News Summary
Generated by OK AI. Editorially reviewed.- बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जनसँगै कोल्पु खोलामा लिचेट बगेर जलचर, थलचर र जैविक वासस्थान संकटमा परेको छ।
- धुनिवेशी र ककनीका किसानले लिचेटका कारण धान, गहुँ, फलफूल, पशुपालन र आम्दानी सबैमा ठूलो क्षति भएको बताएका छन्।
- स्थानीयले राहत र क्षतिपूर्ति नपाएको गुनासो गर्दै सरकारसँग किसानका समस्या समाधान गर्न माग गरेका छन्।
७ भदौ, काठमाडौं । २१ वर्षअघि कलकल बग्ने कोल्पु खोलामा अहिले लिचेट (फोहोरबाट निस्कने विषालु रसायन) बग्छ । जसका कारण कोल्पु खोला जीवजन्तुविहीन बनेको छ ।
‘अहिले कोल्पु खोला ‘कालु खोला’ भएको छ । ऊ हेर्नुहोस् त कालो लिचेट बगेको,’ धादिङ धुनिवेशी–१ का ७६ वर्षीय ध्रुवप्रसाद उप्रेती खोलाको रूप नै फेरिएकोमा आक्रोशित देखिन्थे ।
सिसडोल–बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विर्सजन गर्न थालेपछि खोलामा लिचेट, हावामा हरक मिसिँदा जलचर र थलचर जीवजन्तुको अस्तित्व संकटमा परेको छ ।
‘पहिला हामी पौडी खेल्थ्यौँ । दिनभरि माछा मार्थ्यौं । खोलामा ठूला–ठूला दह थिए । अहिले त एउटा डुबुल्की मार्ने ठाउँ पनि छैन,’ उप्रेती भने, ‘हिजो सिधै पानी पिउन मिल्ने कल्पु खोला अब टेक्न पनि नसकिने भएको छ ।’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) फोहोरमैला व्यवस्थापनका वैज्ञानिक डा. रवीन्द्र ढकाल लिचेटका कारण खोलामा जैविक वासस्थान सकिएको बताउँछन् । उनका अनुसार फोहोरमा धातुको मात्रा बढी हुन्छ ।
‘लिचेटमा प्याथोजेनिक रोग लागाउने हानिकारक जीवाणु हुन्छ । माइक्रोप्लास्टिकको मात्रा पनि बढी हुन्छ,’ उनले भने, ‘मानिस, पशुपन्छी र बोटबिरुवामा प्रत्यक्ष असर पर्छ ।’
फोहोरका कारण मान्छे मात्र होइन यो क्षेत्रमा अनाज उत्पादनमा समेत ह्रास आएको छ । धुनिबेसी नगरपालिकाको वडा नम्बर १, ३ र ४ का साथै नुवाकोटको ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ नम्बर वडाका कृषक मारमा परेका छन् ।

‘लिचेट खेतमा पर्यो भने धानको गेडा लाग्दैन । पराल मात्रै बाँकी रहन्छ,’ स्थानीय खेमबहादुर थापाले भने, ‘मानिसलाई मात्र होइन, बाली र पशुमा समेत असर परेको छ ।’
फोहोर लैजानुअघि आफ्नै खेतबारीको अनाजले परिवार धानिन्थ्यो । तर उत्पादनमा ह्रास आएपछि त्यस क्षेत्रका स्थानीय बजारमा निर्भर हुन थालेका छन् । स्थानीयका अनुसार धान, गहुँ, मकै, उखु, सुन्तला, अम्बा, भोगटे, आरु र नास्पाती प्रशस्त हुन्थ्यो ।
‘पहिला २६–२७ मुरीसम्म गहुँ फल्थ्यो । अहिले फल्दैन । धानमा पनि गेडा लाग्दैन,’ स्थानीय दीपक कार्कीले भने, ‘बिहान–बेलुकाको छाक त टार्नुपर्यो । बजारबाट अन्न ल्याएर खानुपर्छ ।’
लिचेटकै कारण फल लाग्यो भने पनि भित्र कुहिने गरेको छ । ‘सुन्तला, कागती, भोगटे, नास्पाती फल्छ तर भित्र कुहिन्छ,’ ककनी गाउँपालिका-२ का वडाध्यक्ष कृष्ण घिमिरेले भने, ‘पहिले धानमा औषधि छर्नु पर्दैनथ्यो । अहिले अत्यधिक औषधि छर्कनुपर्छ । त्यति हुँदा पनि पहिलाको जस्तो फल्दैन ।’
वैज्ञानिकहरू फोहोरका कारण माटोको उर्वरा क्षमतामा ह्रास आएकाले उत्पादन कम भएको दाबी गर्छन् । ‘माटोमा प्लास्टिक पसेपछि उर्वरा क्षमतामा ह्रास आउँछ । प्लास्टिकले पानीलाई मोटोमा जानबाट छेक्छ । उत्पादनमा स्वतः ह्रास आउने भयो,’ डा. ढकालले भने ।

