+
+
Shares

रोगले गाउँ नै थलियो, एक घर एक बिरामी

फोहोरका कारण बस्ती नै थलिएको छ । गाउँभर क्यान्सर, मुटु, मिर्गौला जस्ता प्राणघातक रोगी भेटिन्छन् । झाडापखाला, टाइफाइड, श्वासप्रश्वास, छालालगायतका बिरामी घरैपिच्छे छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ ५ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिसडोल–बञ्चरेडाँडा फोहोरका कारण धुनिबेसी र ककनीका बस्तीमा क्यान्सर, झाडापखाला, टाइफाइड, श्वासप्रश्वास र छालाका बिरामी बढेका छन्।
  • स्थानीयले फोहोर बोकेका गाडीले ठक्कर दिएर ४६ जनाको मृत्यु भएको, र १०० बढी क्यान्सर बिरामी रहेको बताएका छन्।
  • सिसडोल स्वास्थ्य चौकीमा वार्षिक ५ हजारभन्दा बढी बिरामी पुग्ने र पर्याप्त औषधि, विशेषज्ञ चिकित्सक तथा परीक्षणको अभाव रहेको स्थानीयको गुनासो छ।

५ भदौ, काठमाडौं । फोहोर विसर्जनस्थल नजिकै छ मानव बस्ती । हावाले दुर्गन्ध फैलाउँछ भने काग, चिल र कुकुरले गाउँभरि सिनो पुर्‍याउँछन् ।

‘दुई दशक भयो, नरकमा बसिरहेका छौँ,’ धादिङ धुनिबेसी नगरपालिका-१ का स्थानीय रामबाबु उप्रेतीले भने, ‘गाउँमा बस्नै नसक्ने अवस्था छ ।’

काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल–बञ्चरेडाँडा लैजान थालेपछि घरघरमा मानिसहरू बिरामी पर्न थालेका छन् ।

‘ल्यान्डफिल साइटबाट पशुपन्छीले घरको धुरीमा सिनो पुर्‍याउँछन् । काठमाडौंका चाहिँ जनता, धुनिवेशी र ककनीका जनता होइनन् र ?,’ उप्रेतीले प्रश्न गर्दै भने, ‘भयावह स्थिति छ । १०० बढी त क्यान्सरका बिरामी छन् ।’

उनका अनुसार फोहोर बोकेर गएका गाडीले ठक्कर दिएर ४६ जनाको मृत्यु भएको छ । ‘यसरी मान्छे मार्न पाइँदैन,’ उनी आक्रोशित सुनिए ।

धुनिवेशी–१ बञ्चरेडाँडाका बद्रीबहादुर ओझाले बुबा र आमालाई क्यान्सरकै कारण गुमाए । ‘बुबा र आमा क्यान्सर भएर बित्नुभयो । ठूलो बा र अरू आफन्त पनि क्यान्सरबाटै मर्नुभयो । गाउँमा धेरैलाई क्यान्सर भएको छ,’ उनले सुनाए ।

फोहोरका कारण आफ्नै शरीरमा पनि फोका, गिर्खा देखिन थालेको ओझा बताउँछन् । ‘यहाँ सबै क्यान्सर रोगी भइसके । कति कलिलैमा बितिसके । मलाई पनि गिर्खा आएको छ, चिलाउँछ । औषधि खाइरहनुपर्छ । जिउभरि गिर्खा हिँड्छ,’ शरीरमा देखिएका गिर्खा देखाउँदै उनले भने ।

सिसडोल–बञ्चरेडाँडाको फोहोरका कारण धुनेबेसी नगरपालिकाको वडा नम्बर १, ३ र ४ का स्थानीय प्रभावित छन् । साथै ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ नम्बर वडा प्रभावित छ ।

धुनेवेशी–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार अतिप्रभावित वडा नम्बर १ रहेको छ । उक्त वडामा ४ हजार ५०० जनसंख्या रहेको छ । ‘यो वडामा शतप्रतिशत प्रभावित छन्,’ उनले भने ।

ककनी-१ का वडाध्यक्ष पदम बलामीका अनुसार प्रभावित १ हजार १०० घरधुरीले स्वास्थ्य बीमा गरेका छन् । ‘सिसडोलबाट बञ्चरेडाँडामा फोहोर लगे पनि समस्या उस्तै छ,’ उनले भने ।

ककनी वडा नम्बर २ मा १२ सय घरधुरी छन् । जसमा ६०० घरधुरी अतिप्रभावित रहेको वडाध्यक्ष कृष्ण घिमिरेले बताए । ‘स्थिति बिजोग छ । फोहोरको समाधान नहुँदा नागरिक मारमा परेका छन्,’ उनले भने ।

वडा नम्बर ३ मा ९०० घरधुरी रहेकोमा ३०० घरधुरी अतिप्रभावित रहेको वडाध्यक्ष घननाथ बजगाईँले बताए । ‘यो बञ्चरेडाँडाबाट नजिकको वडा हो । कठिन अवस्था छ,’ उनले भने ।

