+
+
Shares

३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए

सुमन वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन् । उनले काम गर्ने ना १ ज ७७५८ नम्बरको गाडीका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरेको छ ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ भदौ ३ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सुमन थापा र चालक प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।
  • आइतबार बिहान बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ घरबाट २०० मिटर टाढाको खाली घरमा कपडामा पोको पारिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
  • हत्याविरुद्ध स्थानीयले इलाका प्रहरी कार्यालय सिमरा अगाडि प्रदर्शन गर्दै वीरगञ्ज–पथलैया सडक खण्ड दुई घण्टादेखि अवरुद्ध गरेका छन्।

३ भदौ, बारा । सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हत्यापछि प्रहरीसँग बालिका खोज्न भनेर खटिएका युवक समेत छन् । शव भेटिएपछि ‘कसले गरेछ हत्या ?, त्यसलाई जसरी पनि पक्राउ गर्नुपर्‍यो’ भन्दै घटनास्थल वरपर प्रहरीसँगै हिँडडुल गरेका व्यक्ति नै अहिले पक्राउ परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्न सोही पालिका–२ का सुमन थापालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरु गरेको थियो । त्यतिबेला थापा पनि घटनास्थलमै थिए । कुकुरले संकेत गरेपछि घटनास्थलबाटै सुमनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरीक्षक प्रकाश थापाले बताए ।

सुमन वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन् । उनले काम गर्ने ना १ ज ७७५८ नम्बरको गाडीका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरेको छ । यद्यपि घटनामा आफ्नो मात्रै संलग्नता रहेको प्रहरी समक्ष सहचालक थापाले बताएका छन् ।

मृतक बालिकाको घर नजिकै सुमनले काम गर्ने म्याजिक भ्यानका चालकको घर रहेकोले बालिका उक्त घरमा आउजाउ गर्थिन् ।

आइतबार बिहानबाट बालिका बेपता भएपछि प्रहरीमा सूचना आएको थियो । खोजतलास भए पनि प्रहरीले बालिकाको हत्या भइसकेको अनुमान गर्न सकेन ।

आइतबार बिहान सुमनले चालक प्रोग्रेस चौधरीको घरबाटै बालिकालाई हत्या भएको स्थानमा लगेको खुल्यो । प्रहरीसँगको बयानमा उनले बलात्कारपछि बालिका बेहोस भएको र आफू त्यहाँबाट फर्किएर पुन: चालक चौधरीको घरमै आएको प्रहरीसमक्ष बताएका छन् ।

बेहोस भएपछि डोरीमा झुण्ड्याएर फर्किएको सुमनले बताएको एक प्रहरी अधिकृतले सुनाए । चालकको घरमा फर्किएका सुमनले दिउँसो फेरी गएर बालिकालाई कपडामा पोको पारेको बताएका छन् । बलात्कारपछि आफू नुहाएको र पछि गएर शव व्यवस्थापन उनको भनाइ छ ।

मृतक बालिका जीतपुरसिमरा २ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन् । बालिकाको हत्यापछि परिवार विक्षिप्त छ । आमा मानमती चौधरी मंगलबारबाटै अर्धचेत अवस्थामा छिन् । बुधबार बिहान उनका आफन्त र स्थानीयबासी घरमा भेला भएका थिए । उनी बोल्न सक्ने अवस्थामा छैनन् ।

आइतबार विहान करिब साढे ८ बजेबाट बेपता भएकी गरिमाको शव घरबाट २०० मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो ।

गाउँको बीचमै रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले शव रहेको स्थानमा तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो ।

हत्याको विरोधमा प्रदर्शन

बालिकाको हत्याराको विरोधमा बाराको सिमरामा स्थानीयले प्रदर्शन गरेका छन् । ईलाका प्रहरी कार्यालय सिमरा अगाडि जम्मा भएका स्थानीयले बालिकाको बलात्कार र हत्यामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन् ।

स्थानीयले बुधबार दिउँसोबाट सुरु गरेको प्रदर्शनका क्रममा दुई घण्टादेखि वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात अवरुद्ध भइरहेको छ ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?