News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक सहयोग गर्ने देश, कम्पनी वा संस्थाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
- उनले ट्रुथ सोसलमार्फत तेल तस्करी, वित्तीय कारोबार र नगद स्थानान्तरणलगायत इरानसम्बन्धी गतिविधिमा अमेरिकी निगरानी बढ्ने बताएका छन् ।
- ट्रम्पले इरानलाई सम्झौताका धेरै अवसर दिएको दाबी गर्दै अब अन्तर्राष्ट्रिय आर्थिक अलगाव र थप दबाब बढाइने बताएका छन् ।
४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक वा अन्य प्रकारको सहयोग गर्ने देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
उनले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक दबाब अभियान अघि बढाउने संकेत गर्दै त्यसमा सहयोग गर्ने कुनै पनि देश, कम्पनी वा संस्थालाई नछाडिने बताएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशमाथि अमेरिकी कारबाही हुने चेतावनी दिएका हुन् ।
उनका अनुसार कुनै देशका वित्तीय संस्था, कम्पनी, विमानस्थल वा सरकारी निकायले इरानका लागि सहयोगको बाटो खुला गरेमा ती संस्थाले समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।
यद्यपि ट्रम्पले आफ्नो चेतावनीमा कुनै देशको नाम भने उल्लेख गरेका छैनन् । इरानलाई सहयोग गर्ने देश, कम्पनी वा वित्तीय संस्थाविरुद्ध अमेरिकाले कस्तो कारबाही गर्ने भन्ने पनि उनले स्पष्ट पारेका छैनन् ।
तेल तस्करीदेखि वित्तीय कारोबारसम्म निगरानी
ट्रम्पले इरानलाई सहयोग पुग्ने विभिन्न आर्थिक गतिविधिमाथि अमेरिकी निगरानी केन्द्रित हुने बताएका छन् ।
यसमा तेल तस्करी, वित्तीय कारोबार, नगद रकमको स्थानान्तरण, एक्सचेन्ज हाउस, पानीजहाजको दर्ता तथा अन्य कम्पनीको नाममा हुने कारोबारलगायत विषय समेटिएका छन् ।
इरानसम्म पुग्ने यस्ता सबै प्रकारका आर्थिक सहयोग तत्काल रोक्नुपर्ने उनको भनाइ छ ।
इरानका लागि आर्थिक गतिविधिको बाटो खुला राख्ने जुनसुकै देश वा संस्थामाथि अमेरिकाको निगरानी रहने उनले स्पष्ट पारेका छन् ।
इरानलाई सम्झौताको धेरै अवसर दिएको ट्रम्पको दाबी
ट्रम्पले आफ्नो प्रशासनले इरानलाई सम्झौतामा आउन पटक–पटक अवसर दिएको दाबी गरेका छन् । तर, ती अवसर इरानले स्वीकार नगरेकाले अब आर्थिक दबाब थप बढाउने निर्णयमा अमेरिका पुगेको उनको भनाइ छ ।
उनले अमेरिकाले अघि बढाउन लागेको अभियानलाई ‘अभूतपूर्व स्तरको आर्थिक लडाइँ’ तथा इरानको अन्तर्राष्ट्रिय आर्थिक अलगावको प्रयासका रूपमा प्रस्तुत गरेका छन् ।
साथै, अमेरिकी सहयोगी राष्ट्रहरूलाई पनि इरानलाई अन्तर्राष्ट्रिय आर्थिक प्रणालीबाट अलग गर्न सहयोग गर्न ट्रम्पले आग्रह गरेका छन् ।
ट्रम्पका अनुसार इरानको अर्थतन्त्र यसअघि नै ठूलो दबाबमा छ । थप आर्थिक प्रतिबन्ध र दबाबले इरानको अन्तर्राष्ट्रिय व्यापारलाई अझ कठिन बनाउने उनको दाबी छ ।
ट्रम्पले इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार प्राप्त गर्न नदिने आफ्नो अडानसमेत दोहोर्याएका छन् ।
यससँगै ट्रम्पको पछिल्लो चेतावनी इरानमा मात्र सीमित नभई उससँग आर्थिक सम्बन्ध कायम राख्ने देश, कम्पनी र संस्थातर्फ समेत लक्षित देखिएको छ । यद्यपि अमेरिकाले तत्काल कुन देश वा संस्थामाथि कस्तो कारबाही गर्ने भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।
प्रतिक्रिया 4