News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ता गर्न चार सदस्यीय सरकारी वार्ता टोली गठन गरेको छ।
- सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा गठित उक्त टोलीमा गृह, अर्थ तथा भूमि व्यवस्था मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहेका छन्।
- ललितपुरका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको छलफलपछि सरकारी वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई औपचारिक संवादका लागि आह्वान गरिएको हो।
१ भदौ, काठमाडौं । सरकारले आन्दोलनरत दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीको सदस्यहरुमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहेका छन् ।
यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच छलफल भएको थियो ।
छलफलमा महाअभियानको मागबमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो ।
सरकारले वार्ताका लागि गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि आएको पत्रसमेत ग्रहण गरेका थिए ।
छलफलमा महाअभियानका प्रतिनिधि विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4