फोहोरका कारण यो बस्ती नै बिरामले थलिएको छ । गाउँभर क्यान्सर, मुटु, मिर्गौला जस्ता प्राणघातक रोगी भेटिन्छन् । रोगले धेरैको ज्यान लगिसक्यो । झाडापखाला, टाइफाइड, श्वासप्रश्वास, छालालगायतका रोगी घरैपिच्छे भेटिन्छन् ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजु फोहोरका कारण मानिसमा जैविक र रसायन संक्रमण हुने बताउँछन् । उनका अनुसार फोहोरले फोक्सो र छालामा समेत प्रत्यक्ष असर गर्छ । उनी भन्छन्, ‘फोहोरमा ज्यादै दूषित छ भने क्यान्सरसम्मको घातक रोग पनि लाग्छ ।’

स्वच्छ वातावरणमा बाँच्न पाउने हकसमेत स्थानीयले पाएका छैनन् । संविधानको मौलिक हकको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख छ । तर यस क्षेत्रका नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्नबाट वञ्चित छन् ।

सरकारले स्वास्थ्य बीमा गरिदिएको छ तर त्यसको व्यावहारिक लाभ नपाएको गुनासो स्थानीयको छ । ‘बीमा गरेको छ र तर अस्पताल पुग्दा अलमल गराइदिन्छन् । स्वास्थ्य चौकीमा औषधि पनि पाइँदैन,’ उनले भने ।

प्रभावित बस्तीमा स्वास्थ्य चौकी भए पनि विशेषज्ञ चिकित्सक, प्रयोगशाला, पर्याप्त औषधि र नियमित स्वास्थ्य परीक्षणको अभाव छ । ‘सरकारले हामीलाई रोग दियो, उपचार दिएन,’ थापाले भने ।

सिसडोल स्वास्थ्य चौकीले पनि पर्याप्त औषधि नभएको स्वीकार गरेको छ । ‘ज्वरो र झाडापखालाको मात्र औषधि छ,’ अहेब राजकुमार न्यौपानले भने ।

तस्वीर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर

बञ्चरेडाँडा–सिसडोल क्षेत्रका प्रत्येक घरका एक जना अस्पताल धाउनुपर्ने बाध्यता आएको छ ।

सरकारले एक घर एक रोजगारीको आशा देखाए तर अहिले एक घर एक बिरामीको अवस्था रहेको उनीहरूको गुनासो छ । ‘पहिला हस्पिटल जानै पर्दैनथ्यो । अहिले फोहोर आएपछि अस्पताल धाइरहनुपर्छ,’ स्थानीय ध्रुवप्रसाद उप्रेतीले भने ।

संविधानमा वातावरणीय प्रदूषणबाट हुने क्षतिवापत पीडितले कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने उल्लेख छ । संविधानको धारा ३० को उपधारा २ मा यो प्रावधान भए पनि यो क्षेत्रका स्थानीयलाई कुनै धाराले छोएको छैन ।

बस्ती नजिकैबाट कल्पु खोला बगेको छ । स्थानीयको पानीको स्रोत नै दूषित भएको छ । खोला दूषित भएपछि स्थानीय स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित भएका छन् ।

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने उल्लेख छ ।

स्वास्थ्य चौकी पुग्छन् ५ हजार बिरामी

सिसडोल स्वास्थ्य चौकीमा मात्र वार्षिक ५ हजार बढी बिरामी उपचारको लागि पुग्ने गरेका छन् । फोहोरमा क्यान्सर गराउने केमिकल, विषालु किटाणुहरू चिल, काग, कुकुरले घरघरमा र पानीको स्रोतमा पुर्‍याउँदा रोग फैलने गरेको छ ।

क्यान्सर जस्ता जटिल बिरामी काठमाडौं जाने र झाडापखाला, टाइफाइड, श्वासप्रश्वास, छालालगायतका बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् ।

‘स्वास्थ्य बीमा भएका कारण धेरै बिरामी काठमाडौं जानुहुन्छ,’ स्वास्थ्य संस्थाका अहेब राजकुमार न्यौपानेले भने, ‘वर्षमा ५ हजार बढी बिरामी आउनु हुन्छ ।’

तर, काठमाडौंमा उपचार गर्न जानेको संख्या भने यसमा समावेश छैन । ५ हजार बिरामीमध्ये फोहोरका कारण बिरामी हुनेको संख्या धेरै छ ।

‘फोहोरका कारण पनि छ । सरुवा रोग पनि छ । यो क्षेत्रको वातवरण नै प्रदूषण छ । बिरामी धेरै हुने नै भए,’ उनले भने, ‘लिचेड टेकेका कारण घाउ, खटिरा र एलर्जी भएका बिरामी आउने गरेका छन् ।’

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?