+
+
Shares

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

रेलले ठक्कर दिएका चारै जनाको मृत्यु पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलले ठक्कर दिँदा रेल स्टेसनका चार कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन्।
  • रेलले ठक्कर दिँदा मृत्यु भएका चारै जना ५० देखि ६० वर्ष उमेरका पुरुष थिए भने रेलमा सवार करिब ५० यात्रु घाइते भएनन्।
  • मृतक कर्मचारीहरू रेलको लिक वरपरका झारपात हटाइरहेका सात सदस्यीय टोलीका सदस्य थिए, र दुर्घटनामा स्पेसिया एक्स एक्सप्रेस रेल संलग्न थियो।

४ भदौ, टोकियो (रासस/एएफपी)। जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलको लिक वरपरका झारपात हटाइरहेको समयमा कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको जनाइएको छ ।

रेलले ठक्कर दिएका चारै जनाको मृत्यु पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

अधिकारीका अनुसार, आपतकालीन सेवा टोली घटनास्थलमा पुग्दा तीन जना कर्मचारी रेलमुनि च्यापिएको अवस्थामा थिए भने एक जना लिगमा थिए ।

जिजी प्रेसका अनुसार ती कर्मचारीहरू सबै पुरुष थिए भने उनीहरू ५० – ६० वर्ष को उमेर समूहका थिए । रेलमा सवार करिब ५० यात्रुमध्ये कसैलाई पनि चोटपटक नलागेको जनाइएको छ ।

सञ्चारमाध्यमका अनुसार छ वटा डिब्बा भएको उक्त रेल ’टोबु निक्को लाइन’ मा चल्ने ’स्पेसिया एक्स’ एक्सप्रेस रेल थियो, जसले टोकियोलाई तोचिगी क्षेत्रको लोकप्रिय पर्यटकीय गन्तव्य निक्कोसँग जोड्छ ।

रेल सञ्चालकलाई उद्धृत गर्दै समाचार प्रसारक संस्था एनएचकेले जनाएअनुसार टोकियोतर्फ गइरहेको उक्त रेल शिन–कानुमा स्टेशनमा रोकिनै लाग्दा दुर्घटनामा परेको थियो ।

रेलमा सवार यात्रुहरुले ठूलो गडगडाहटको आवाज सुनेको र त्यसपछि रेल एक्कासी रोकिएको र उभिनै असम्भव जस्तो अनुभव गरेका जनाएका छन्। आवाज कहाँबाट आयो भनेर पत्ता नलग्दै रेल रोकिँदै छ भन्ने घोषणा भएपछि केही समयसम्म बाहिर निस्कन नपाएको यात्रुहरुले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती कर्मचारीहरू रेलको लिक वरपरका झारपात हटाउने सात सदस्यीय टोलीका सदस्यहरु थिए ।

उच्च स्तरको मर्मतसम्भार, तालिम र अत्याधुनिक प्रविधिको प्रयोगका कारण जापानी रेल सेवा सुरक्षित सेवा मानिन्छ भने खराबीका कारण हुने घातक दुर्घटनाहरू अत्यन्तै कम हुन्छन् ।

यस शताब्दीमा जापानमा भएको सबैभन्दा घातक दुर्घटना सन् २००५ मा भएको थियो, जतिबेला व्यस्त समयमा यात्रुबाहक रेल लिकबाट बाहिरिएर देशको पश्चिमी भागमा पर्ने अमागासाकीको एउटा अपार्टमेन्ट भवनमा ठोक्किएको थियो ।

उक्त दुर्घटनामा १०७ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । सन् १९६३ मा रेलको लिगबाट खसेको मालवाहक रेल र दुईवटा यात्रुवाहक रेलहरू संलग्न दुर्घटनामा १६१ जनाको मृत्यु भएको थियो ।

सन् १९६४ मा सेवा सुरु भएयता जापानको ’सिन्कान्सेन’ बुलेट रेल सञ्जालमा लिगबाट रेल खस्ने वा आपसमा ठोक्किने घटनाका कारण कुनै पनि यात्रुको मृत्यु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?