News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वको विषयमा उठिरहेको आलोचनाप्रति असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत विकल्प खोज्न चुनौती दिएका छन् ।
- थापाले आफ्नो अनुहारका कारण पार्टीले मत नपाएको आरोप पुष्टि भएमा अधिवेशनमार्फत आफूलाई हराएर नेतृत्व सम्हाल्न असन्तुष्ट पक्षलाई सार्वजनिक आह्वान गरेका छन् ।
- पार्टी अधिवेशनलाई निष्पक्ष र न्यायपूर्ण बनाउन आफू जुनसुकै प्रक्रियामा छलफल गर्न तयार रहेको उनले केन्द्रीय कार्यसमितिको बैठकमा स्पष्ट पारेका छन् ।
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गरेका छन् ।
सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उनले असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्वको विकल्प खोज्न चुनौती दिएका हुन् ।
सभापति थापाले गगन थापाको अनुहार देखाएकै कारण कांग्रेसले मत नपाएको हो भन्ने निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई नेतृत्वबाट हटाउन समेत चुनौती दिए ।
‘मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्नेकुरा पनि उठेको रहेछ । होला पनि । त्यसो हो भने यही विषय अधिवेशनमा लिएर गए हुन्छ । महाधिवेशनमा अर्को साथीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ र मलाई हराएर पार्टीको नेतृत्व सम्हाल्न सक्नुहुन्छ,’ थापाले भनेका छन् ।
थापाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गरी पार्टीको बागडोर सम्हाल्न असन्तुष्ट पक्षलाई आह्वान गरे । उनले पार्टीको अधिवेशनलाई समावेशी, न्यायपूर्ण र निष्पक्ष बनाउनका लागि आफू जुनसुकै शर्त र प्रक्रियामा छलफल गर्न तयार रहेको स्पष्ट पारे ।
‘त्यसका लागि अधिवेशनमा सबैको सहभागिता, निष्पक्षता र समान अवसर सुनिश्चित हुने वातावरण बनाउनुपर्छ । के–कस्ता सर्त र प्रक्रियाले सबैलाई अधिवेशन निष्पक्ष र न्यायपूर्ण भएको महसुस हुन्छ, त्यसका लागि हामी छलफल गर्न र आवश्यक व्यवस्था गर्न तयार छौँ । हामीले भन्दै आएका छौं, अधिवेशन सबैको सहभागीता र निष्पक्ष प्रतिस्पर्धाका आधारमा हुनुपर्छ,’ उनले भने ।
उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र नेतृत्वको विषयलाई पारदर्शी ढङ्गले टुङ्ग्याउन आफू सधैं सकारात्मक रहेको उल्लेख गरे ।
प्रतिक्रिया 4