+
+
Shares

प्रचण्डको स्वीकारोक्ति– सरकारमा जाने लोभमा हामी पर्दा कम्युनिस्ट आन्दोलन रक्षात्मक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र सङ्घर्षमा केन्द्रित हुनुपर्ने बताएका छन्।
  • काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र नभई नयाँ आन्दोलनको सृष्टि र आन्दोलनलाई बलियो बनाउनु हुनुपर्ने उल्लेख गरे।
  • उनले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित सङ्घर्ष र नेकपा एमालेसहितको विगतको सहकार्यबाट शिक्षा लिन आह्वान गरे।

७ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र संघर्षमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका हुन् ।

सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुन नहुने र यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रचण्डले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित भएर गरिने सङ्घर्षले मात्रै वास्तविक रूपान्तरण सम्भव हुने उल्लेख गरे ।

‘मलाई लाग्छ, आजको कार्यक्रममार्फत यहाँ उपस्थित सबै पार्टीका प्रतिनिधि साथीहरूले सहकार्यको यात्रामा सहभागी हुने सङ्कल्प गर्नुहुनेछ । यो सहकार्यको उद्देश्य सरकारमा जानु मात्र होइन, आन्दोलनलाई बलियो बनाउनु पनि हो । सरकारमा जाने र छोड्ने कुरामा मात्र केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा पुगेको छ,’ उनको स्वीकार छ ।

विगतमा माओवादी आन्दोलनमा सहभागी शक्तिहरूबीचको ऐतिहासिक सम्बन्ध र बलिदानको स्मरण गर्दै उनले अन्य वामपन्थी दलहरू, खासगरी नेकपा (एमाले) सँगको सहकार्य र एकताको अनुभवबाट शिक्षा लिनुपर्नेमा जोड दिए ।

विगतका कमीकमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई आह्वान पनि उनले गरे ।

‘उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको आन्दोलन तथा वर्गसङ्घर्षमा सहकार्य गर्दै रूपान्तरणको आधार तयार गर्नुपर्छ । हामीले विगतमा एउटै मोर्चामा लडेको अनुभव छ । नेकपा (एमाले) लगायत अन्य पार्टीसँगको विगतको सहकार्य र एकताबाट शिक्षा लिँदै विगतका कमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न आवश्यक छ । त्यसका लागि म यहाँहरू सबैसँग विशेष अपिल गर्न चाहन्छु,’ प्रचण्डले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?