स्वर : अर्को जन्ममा
एउटा असफल प्रेमको भाव कस्तो हुन्छ ? सो कुरा यो गीतमा गाइएको छ । कोही व्यक्तिलाई प्रेम गर्दा अपूरा भएका भावहरू यो गीतमा सुन्न सकिन्छ । त्यसपछि उसको त्यो अपूर्ण भाव अर्को जन्ममा पूरा गर्ने कुराहरू पनि गीतमा सुन्न सकिन्छ । पछिल्लो समय स्वरले विछोडको गीतहरू निकालिरहेको छ; यो गीत पनि त्यसैको निरनन्तरता हो ।
फेरि अर्को जन्ममा
तिम्लै हुन पाउँ
नलेखिएको भाग्यलाई
बोकेरै आउन पाऊँ
फेरि छुटिएरै मन
सहन गाह्रो भो
भारी पीडाहरूमा
बिसाउन पाऊँ
तिम्लाई फूल दिउँला….
त्रिशला गुरुङ : पन्छाउँदै
केही-केही त्यस्तो प्रेम हुन्छ, जुन विछोडको लामो समयपछि पनि सम्झना आइरहन्छ । त्यो सम्बन्धमा पुन: बसिरहन मन लाग्छ । त्रिशलाको यो गीत ठीक त्यस्तै भावको छ । यो गीतमा पहिलेको प्रेमलाई खोज्ने, उसँग पुन: भेट्न चाहने र त्यो प्रेम आफूले महसुस गरेको कुराहरू गाइएको छ । सांगीतिक रूपमा उनका पछिल्ला गीतहरूको तुलनामा केही प्रयोग पाइन्छ ।
तिमीलाई खोज्दै फेरि
समयलाई पछ्याएर
म तिमीलाई भेट्न चाहन्छु
जस्तै पहिले थियौ,
तिम्रो त्यो मुस्कानमा
म मेरो चञ्चल बोली
सम्झनामा तिमी सधैं
मलाई रुवाउँछ यो मन
सिम्फोनिक सम्राज्य : शहरै छाडेर
अल्टरनेटिभ रक विधाको केही नयाँ गीत खोज्नेहरूका लागि यो गतिलो नयाँ कोसेली बन्न सक्छ । यो गीत निकै मेलोडियस सुनिएको छ । इन्डी र अल्टरनेटिभको बीचमा रहेर यो गीत कम्पोज गरिएको छ । गीतमा हामीले एउटा प्रेमीले आफ्नो प्रेमिकामाथि गरेको प्रशंसा सुन्न सक्छौं । गीत शब्द काव्यात्मक छ । गीतलाई छाडेर शब्दमात्र हेर्दा पनि तपाईंलाई मज्जा आउन सक्छ ।
एकचोटी त हेर
नसालु शाँखा
अनिदो यो नयनलाई
आराम तिमीले नै सजायौ
भन्नलाई त मसँग
फूलैफूलको डाली
रंगविहीन यो जीवनमा
बास्ना तिमी नै फिजायौ
अजय लामा : आकृति
वर्षा, इन्द्रेणी, चरी जस्ता प्राकृतिक बिम्बहरूको प्रयोग गरेर यो गीतमा प्रेमिको सुन्दरताको, सम्बन्धको, सामीप्यताको वर्णन यसमा गरिएको छ । तर, त्यो अलि अमूर्त छ । केही समस्या छ । त्यो प्रेमबारे यो गीतमा गाइएको छ । रक गीतहरूको विकल्प खोजिरहनु भए तपाईंले आफ्नो प्लेलिस्टमा यो गीत थप्न सक्नुहुन्छ ।
छिरबिरछिरबिर यो चरीको बोली
रुझ्दै छन् कि वर्षाको पानीमा
वर्षा हेर्दै तिमीलाई कल्पिँदा
आँशु बसेछन् नयनको नानीमा
मेरो आँशुमा चम्किला हाँसो मिसाउन
रचाइदिँउला इन्द्रेणी…
पिङ्क रेडियो : मदहोसमा
धनकुटामा रहेर संगीतमा केही गर्न खोजिरहेको यो ब्यान्डले निकालेको यो कि गीतले प्रेममा पर्नुअघिको समयलाई उठान गरेको छ । त्यो समयमा कसैले कस्तो महसुस गर्छ ? उसले केके सोच्छ ? केके देख्छ ? यी यस्ता विषयहरू गीतमा पाइन्छ । नयाँ साउन्डका खोजिरहनु भएको लागि यो ब्यान्डका गीतहरू पनि सुन्न लायक हुन सक्छ ।
देख्छु आफू हराई
तिम्रो त्यो मुस्कान
एक्लै टोलाई खुल्छ
यी आकाशसँगै यादहरू तिम्रो
आभाष मलाई भन हेर सुन
सँगै मनका कुरा
कुमा सागर : आँखैले
नेवारी भजनलाई आधार बनाएर चम्किएका कुमा सागरले निकालेको यो नयाँ गीतमा उही तत्वहरू नै छन् । तर, तिनलाई केही फरक तरिकाले प्रस्तुत गर्न खोजिएको छ । यो गीत इन्स्ट्रुमेन्टल पनि सुनिएको छ । तर, कुमको लवजका कारण धेरैलाई शब्दहरू उच्चारणमा भने समस्या पर्न सक्छ । तर, यसमा प्रयोग गरिएका बाजाहरूले बिल्कुल नयाँ भाइब्स दिन भने सकेको छ ।
कहाँ होला नि पँधेरो
तिमीमै दिल गड्यो
तिम्रो हेराइमै लाग्यो गहिरो
लाग्यो मेरो
सागर गुरुङ : मायामा
राम्ररी चलिरहेको प्रेम सम्बन्ध छुट्दा के हुन्छ ? कस्तो हुन्छ ? पात्रहरूले कस्तो कुरा भोग्छन् ? यी र यस्तै कुरालाई समेटेर यो गीत बनाइएको छ । गीतमा प्रेम विछोड भएसँगै गुमेको, पीडा भएको कुराहरू गाइएका छन् । यो गीतले त्यो एउटा निश्चित पलको महसुस गराउने ल्याकत राखेको छ
मेरो माया सबै तिमीलाई
पिएको थिएँ के कमी भयो मायामा
खुसी जति सबै
लिइ छाडि गयौ
आँशुमात्र रह्यो यो आँखामा
यी बाहेक तपाईंले मोरो सैयाँ, खै कसरी भनुँ तिमीलाई, बादल पारीको गाउँ, बीच्च बीच्चमा २.०, जालमा परेकी मायालु आदि गीतहरू पनि सुन्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4