+
+
Shares

समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था हो : खगेन्द्र सुनार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद खगेन्द्र सुनारले वैदेशिक सहायताको प्रभावकारी लेखापरीक्षण र उपयोगमा कडाइ गर्न सार्वजनिक लेखा समितिमा माग गरे।
  • उनले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप लगाउँदै एनजीओ र आईएनजीओको रकम, कार्यक्रम र लाभको अनुगमन नभएको बताए।
  • उनले राउटे शिक्षा, दलित तथा गरिबका लागि छुट्याइएको रकम, र पोखरा–भैरहवा विमानस्थलजस्ता परियोजनाको उपयोगिता र प्रतिफलबारे पनि प्रश्न उठाए।

४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप लगाएका छन् ।

बिहीबार सार्वजानिक लेखा समितिमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले समाज कल्याण परिषद्‍मा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले प्राप्त गर्ने रकम, सञ्चालन गर्ने कार्यक्रम र त्यसबाट लक्षित समुदायले पाएको लाभको प्रभावकारी अनुगमन हुनुपर्नेमा नभएको आरोप लगाए ।

उनले विशेषगरी दलित, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायका नाममा आउने वैदेशिक सहयोग वास्तविक लक्षित समुदायसम्म नपुग्ने गरेको बताए ।

कार्यक्रम सञ्चालन, तालिम र प्रशासनिक खर्चका नाममा रकम खर्च हुने तर त्यसको प्रत्यक्ष परिणाम भने नदेखिएको उनको आरोप छ ।

उनले एनजीओका कार्यक्रममार्फत जातीय तथा साम्प्रदायिक तनाव बढाउने गतिविधि भएको पनि आरोप लगाए । राज्यले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

जात, धर्म वा समुदायका नाममा सामाजिक विभाजन बढाउने गतिविधिलाई वैदेशिक सहयोग वा सरकारी स्वीकृतिको आडमा सञ्चालन गर्न नहुने उनको भनाइ छ ।

उनले दलित तथा गरिब समुदायका लागि विनियोजित बजेट कार्यान्वयनमा सरकारी निकायले देखाउने ढिलाइप्रति पनि असन्तुष्टि जनाए ।

पूर्वाधार निर्माणमा तत्काल टेन्डर प्रक्रिया अघि बढ्ने तर लक्षित समुदायको जीविकोपार्जन तथा क्षमता विकासका लागि छुट्याइएको रकम खर्च गर्न अनावश्यक ढिलाइ हुने गरेको उनको आरोप छ ।

उनले भने, ‘समाज कल्याण परिषद् यी सबै एनजीओ, आईएनजीओको हेडमास्टर हो । त्यहाँभित्र टक्रक्क छलफल हुन्छ । आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, हँ ? मुख मिठो बनाएर कुरा गर्ने ।’

राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको थियो दैलेखमा भन्ने प्रश्न गर्दै उनले भने, ‘कति जना राउटेका बालबालिका टाइ लगाएर स्कुल जान्छन् ? नाङ्गै भुतुङ्गै बस्या छन् त्यहाँ । लाखे जात्राको भकुण्डो जस्तो भएर हिँडेका छन् बजारमा । कति जना राउटेहरूको घर बन्यो त्यहाँ ? छानबिन हुनुपर्छ ।’

उनले थपे, ‘समाज कल्याण परिषद् सबैभन्दा बदनाम संस्था हो । त्यो संस्थाको बारेमा छलफल हुनुपर्छ ।’

एनजीओको नामबाट सामाजिक सद्भाव भड्काउने काम भइरहेको भन्दै उनले भने, ‘जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ । साम्प्रदायिकता भड्काउने काम भइरहेको छ । राज्यले तल अनुमोदन गरेर छाप लगाएर ल देश भड्का भन्न पाइँदैन । जातको नाममा, धर्मको नाममा समाज भड्काइरहन पाइँदैन । त्यो ठेक्का दिन कसैलाई पनि पाइँदैन ।’

उनले नेपालमा आउने वैदेशिक सहायता, अनुदान तथा ऋणको प्रभावकारी लेखापरीक्षण र उपयोगमा कडाइ गर्नुपर्ने बताए ।

वैदेशिक स्रोतबाट सरकारको प्रत्यक्ष खातामा नआउने सहायता रकमको समेत लेखापरीक्षण हुनुपर्नेमा उनले जोड दिए ।

सांसद सुनारले वैदेशिक ऋण तथा सहयोगमा निर्माण भएका ठूला पूर्वाधारको उपयोगिता र आर्थिक प्रतिफलबारे पनि प्रश्न उठाए ।

पोखरा र भैरहवा विमानस्थललगायत परियोजनाको सञ्चालन अवस्था मूल्यांकन गर्दै ऋणको भार मात्र थपिने गरी परियोजना अघि बढाउन नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?