यस क्षेत्रका अधिकांश मानिसको आम्दानीको स्रोत कृषि थियो । तर फोहोर खसाल्न थालेपछि किसानले बाली भित्र्याउन पाएका छैनन् ।
धुनिवेशी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङ पहिला २० मुरी धान फल्ने खेतमा अहिले डेढ/दुई मुरी मात्र फल्छ । ‘खोलाको पानीले धान फल्न छोडेको छ । उत्पादन नभएपछि कतिपय किसानले रोप्नै छोडे । पानी लगाउनु नपर्ने बाली लगाउँदा किरा लाग्छ,’ उनले भने ।
अहिले बञ्चरेडाँडा क्षेत्रका स्थानीयले आयाआर्जन नै गुमाएका छन् । ‘उत्पादन नहुँदा ५० अर्बभन्दा बढीको क्षति भएको छ । अहिले बालीनाली हुने अवस्था छैन । भयावह छ । विशेष क्षेत्र घोषणा गर्नपर्छ,’ स्थानीय रामबाबु उप्रेतीले भने ।
पशुपालन पनि संकटमा परेको छ । स्थानीय बद्रीबहादुर ओझाका अनुसार पहिला गाई, भैँसी र बाख्रा पालेर दूध, दही र घिउ बिक्री हुने गरेको थियो । ‘अहिले पशुपालन गर्न सकिँदैन । बाख्रा पाल्यो भने बिरामी पर्छ । कुकुरले टोक्छ वा मर्छ । यो घरघरको समस्या हो,’ उनले भने, ‘फलफूल पनि किरा लागेर सकिन्छ ।’
स्थानीय कमला ओझाले बाख्रापालन गरेकी थिइन् तर फोहोरका कारण मरेको गुनासो गरिन् । ‘बस्तुभाउ धेरै मरे,’ उनले भनिन् ।

फोहोरका कारण बाख्रा, भैँसी, गाई लगायतका पशु चौपाया मर्न थालेका छन् । ‘पशुपन्छी अत्यधिक मर्ने गरेका छन् । फोहोर मात्र २०/२५ वटा गाई, भैंसी, बाख्रा मरे,’ नुवाकोट ककनी गाउँपालिकाका–१ का वडाध्यक्ष पदम बलामीले भने ।
यतिसम्म कि, फोहोरमा सिनो खाएर आएका कुकुरले पशु चौपायलाई टोक्ने गरेका छन् । ‘फोहोरमा खाएर हुलका हुल कुकुर गाउँ पस्छन् । बाख्रा, गाई र भैंसीको कल्चौडो टोक्छन् । पाडापाडी, बाच्छाबाच्छीलाई पनि टोकेर रोग लागेर मरेका छन्,’ वडाध्यक्ष घिमिरले भने, ‘गाउँभरि समस्या छ । केही गरी समाधान गर्न सकिएको छैन ।’
यस क्षेत्रका कृषकले उत्पादन गरेको तरकारीदेखि खसीबाख्रासम्म बिक्री हुँदैन । फोहोरमा उत्पादन भएको भनेर बिक्रीवितरण नहुने स्थानीयको गुनासो छ ।
‘हानिकारक फोहोरमा उत्पादन भएको तरकारी खायो भने शरीरमा धातु थुप्रिन्छ,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का फोहोरमैला व्यवस्थापनका वैज्ञानिक डा. रवीन्द्र ढकालले भने, ‘त्यहाँ उत्पादन भएको कुरा फेरि आइपुग्ने त शहरमै हो । यसले कृषकलाई प्रत्यक्ष असर परेको छ ।’
उनका अनुसार रोकथामको उपाय वैज्ञानिक प्रविधिबाट फोहोर विसर्जन गर्नु हो । लिचेटलाई प्रशोधन गर्यो भने पनि पानीमा मिसाउन मिल्ने बनाउन सकिन्छ ।

छैन राहत क्षतिपूर्ति
कृषि पेसा नै संकटमा पर्दा पनि राहत तथा क्षतिपूर्ति नपाएको गुनासो किसानको छ । ‘कतैबाट सुनुवाइ भएको छैन । क्षतिपूर्ति आएको छैन,’ किसान ध्रुवबहादुर उप्रेतीले गुनासो गरे ।
प्रभावित क्षेत्रका जनप्रतिनिधिले सरकारसँग किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको बताएका छन् । ‘हामीले कृषिको समस्या समाधान गर्न माग राखेका छौँ । पूरा भएको छैन,’ धुनिवेशी–१ का वडाध्यक्ष तामाङले भने ।
यता, काठमाडौं महानगरले भने त्यस क्षेत्रको कृषिका लागि बजेट नपरेको बताएको छ । ‘सहयोग गरेको छैन । दुई/तीन वर्षअघि बजेट हुन्थ्यो । तर कार्यान्वयन भएको थिएन । अहिले बजेट पनि छैन,’ काठमाडौं महानगरका कृषि प्राविधिक सहायक पुष्कर खड्काले भने, ‘सिसडोल–बञ्चरेडाँडा क्षेत्रका किसानबाट माग, निवेदन आएको छैन ।’
चार वर्ष अघिदेखि बञ्चरेडाँडामा फोहोर विर्सजन गर्न थालिएको हो । तर चार वर्षमा नै लिचेट बगेर कल्पु खोलामा मिसिएको छ । फोहोरको चुली पहाड बनेको छ । सिसडोलको जस्तै भयावह स्थिति बञ्चरेडाँडामा पनि देखिएको छ । यसअघि १७ वर्ष सिसडोलमा फोहोर विसर्जन गर्ने गरिएको थियो ।
प्रतिक्रिया 4