News Summary
Generated by OK AI. Editorially reviewed.- बंगालको खाडीमा पानामाको झण्डा भएको कार्गो जहाज एमभी ओसन विनर डुब्दा २४ चालक दलका सदस्य बेपत्ता भएका छन् ।
- जहाजसँग सम्पर्क विच्छेद भएपछि सुरु भएको खोजी तथा उद्धार अभियानमा दुई जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ ।
- फलाम उत्पादनमा प्रयोग हुने कच्चापदार्थ बोकेको जहाज ओडिशाको पारादीपबाट सिंगापुर जाँदै गर्दा ट्र्याकिङ प्रणालीबाट हराएको थियो ।
७ भदौ, काठमाडौं । भारतको पूर्वी तट नजिक बंगालको खाडीमा पानामाको झण्डा भएको कार्गो जहाज डुबेको छ । त्यसमा सवार २४ जना चालक दलका सदस्यको खोजी तथा उद्धार अभियान जारी छ ।
‘एमभी ओसन विनर’ नामको उक्त जहाजमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक गरी २४ जना सवार थिए ।
शनिबार राति जहाजसँग सम्पर्क विच्छेद भएपछि म्यारिटाइम रेस्क्यु कोअर्डिनेसन सेन्टर (एमआरसीसी) ले खोजी तथा उद्धार अभियान सुरु गरेको हो ।
जहाज सञ्चालन गर्ने कम्पनी भिक्ट्री स्टार ग्रुप कम्पनी लिमिटेडले उद्धारका लागि सहयोग मागेपछि भारतीय अधिकारीहरूले अभियान अघि बढाएका छन् ।
दुई जनाको उद्धार
सूचना प्राप्त भएपछि एमआरसीसीले अन्तर्राष्ट्रिय सुरक्षा सञ्जाल सक्रिय गर्दै एमटी आइसोपोस नामको अर्को जहाजलाई घटनास्थलतर्फ पठाएको थियो ।
उद्धार टोलीले दुईवटा लाइफराफ्टबाट दुई जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरेको छ । उद्धार गरिएका दुवै जनाको पहिचान भने तत्काल सार्वजनिक गरिएको छैन ।
बाँकी चालक दलका सदस्यको खोजीका लागि भारतीय तटरक्षक बलले अभियानलाई तीव्र बनाएको छ ।
सिंगापुर गइरहेको थियो जहाज
प्रारम्भिक विवरणअनुसार फलाम उत्पादनमा प्रयोग हुने कच्चापदार्थ बोकेको एमभी ओसन विनर ओडिशाको पारादीप बन्दरगाहबाट सिंगापुर जाँदै थियो तर जहाज ट्र्याकिङ प्रणालीबाट हराएको थियो ।
जहाज पारादीप तटबाट २०० समुद्री माइलभन्दा बढी टाढा रहेको बताइएको छ ।
अधिकारीहरूका अनुसार जहाजको अन्तिम रिपोर्ट गरिएको स्थान इस्ट आइल्यान्ड लाइटबाट करिब ३१० समुद्री माइल टाढा थियो ।
जहाज किन डुब्यो भन्नेबारे भने अहिलेसम्म स्पष्ट जानकारी आएको छैन ।
प्रतिक्रिया 4