३ भदौ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल(डीपी)को रुलिङ अनुसार गृहमन्त्री सुधन गुरुङ र परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिएका छन् ।
१ भदौको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभामा सांसदद्वय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गरेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद शर्माले गत साउन २२ गते जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाएका थिए । ‘जाजरकोट भुकम्पबाट प्रभावित जाजरकोट र सल्यानमा सरकारले जिम्मेवारीपूर्वक काम गरोस्’ भनेर उनले सरकारलाई जवाफका लागि ९ दिनको अल्टिमेटम दिएका थिए ।
सरकारले जवाफ नदिएपछि सभामुखसँग रुलिङको माग गरेका थिए । त्यसअनुसार सभामुखले १ भदौमा रुलिङ गरेका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री गुरुङले यो विषयमा जवाफ दिएका हुन् । जवाफका क्रममा उनले सरकारले मापदण्डअनुसार काम गरिरहेको बताएका छन् ।
साथै, भदौ १ गते नै सभामुख घिमिरेले सांसद आशिका तामाङले उठाएको विषयमा जवाफ दिन सरकारलाई निर्देश गरेका थिए ।
रास्वपा सांसद तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियामा रहेको, तर नेपाल ल्याउन सरकारले आवश्यक पहल नगरेको भन्दै प्रश्न उठाएकी थिइन् ।
यो विषयमा जवाफ नआउन्जेल सदनमा उभिने चेतावनी दिएपछि सभामुख अर्यालले सरकारका नाममा रुलिङ जारी गरेका थिए ।
यो विषयमा मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिएका हुन् ।
सरकारले काम गरिरहेको भन्दै मन्त्री खनालले अवैधानिक रूपमा विदेश गएकालाई नेपाल फर्काउने सन्दर्भमा कानुनी कठिनाइ रहेको समेत बताएका थिए ।
भदौ १ गते नै सभामुख अर्यालले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पनि रुलिङ गरेका थिए । सभामुखको यो रुलिङ भने कार्यान्वयन हुन बाँकी छ ।
यस्तै, सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार यही भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरेका छन् ।
प्रतिक्रिया 4