करिब ५:२० बजे बल्दे पुग्यौँ । त्यहाँ पनि ठूल्ठूला ढुंगाले बाटो पूर्ण रूपमा अवरुद्ध थियो । बल्दे अस्थायी प्रहरी बिटको टोलीलाई सडक विभागको जेसीबीमार्फत बाटो खुलाउन समन्वय गरियो ।
तर, ढुंगा पन्छाउन घण्टौँ लाग्ने देखिएपछि हामीले गाडी त्यहीँ छाड्यौँ र पैदलै ताम्सुतर्फ लाग्यौँ ।

त्यो केवल पैदल यात्रा थिएन । त्यो एउटा आशातर्फको यात्रा थियो ।
चिप्लो बाटो, भत्किएका सडक, उर्लिएका खोला, ठाडा भिर, उकालो–ओरालो र ठाउँ–ठाउँमा गएको पहिरो । बाटोको कठिनाइभन्दा मनभित्रको अधैर्य ठूलो थियो ।
बिहान ६:२० बजे प्रहरी चौकी बडिमालिकाको टोली ताम्सु पुगिसकेको जानकारी प्राप्त भयो ।
अन्तत: करिब ७ बजे हामी ताम्सु पुग्यौँ । त्यहाँ पुगेपछि केही क्षण म स्तब्ध भएँ ।
पहिरोले दुई वटा घर पुरेको थियो । घर कहाँ थिए भनेर छुट्याउनसमेत कठिन थियो । चारैतिर माटो, ढुंगा र भग्नावशेष थियो । स्थानीयहरू आ–आफ्नो क्षमताले उद्धार गर्ने र सामान सुरक्षित गर्ने प्रयासमा थिए । कतै रुवाबासी थियो, कतै पीडा थियो, कतै अझै आशा बाँकी थियो ।
हामी घाइतेहरू भएको स्थानतर्फ पुग्यौँ । मेयर, उपमेयर, पालिकाका कर्मचारी, प्रहरी र स्थानीय सबै मिलेर घाइतेहरूलाई अस्पतालसम्म पुर्याउने प्रयास सुरु गर्यौँ ।
प्रहरी टोली र स्थानीय युवाहरूले कठिन बाटो हुँदै घाइतेहरूलाई स्ट्रेचरमा बोकेर बाम्कासम्म पुर्याए । त्यहाँबाट प्रहरी भ्यानमा लगियो । एम्बुलेन्स आएपछि दुवै घाइतेलाई जिल्ला अस्पताल मार्तडी पठाइयो ।
घाइतेहरूलाई अस्पताल पठाउन सफल भयौँ । तर हाम्रो अर्को जिम्मेवारी अझै बाँकी थियो– प्रतीक्षाको खोजी ।
सुरक्षाकर्मीको टोली खोज तथा उद्धार कार्यमा जुट्यो । माटो र ढुंगाको थुप्रोभित्र जीवनको खोजी सुरु भयो ।
मनमा एउटै आशा थियो– कतै प्रतीक्षा जीवितै पो छिन् कि ?
समय बित्दै गयो । तर आशा विस्तारै मौनतामा परिणत हुँदै गयो । अन्तत: त्यो क्षण आयो, जसलाई हामीमध्ये कसैले पनि चाहेका थिएनौँ ।
प्रतीक्षा भेटिइन् तर जीवित होइन
उमेरले जीवनका सुन्दर सपना देख्ने बेला थियो । भविष्यका अनेक सम्भावना बोकेर अघि बढ्दै गरेकी एउटी युवतीलाई त्यस दिन ताम्सुको पहिरोले हामीबाट खोस्यो ।
बडिमालिका क्याम्पस, फालासैनमा स्नातक प्रथम वर्षको परीक्षा सकेर उनी दोस्रो वर्षको पढाइमा थिइन् । उनलाई मृत अवस्थामा बाहिर निकाल्दाको त्यो क्षण आज पनि आँखाअगाडि झलझली आइरहन्छ ।
त्यो दिन हामीले केवल पहिरोबाट एउटा शव बाहिर निकालेका थिएनौँ । हामी एउटा परिवारको सपना बाहिर निकालिरहेका थियौँ । एउटी आमाको आशा बाहिर निकालिरहेका थियौँ ।
एउटा परिवारको भविष्यसँग जोडिएको अमूल्य जीवन गुमेको पीडा आफ्नै आँखाले देखिरहेका थियौँ ।
उद्धारका लागि आशा बोकेर पुगेको टोलीले अन्तत: जीवन नभएको शरीर बाहिर निकाल्दा मन भारी भयो । परिवारजनको रुवाबासी, आफन्तको पीडा र घटनास्थलमा छाएको त्यो असह्य मौनताले उद्धारमा खटिएका प्रत्येक सुरक्षाकर्मीको मनलाई गहिरोसँग छोयो ।
