+
+
Shares

अब विकट रहेन ओलाङ्चुङगोला

विराटनगरको रानीबाट टिप्तालासम्मको चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग उत्तर-दक्षिण लोकमार्गको निर्माणपछि ओलाङ्चुङगोला अब विकट रहेन ।

हेमराज निरौला हेमराज निरौला
२०८३ भदौ ८ गते ८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओलाङ्चुङगोलालाई सडक सञ्जाल र फोरजी सेवाले जोडेको छ, र उत्तर-दक्षिण लोकमार्गलाई चीनसँगको व्यापारिक केन्द्र विकास गर्ने गरी स्तरोन्नति गरिएको छ।
  • कोरोना महामारीपछि चीनले सीमा नाका कडाइ गर्दा गोला र तिब्बतबीचको व्यापार ठप्पप्रायः भएको छ, भने सीमा वारपार भेट्न क्वारेन्टाइन भवन प्रयोग हुन्छ।
  • ओलाङ्चुङगोलामा २०७४ सालको स्थानीय निर्वाचनमा मतदानबिना छेतेन शेर्पा सर्वसम्मत वडाध्यक्ष चयन भएका थिए।

‘सरुवा ओलाङ्चुङगोला पुग्ला है ।’

कुनै समय कर्मचारीबृत्तमा यो उक्ति निकै प्रचलित थियो । केही समय अगाडिसम्म विकट ठाउँको प्रतिकात्मक अर्थ लगाउनसमेत धेरैले ‘ओलाङ्चुङगोला’ शब्द प्रयोग गर्थे ।

पङ्तिकारलाई स्मरण भएअनुसार ताप्लेजुङका गाउँघरतिर हुने फुटबल खेलमा खेलाडीले बललाई मैदान बाहिर पुग्ने गरी प्रहार गर्दा खेल हेर्नेले भन्थे, ‘गोला पुग्ने गरी हान्यो ।’

केही दशक अगाडि तमोर नदीको ठिक माथिबाट हेलिकप्टर आउजाउ गरेको देख्न सकिन्थ्यो ।

गाउँघरका ससाना बालबालिका तलबाट हात हल्लाउँथे र भन्थे, ‘हेलिकप्टर गोला पुगेर आयो ।’

२०७२ सालतिर पङ्तिकार अध्ययनको सिलसिलामा काठमाडौं पुग्यो ।

आरआर क्याम्पस पुग्दाको पहिलो दिन क्यान्टिनमा केही साथी भेट भए । औपचारिक चिनारी गर्ने क्रममा हात मिलाउँदै भनें, ‘म चाहिँ फलानो, मेरो घर ताप्लेजुङ ।’

बझाङ घर भएका उज्ज्वल खड्काले सोधिहाले, ‘तपाईंको घरबाट ओलाङ्चुङगोला कति टाढा पर्छ ?’

यी प्रसङ्गबाट प्रष्ट हुन सकिन्छ- ओलाङ्चुङगोलालाई विकट स्थानको पर्यायको रूपमा लिइने, दूरदराजको कठिन यात्रापछि पुगिने र देशव्यापी नाम सुनिएको स्थानको रूपमा धेरै पहिलादेखि परिचित थियो ।

यसका अलावा ओलाङ्चुङगोलाले प्रसिद्धि पाउनुका पछाडि केही कारणहरू छन् ।

उच्च हिमाली स्थानमा नेपाली समाजको लागि फरक लाग्ने याक र चौंरी गोठ, गोलामा जन्मिएर अन्तर्राष्ट्रिय ख्याति कमाएका व्यक्तिका कारण पनि गोला चर्चामा रहने गर्छ ।

विश्वविख्यात आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको जन्मस्थल ओलाङचुङगोला नै हो । रुइतको बारेमा तयार पारिएका सन्दर्भ सामग्रीमा ओलाङ्चुङगोलालाई उल्लेख गरिएको पाइन्छ ।

ताप्लेजुङकै एकाध बाहेकलाई गोलाबारे पर्याप्त जानकारी थिएन । गोलामा बसोबास गर्ने मानिसहरू आम मानिसभन्दा फरक हुन्छन् भन्नेसम्मको भाष्य बनेको थियो ।

तर, बाहिर जे सुनिँदै र बुझिँदै आयो, वास्तवमा ओलाङ्चुङगोला अब त्यस्तो छैन ।

विराटनगरको रानीबाट टिप्तालासम्मको चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग उत्तर-दक्षिण लोकमार्गको निर्माणपछि गोला सडक सञ्जालसँग जोडिएको छ ।

