+
+
Shares

३५ लाख ९९ हजारमा नामी भिगो ई-२, नेपाली बजारमा ‘फुल एसयूभी’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते २२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू मोटर्सले ललितपुरको पुल्चोकमा डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई-२’ सार्वजनिक गरेको छ।
  • कम्पनीले भिगो ई-२ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ र भदौ ९ गतेसम्म बुकिङ खुला राखेको छ।
  • कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यो गाडी पारिवारिक प्रयोगका लागि उपयुक्त ‘फुल एसयूभी’ भएको र ४३० किलोमिटर रेन्ज दिने दाबी गरेका छन्।

३ भदौ, काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई-२’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू मोटर्सले आज ललितपुर पुल्चोकस्थित द प्लाजामा कार्यक्रम आयोजना गरी भिगो ई-२ सार्वजनिक गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक (एमडी) विष्णुकुमार अग्रवालले भिगो ई-२ लाई कम्प्याक्ट कारभन्दा माथि र पारिवारिक प्रयोगका लागि उपयुक्त हुने गरी ‘फुल एसयूभी’ का रूपमा बजार ल्याइएको बताए ।

यसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । याे मूल्यमा ९ भदाैदेखि हुन गइरहेको नाडा अटो शो´ सम्म बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा एमडी अग्रवालले नयाँ बजेट मार्फत सरकारले ड्युटी संरचनामा हेरफेर गरे पनि कम्पनीले त्यसको लाभ सिधै ग्राहकलाई पुर्‍याउने उद्देश्यले ‘विशेष मूल्य’ निर्धारण गरेको बताए ।

‘हाम्रो टोलीबीच ड्युटी हेरफेरबाट आएको भिन्नतालाई कम्पनीको नाफामा राख्ने कि ग्राहकलाई हस्तान्तरण गर्ने भन्ने छलफल भएको थियो, तर हाम्रा मूल्य मान्यता अनुसार हामीले सधैं ग्राहकलाई नै प्राथमिकता दियौं र विशेष मूल्यमा यो गाडी बजार ल्याएका हौं,’ अग्रवालले भने ।

नामी भिगो ई-टु ले नेपालको चुनौतीपूर्ण भूगोलमा आफ्नो क्षमता प्रमाणित गरिसकेको अग्रवालले दाबी गरे । मनाङ, मुस्ताङ, सोलुखुम्बु र शुक्लाफाँटा जस्ता विकट क्षेत्रमा यो गाडी पुगिसकेको जानकारी दिँदै उनले एक ग्राहकले २ वर्षको छोटो अवधिमै ८० हजार किलोमिटरभन्दा बढी गाडी चलाएर यसको मजबुती र विश्वसनीयता पुष्टि गरेको उदाहरण प्रस्तुत गरे ।

अध्यक्ष अग्रवालका अनुसार नेपाली अटोमोबाइल बजारमा अहिले ठूलो परिवर्तन आइरहेको छ । केही वर्षअघिसम्म ह्याचब्याक गाडीहरू लोकप्रिय रहे पनि अहिले ग्राहकको आकर्षण एसयूभीतर्फ बढेको छ ।

‘जसरी पहिले पेट्रोल गाडीमा ह्याचब्याकबाट एसयूभीमा सिफ्ट भयो, अब ईभी सेग्मेन्टमा पनि सोही परिवर्तन देखिँदैछ,’ उनले भने, ‘नामी भिगो ई-टु ले नेपालको ईभी ट्रान्स्फर्मेसनमा नेतृत्वदायी भूमिका खेल्नेमा हामी विश्वस्त छौं  ।’

सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लूको यात्रा अहिले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल समूह बन्न सफल भएको छ ।

डोङफेङ नामी अहिले नेपालमा दोस्रो ठूलो चिनियाँ ईभी आयातकर्ता ब्रान्ड बनेको छ, जसका देशभरि २ हजारभन्दा बढी सन्तुष्ट ग्राहक छन् ।

विश्वभरि ब्याट्री अभाव र उच्च मागका कारण गाडी आपूर्तिमा केही समस्या रहे पनि नेपालमा ईभी प्रयोग ८५ प्रतिशत पुगिसकेको अग्रवालले जानकारी दिए । हाल नामी भिगोका लागि ४५ दिनभन्दा बढीको बुकिङ रहेको र दसैंसम्म माग अझै बढ्ने देखिएकाले इच्छुक ग्राहकलाई बेलैमा बुकिङ गर्न उनले आग्रह समेत गरे ।