प्रतीक्षालाई बचाउन नसकेको पीडा मेरो मनको कुनामा आज पनि उस्तै छ । प्रहरीको ड्युटीमा धेरै घटना आउँछन् । धेरै ठाउँमा पुगिन्छ । धेरै जिम्मेवारी पूरा गरिन्छ । तर केही घटना यस्ता हुन्छन्, जसले कर्तव्यको सीमाभन्दा माथि उठेर मनमा स्थायी छाप छोड्छन् ।
ताम्सु त्यस्तै एउटा घटना हो । प्रतीक्षा त्यस्तै एउटा सम्झना हुन् ।
विपद्को समयमा अरूको जीवन बचाउन आफ्नो जीवन जोखिममा राखेर घटनास्थलमा पुग्नु, पीडितका आँसु आफ्नै आँखाले देख्नु र कहिलेकाहीँ आफ्नै आँखा अगाडि भएको क्षतिलाई स्वीकार गर्न बाध्य हुनु प्रहरी सेवाको सबैभन्दा कठिन पक्षमध्ये एक हो ।

तर, यस्ता घटनाले हामीलाई एउटा गहिरो पाठ पनि सिकाउँछन् । विपद् आएपछि उद्धार गर्नु मात्र पर्याप्त छैन । विपद् आउनुअघि जोखिम पहिचान गर्नु, जोखिमयुक्त बस्तीको पहिचान तथा व्यवस्थापन गर्नु, पूर्वतयारी गर्नु, स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय गर्नु तथा विपद् प्रतिकार्य क्षमता अझ बलियो बनाउनु पनि उत्तिकै आवश्यक छ ।
ताम्सुको त्यो पहिरोले एउटा घर पुर्यो, एउटा जीवन खोस्यो र एउटा परिवारलाई अपूरणीय पीडा दियो । तर त्यसले हामी सबैका लागि एउटा प्रश्न पनि छोडेर गयो– के हामीले विपद् आउनुअघि अझै धेरै गर्न सक्थ्यौँ ?
समयसँगै पहिरोको घाउ विस्तारै पुरिँदै जाला । बाटो फेरि खुल्ला । ताम्सु फेरि आफ्नै लयमा फर्किएला । तर प्रतीक्षाको सम्झना कहिल्यै पुरिने छैन ।
ताम्सुको त्यो माटोमा, त्यो पहिरोको थुप्रोमा र त्यहाँ बगेका आँसुहरूमा प्रतीक्षाको एउटा कथा सधैँ बाँकी रहने छ । प्रतीक्षा, तिमी आज हामी माझ छैनौ । तर तिम्रो सम्झना हाम्रो मनमा सधैँ जीवित रहने छ ।
तिमीलाई बचाउन नसकेको पीडा हामीसँग रहने छ । तिम्रो सम्झनाले हामीलाई अझ जिम्मेवार बन्न सिकाइरहने छ । हरेक विपद्मा अझ छिटो पुग्न, अझ प्रभावकारी रूपमा उद्धार गर्न र सम्भव भएसम्म हरेक जीवन बचाउन तिम्रो सम्झनाले हामीलाई प्रेरित गरिरहने छ ।
ताम्सु हाम्रो लागि एउटा ठाउँ मात्र रहेन, सम्झना बन्यो ।
प्रतीक्षा एउटा नाम मात्र रहिनन्, पीडा, प्रश्न र जिम्मेवारी बनेर हाम्रो मनमा बसिन् ।
भावपूर्ण श्रद्धाञ्जली, प्रतीक्षा । तिम्रो आत्माले शान्ति पाओस् ।
शोकसन्तप्त परिवारजनमा यो अपूरणीय पीडा सहन सक्ने धैर्य र शक्ति मिलोस् । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
ताम्सुका ती कठिन क्षणमा जीवन बचाउन आफ्नो ज्यानको पर्वाह नगरी उद्धारमा खटिनुभएका स्थानीयवासी, सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्पूर्ण उद्धारकर्मीप्रति हार्दिक सम्मान ।
ताम्सुको पीडा कहिल्यै नदोहोरियोस् । विपद्को घडीमा हामी सबै सँगसँगै उभिन सकौँ ।
(२८ साउन राति त्रिवेणी नगरपालिका–९, ताम्सुमा गएको पहिरोको उद्धारका क्रममा प्रहरी नायव उपरीक्षक बोहराको अनुभव ।)
प्रतिक्रिया 4