केही महिना यताबाट नेपाल टेलिकमको फोरजी सेवा सुचारु भएपछि सञ्चारको प्रत्यक्ष पहुँचमा छ ।

करिब ८०० वर्ष पुरानो भनिएको दिकी छ्योलिङ गुम्बाको मुनिपट्टिको मझौला टारमा गोला बस्ती छ । टिप्ताला भञ्ज्याङ छेउको स्थानलाई उद्गमस्थल बनाएर बगेको तमोर नदी केही तलको देउ टारमा आइपुग्दा झन्डै तमोर जत्तिकै ठूलो रहेको सिङ्जेमा खोला मिसिन्छ ।

मझौला आकारको पोथ्रे बनस्पती, नदी किनारको ढुङ्गामा प्राकृतिक रूपमा लागेको खैरो रङ र खोला किनारको दुवैतर्फ निर्माण भएको उत्तर-दक्षिण लोकमार्गको बीचबाट बगेको तमोरले इतिहासमा ओलाङचुङगोलालाई विध्वंश गरेको थियो । यद्यपि, अहिले पनि गोलामा ५०/६० वटा परम्परागत शैलीका काठको छानो लगाएका घरहरू छन् ।

तिब्बतबाट तीर्थयात्रीहरू यस स्थानमा आउँदा बाटो भुलेको, न्याउरी मुसा जस्तो जनावरले बाटो देखाएको र उक्त जनावरलाई ‘ओलुङ’ नाम दिई कालान्तरमा त्यही शब्द अपभ्रंश भएर ओलाङ्चुङगोला नाम रहन गएको इतिहासमा पढ्न पाइन्छ ।

नेपाली समाजको लागि नौलो लाग्ने हिमाली खर्कहरूमा रहेका याक, चौंरी र भेडीगोठ यहाँका प्रमुख आकर्षणको रूपमा रहने गरेका छन् । यहाँ पहिलेदेखि सीमावर्ती तिब्बतसँग याक र चौंरीजन्य उत्पादनहरू, ऊनबाट निर्मित गलैंचाको मुख्य कारोबार हुने गर्थ्यो । ‘गोलाको गलैंचा’ एउटा ब्रान्डकै रूपमा स्थापित छ ।

ताप्लेजुङ बजार, दार्जिलिङ, काठमाडौं हुँदै अमेरिकासम्म यहाँ उत्पादित गलैंचाको माग हुने गर्थ्यो ।

कोरोना महामारीपछि चीनले सीमा नाकामा कडाइ गरेपछि अहिले भने गोला र तिब्बतबीचको व्यापार ठप्पप्राय: छ ।

‘टिप्ताला बोर्डरभन्दा ७ किलोमिटर पर एउटा क्वारेन्टाइन भवन बनाइएको छ । त्यसैमा गएर बस्नुपर्छ । उता रियुबाट आफन्तहरू आउँछन् । त्यहीं भेट्ने हो,’ गोलामा नेपाली पसल चलाएका वडा सदस्य ओङ्या शेर्पा भन्छन् ।

ताप्लेजुङ सदरमुकामबाट ७५ किलोमिटर दुरीमा अवस्थित ओलाङ्चुङगोलामा हिउँदमा गाडीमै पुग्न सकिन्छ ।

तिब्बतसँगको व्यापार, याक, चौंरीगोठ प्रमुख पेसा र दूरदराजको बस्ती भएका कारण चर्चामा रहने गरेको गोलाको परिचय पछिल्लो दशकयता बदलिएको छ ।

ओलाङ्चुङगोलालाई चीनसँग अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा विकास गर्ने गरी उत्तर-दक्षिण लोकमार्ग निर्माणलाई राष्ट्रिय गौरवको आयोजनाको मान्यता दिएर सडक निर्माण र स्तरोन्नति गरिएको छ ।

सडक सुविधा भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढी रहेको छ । यसको अलावा पछिल्लो केही वर्षयता ताप्लेजुङलगायत पूर्वको ध्यान खिचेका दुई पोखरी छन्, सिङ्जेमा र सोम्दो ।

ओलाङ्चुङगोलाबाट माथि रहेका यी पोखरीसम्म पुग्ने बाटो सहज र माथिल्लो भूगोलको अभूतपूर्व सौन्दर्यसँगैको पदयात्राले अविश्मरणीय बनाउँछ ।

समुद्र सतहबाट करिब ४७०० मिटर उचाइमा अवस्थित सिङ्जेमा ताल पुग्नु अगाडिको क्याम्पिङ साइडको रूपमा रहेको छ्येर उपत्यका, जसको मध्य भागबाट नागबेली बग्ने सिङ्जेमा खोला र आसपासको चट्टानी पहाड, तल फैलिएको हरियो चौर मनमोहक देखिन्छ ।