कार्यक्रममा डोङफेङ मोटर्सका क्षेत्रीय प्रबन्धक मिस नाओमी लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, इन्फ्लुएन्सर र मिडियाकर्मीहरूको उपस्थिति थियो ।

नामि भिगाे ई-२ का विशेषता

नामी भिगोको डिजाइनमा कम्पनीले ‘रुबिक्स क्युब’ अवधारणा प्रयोग गरेको छ । अगाडिदेखि पछाडिसम्म गाडीमा ज्यामितीय डिजाइन प्रयोग गरिएको छ । यसमा त्रिकोणीय क्रिस्टल टावर टेललाइट, जियोमेट्रिक डिजाइनका रियर भ्यु मिरर, सेमी-हिडन डोर ह्यान्डल तथा विशेष डिजाइनको ह्विल प्रयोग गरिएको छ ।

भिगो ई-२ मा ९५ किलोवाटको इलेक्ट्रिक मोटर, ५२.३ किलोवाट आवरको ब्याट्री र ४ सय ३० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले सहरी सडकसँगै उकालो-ओरालो र लामो दुरीको यात्रा ध्यानमा राखेर भिगोको पावरट्रेन विकास गरिएको जनाएको छ । विद्युतीय मोटर भएकाले तत्काल टर्क उपलब्ध हुने र त्यसले गाडीको एक्सेलेरेसनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

भिगोको प्रमुख आकर्षणमध्ये यसको फास्ट चार्जिङ क्षमता पनि हो । यसले ३सी फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने र उपयुक्त डीसी फास्ट चार्जरमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १८ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

मनाङ, मुस्ताङ, शुक्लाफाँटा, कालिञ्चोक, सोलुखुम्बु लगायत चुनौतीपूर्ण गन्तव्यहरूमा पनि यो गाडी पुगिसकेको छ । जसले गर्दा उक्त गाडीले लामो दुरीमा यात्रा गर्ने विद्युतीय गाडी प्रयोगकर्ताका लागि छोटो समयमा ब्याट्रीमा पर्याप्त ऊर्जा थप्न सकिने सुविधा उपयोगी हुने कम्पनीको दाबी छ । १८५-१९० एमएमको ग्राउन्ड क्लियरेन्सले गर्दा जुनसुकै कच्ची बाटोमा पनि यसलाई सहज अगाडि बढाउन सकिन्छ ।

भिगो ई-२ को इन्टेरियरलाई पनि कम्पनीले प्रिमियम अनुभव दिने गरी तयार गरेको छ । यसमा १२.८ इन्चको सेन्ट्रल टचस्क्रिन तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । क्याबिनमा आरामदायी सिट, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ तथा मल्टिमिडिया सुविधा उपलब्ध छन् । एम्बियन्ट लाइटिङलाई म्युजिकसँग सिंक गर्न सकिने सुविधा पनि भिगोमा दिइएको छ ।

भिगोमा अगाडिका सिटहरू इलेक्ट्रिक एडजस्टमेन्ट तथा भेन्टिलेसन सुविधा सहित उपलब्ध हुने विवरण सार्वजनिक गरिएको छ । यसले लामो यात्रामा चालक तथा यात्रुको आरामलाई प्राथमिकता दिएको देखिन्छ ।

भिगोको बाहिरी डिजाइन यस गाडीको अर्को प्रमुख विशेषता हो । सामान्य ह्याचब्याक वा क्रसओभरभन्दा फरक देखिने गरी कम्पनीले यसको बडी डिजाइन गरेको छ । अगाडिको भागमा आधुनिक हेडलाइट डिजाइन, छेउमा सेमी-रिसेस्ड डोर ह्यान्डल तथा पछाडितर्फ विशेष किसिमको टेललाइट डिजाइन दिइएको छ । कम्पनीले यसलाई ‘रुबिक्स क्युब’ डिजाइन अवधारणामा आधारित रहेको बताएको छ ।

भिगोमा एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल-स्टार्ट एसिस्ट, रियर पार्किङ सेन्सर तथा रियर क्यामराजस्ता सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

तस्विरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?