+
+
Shares
रेडक्रसका पूर्वपदाधिकारी पक्राउ प्रकरण :

जग्गा खरिद गर्दा बिचौलियामार्फत २ करोड घोटाला, ७ आना गायब

७ आना जग्गा मात्रै होइन, करिब २ करोड रुपैयाँसमेत घोटाला भएको पाइएको छ । यही जग्गा खरिद गर्दा बिचौलियामार्फत १ करोड ९३ लाख ७५० रुपैयाँ घोटाला भएको सीआईबीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेडक्रस सोसाइटीको भक्तपुरस्थित जग्गा खरिद अनियमिततामा सीआईबीले तत्कालीन ५ पदाधिकारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
  • सीआईबीका अनुसार ५ रोपनी १३ आना ३ पैसा भनिएको जग्गामा ७ आना अपुग र बिचौलियामार्फत १ करोड ९३ लाख ७५० रुपैयाँ घोटाला भएको छ ।
  • पक्राउ परेकामाथि भक्तपुर जिल्ला प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको छ, तर अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

३ भदौ, काठमाडौं । रेडक्रस सोसाइटीमा भएको अनियमितताबारे १० वर्षपछि बल्ल अनुसन्धान अघि बढेको छ ।

जग्गा गायब पारिएको करिब २ करोड घोटाला प्रकरणमा १० वर्षपछि रेडक्रसका तत्कालीन पदाधिकारीहरू पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन ५ जना पदाधिकारीलाई पक्राउ गरेपछि यो प्रकरणको अनुसन्धान सुरु भएको छ ।

रेडक्रसका पूर्वअध्यक्ष उदयपुर कटारी नगरपालिका-३ का ७० वर्षीय सञ्जीव थापा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुद्रटारका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण नगरपालिका-५ का ५८ वर्षीय मदनकृष्ण फोजु र काठमाडौं बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी पक्राउ परेका छन् ।

रेडक्रसका लागि भक्तपुरमा जग्गा खरिद गर्दा उनीहरूले अनियमितता गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एआईजी उमा चतुर्वेदीले बताए ।

उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि मंगलबार नै जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

उनीहरूलाई ठगीसम्बन्धी कसुरमा म्याद थपका लागि अदालत लगिएको थियो । तर अदालतले म्याद थप नगरी थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले जानकारी दिए ।

७ आना जग्गा गायब

रेडक्रसका लागि गोदाम घर बनाउने भन्दै १० वर्षअघि जग्गा खरिद गरिएको थियो । जग्गा खरिदका लागि २२ भदौ २०७३ मा सूचना जारी गरिएको थियो । जसमा १० जनाले प्रस्ताव पेस गरेका थिए । प्रस्तावकर्ताको जग्गा निरीक्षण गरी प्रस्ताव पेस गर्न समिति गठन गरिएको थियो ।

जसमा राजेश देशमरुले पेस गरेको भक्तपुर वडा ४ (क) मा कित्ता नं. ८६३, ४९६, ४९७ र ५८१ को ५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरिएको थियो ।

यो जग्गा ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँमा खरिद गरिएको थियो । तर यो जग्गा नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल यकिन गराउँदा जग्गा नै अपुग भएको पाइएको सीआईबीका एसएसपी अनुपमशमशेर जबरा बताउँछन् ।

५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरेको भनिएकोमा फिल्डमा भने ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र रहेको पाइएको छ ।

जसअनुसार खरिद गरिएको भनिएको जग्गामा ७ आना बढी जग्गा अपुग रहेको खुलेको छ ।

बिचौलियामार्फत २ करोड घोटाला

७ आना जग्गा मात्रै होइन, करिब २ करोड रुपैयाँसमेत घोटाला भएको पाइएको छ । यही जग्गा खरिद गर्दा बिचौलियामार्फत १ करोड ९३ लाख ७५० रुपैयाँ घोटाला भएको सीआईबीले जनाएको छ ।

जग्गा ६ करोड ३२ लाख ८१ हजार २५० मा खरिद गरिएको भनिएकोमा त्यसमध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियामार्फत घोटाला भएको सीआईबीको भनाइ छ ।

‘म सेवा गर्छुलाई आत्मसात् गर्दै नि:स्वार्थ रूपमा मानवीय सेवामा समर्पित रहन्छु’ भनी संस्थामा आबद्ध रहेका पदाधिकारी तथा कर्मचारीहरूले मानव जीवनको रक्षा, स्वास्थ्य प्रबर्द्धन र विपद्पछिको उद्धार तथा राहतका क्षेत्रमा संलग्न रहेको रेडक्रसलाई हानिनोक्सानी गराई ठगी गरेको’ सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।

यसबाहेक रेडक्रसमा अन्य अनियमितता भएका विषयहरू पनि सार्वजनिक हुँदै आएका थिए । कतिसम्म भने, भूकम्प पीडितका लागि आएको सहयोगमा समेत घोटाला भएको विषय सार्वजनिक भएको थियो ।

रेडक्रसको अनियमितताबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक समितिसमेत गठन गरेको थियो । १० वर्ष भएको त्यही अनियमितताबारे अहिले अनुसन्धान अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?