+
+
Shares

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
२०८३ भदौ ६ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा २९१ नयाँ उद्योग तथा फर्म दर्ता हुँदा ३३४ वटा खारेज भएका छन् ।
  • नयाँ दर्ताबाट जिल्लामा ३६ करोड ४० लाख रुपैयाँ लगानी थपिएको छ भने खारेजीमा ४१ करोड ८५ लाख रुपैयाँ लगानी बाहिरिएको छ ।
  • एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलका अनुसार महिला नाममा उद्योग दर्ता बढेको छ र वैदेशिक रोजगारीका लागि युवा विदेशिनु खारेजीको प्रमुख कारण हो ।

६ भदौ, स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुनेभन्दा खारेज हुनेको संख्या बढी देखिएको छ । एक वर्षको अवधिमा २९१ नयाँ उद्योग तथा फर्म दर्ता हुँदा ३३४ वटा खारेज भएका छन् ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार, उद्योगतर्फ १४९ र वाणिज्यतर्फ १४२ गरी २९१ नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ १६९ र वाणिज्यतर्फ १६५ गरी ३३४ उद्योग तथा फर्म खारेज भएका छन् ।

कार्यालयका अनुसार नयाँ दर्ताको तुलनामा ४३ वटा बढी उद्योग तथा फर्म खारेजीमा परेका छन् ।

नयाँ दर्ता भएका उद्योग तथा व्यवसायबाट जिल्लामा ३६ करोड ४० लाख रुपैयाँ बराबरको नयाँ लगानी थपिएको कार्यालयले जनाएको छ । उद्योगतर्फ करिब २२ करोड २० लाख रुपैयाँ र वाणिज्य क्षेत्रतर्फ १४ करोड २० लाख रुपैयाँ नयाँ लगानी भएको पौडेलले जानकारी दिए ।

तर, ३३४ उद्योग तथा फर्म खारेज हुँदा ठूलो परिमाणको लगानी पनि व्यवसायबाट बाहिरिएको देखिन्छ । खारेजीमा परेका उद्योगतर्फ २५ करोड ३५ लाख रुपैयाँ र वाणिज्यतर्फ १६ करोड ५० लाख रुपैयाँ लगानी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

नयाँ दर्ता भएका अधिकांश उद्योग महिलाको नाममा रहेको पनि पौडेलले बताए । उद्योग दर्ता गर्दा लाग्ने दस्तुरमा महिलालाई ५० प्रतिशत छुटको व्यवस्था भएपछि महिला नेतृत्वमा उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ ।

नयाँ दर्ता हुने उद्योगमा कृषि, उत्पादनमूलक उद्योग, सप्लायर्स तथा पर्यटनसँग सम्बन्धित व्यवसाय बढी रहेका छन् ।

पौडेलका अनुसार नयाँ उद्योगको तुलनामा खारेज हुनेको संख्या बढ्नुमा वैदेशिक रोजगारीका लागि युवायुवती विदेशिनु प्रमुख कारणमध्ये एक हो । रोजगारीको खोजीमा युवा पुस्ता विदेशिएपछि घरपरिवारका सदस्यले समेत सञ्चालन गर्दै आएका पेशा र व्यवसाय छोड्ने क्रम बढ्दा उद्योग तथा फर्म खारेजीमा परेको उनले बताए ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा उद्योगतर्फ ९७६ र वाणिज्यतर्फ एक हजार २१ गरी एक हजार ९९७ उद्योग, व्यावसायिक फर्म तथा पसल नवीकरण भएका छन् । ती उद्योग तथा व्यवसायको नवीकरणबाट करिब ६० लाख रुपैयाँ राजस्व संकलन भएको एकीकृत सेवा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?