+
+
Shares

लेखा समितिमा खगेन्द्र सुनारको आरोप : प्रहरी हेडक्वार्टर बिचौलियाले कब्जा गरे

उनले अघिल्लो बैठकमा आफूले गरेकाप्रश्नहरूमा अहिले पनि दृढ रहेको उल्लेख गर्दै कसैलाई मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरी हेडक्वार्टरमा विचौलियाहरूले कब्जा गरेको आरोप लगाउँदै स्रोत साधन खरिदको जानकारी १५ दिनभित्र पेश गर्न माग गरे ।
  • सुनारले प्रहरी महानिरीक्षकलाई समितिमा आएर जुहारी खेलेको आरोप लगाउँदै मानमर्दन भएको लागे अदालतमा मुद्दा हाल्न चुनौती दिए ।
  • सभामुखले सुनारको अभिव्यक्ति र शैलीबारे चासो लिएर छलफल गरेका थिए भने रास्वपाले सांसदहरूलाई मर्यादा कायम गर्न निर्देशन दिएको छ ।

४ भदौ, काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गरेका सुनार आज पनि बैठकमा त्यही प्रसंग उठाएर बोलेका थिए ।

उनले प्रहरीको स्रोत साधन खरिदको विषयमा भएको जानकारी अहिलेसम्म आयो कि आएन भनेर प्रश्न गरेका छन् । उनले अघिल्लो बैठकमा आफूले गरेकाप्रश्नहरूमा अहिले पनि दृढ रहेको उल्लेख गर्दै कसैलाई मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिए ।

‘हामीले १५ दिन भित्र प्रहरीको स्रोत साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौं । त्यो आयो कि आएन ? फेरि यो बीचमा प्रहरीले करोडौंको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन्’ सांसद सुनारले भने ।

उनले प्रहरी महानिरीक्षकलाई इंगित गर्दै समितिमा आएर जुहारी खेलेको आरोप लगाए । ‘अस्ती गरेको प्रश्नमा म अडिग छु । मजबुत छु । कहिँ कोही साथीहरूलाई मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टी अदालत छ गएर मुद्दा हाल्नुहोला कठघरामा उभिएर जवाफ दिन तयार छु’ उनले भने,’तर सार्वभौम समितिमा आए टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन । सरकारको मानमर्दन गर्न पाइँदैन ।’

समितिको गत बैठकमा सांसद सुनारको अभिव्यक्ति र शैलीप्रति बाहिर पनि निकै आलोचना भएको थियो । यो विषयमा सभामुखले समेत चासो लिएर समितिका सभापति सचिव र प्रहरी महानिरीक्षकसँग पनि छलफल गरेका थिए । रास्वपाले सांसदहरूका प्रस्तुती शैलीमा मर्यादा कायम गर्न निर्देशन पनि दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?