घाँटीमा घन्टी झुन्ड्याइएका याक, चौंरी बेपरवाह चौरमा चरिरहेको दृश्य गजबको देखिन्छ ।

छ्येरबाट एक/डेढ घन्टा उक्लिएपछिको सिङ्जेमा, सिङ्जेमाको केही माथि हुँदै ५१०० मिटर उचाइको भञ्ज्याङ पुगेपछि मात्रै देखिने सोम्दो पोखरी अद्वितीय छ ।

सिङ्जेमाबाट सोम्दो पुग्ने बेलासम्मको १ घण्टाको पूरै समय सिङ्जेमा हेर्दै जान सकिन्छ ।

जब ४७०० मिटरमाथि ५१०० मिटरमा पुगिन्छ, उच्च चट्टानी पहाड हुँदै पुग्दाको कठिनाइलाई सोम्दोको जोडीले चटक्कै बिर्साउँछ ।

सोम्दो भञ्ज्याङमा पुगेर एकतिर हेर्दा समथर हिमाली चौरमा निलो रङसहित फैलिएको सिङ्जेमा, अर्कोतिर हेर्दा अनकन्टार चट्टानी कापमा निलो रङमा शान्त रहेका सोम्दोको जोडी !

जसमा बेलाबेला आइरहने कुइरोले पोखरीलाई छोप्ने र खुल्ने गरिरहन्छ ।

यो भञ्ज्याङ पुगेपछिको दृश्यअवलोकनले यस यात्राको सर्वाधिक सन्तुष्टि र आनन्दको अनुभूति दिलाउँछ ।

यहाँसम्म पुग्नेहरु कम्तीमा ओलाङ्चुङगोला २ रात बस्नै पर्छ । ओलाङ्चुङगोलाका धेरैजसो घरहरू होटलको रूपमा सञ्चालित छन् ।

गोलावासीको होटल सञ्चालन मौलिक वालुङ समुदायको संस्कारअनुरूप छ ।

ताप्लेजुङमा बसोबास गर्ने शेर्पा जातिभित्र रहेका वालुङ र ढोक्प्या समुदायमध्ये ओलाङ्चुङगोलामा वालुङ समुदाय रहेका छन् ।

परम्परागत काठको छाना लगाएको घरभित्र भान्सामा प्रयोग हुने विभिन्न धातुका भाँडाबर्तन, पूजा गर्ने स्थान, जसमा बलिरहेको दीप, बीच भागतिर आगो बाल्ने फराकिलो अँगेनो र भित्ताको निदालमा सेतो पिठोले अङ्कित गरिएका बौद्ध परम्पराको प्रतिकात्मक चिह्नले मन शान्त बनाउँछ ।

नयाँ मान्छे देख्ने बित्तिकै स्वागत र सम्मान भावसहित ‘आउनुस न, चिया पिएर जानुस्’ भन्ने गोलावासीको आग्रहले ‘अतिथि देवो भव:’ भन्ने उक्तिलाई सार्थक बनाएको छ ।

चिया धेरै पटक थप्न अनुरोध गर्ने गोलावासीको आफ्ना पाहुनालाई फर्किने बेलामा खादा अर्पण गर्दै बिदा गर्ने सस्कारले भावुक बनाउँछ ।

गोलावासीले लगाइलिएको खादा गोलाभन्दा केही तल रहेको देउरालीमा चढाएर फर्किने चलन छ ।

ओलाङ्चुङगोला थातथलो भएका धेरैजसो व्यक्ति दार्जिलिङ, काठमाडौं, फ्रान्स र अमेरिका लगायतका देशमा बसोबास गर्छन् ।

हिमाली शैलीमा जीविकोपार्जन गर्दै बसेका गोलावासीको सामाजिक तथा राजनीतिक चेत पृथक खालको छ ।

घरैघरको झुप्प बजार जस्तो स्वरूपमा रहेको गोलाका बासिन्दाले दलीय आस्था आआफ्नो भए पनि स्थानीय निर्वाचनको बेला दलीय उम्मेदवार बनाउँदा सामाजिक फाटो आउने भन्दै सर्वसम्मत वडाध्यक्ष चयन गर्ने अभ्यास सुरु गरेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा मतदानबिना नै सर्वसम्मत छेतेन शेर्पालाई अध्यक्ष बनाएका थिए ।

शेर्पा आफ्नो वडालाई समृद्ध बनाउन अधिकतम पहल र चासो राख्ने वडाध्यक्षको रूपमा ताप्लेजुङमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?