+
+
Shares

बागमती सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई पूर्ण सफाइको मौका दिँदै सोधियो दोस्रो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा केन्द्रीय अनुशासन समितिले बागमती सरकारमा पार्टी निर्णयबिना सहभागी तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
  • मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको ४ भदौ २०८३ को सरकारमा राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापति मन्त्री बनेका थिए।
  • राप्रपाले सरकारमा समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसमेत नरहने गरी प्रदेश सभा सदस्यबाट हटाउने निर्णय गरिसकेको छ।

७ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

राप्रपा केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, बागमती प्रदेश सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै स्पष्टीकरण मागिएको हो ।

उनीहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको श्रेष्ठले बताएका छन् ।

एमालेका किरण थापा मगर नेतृत्वमा ४ भदौ २०८३ मा गठन भएको सरकारमा राप्रपाका तीनै जना मन्त्री बनेका थिए । मुख्यमन्त्री थापा मगरले सोही दिन मन्त्रिपरिषद् विस्तार गर्दै राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

उनीहरूले सोही दिन प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यीमध्ये राजु विष्टको भने मन्त्रीका रूपमा यो दोस्रो कार्यकाल हो । उनी यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको तत्कालीन माओवादी केन्द्र, एमाले र राप्रपाबीचको संयुक्त बागमती प्रदेश सरकारमा ११ माघ २०७९ मा वन तथा वातावरणमन्त्री बनेका थिए । त्यसबेला राप्रपाबाट उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारीमन्त्री बनेका थिए । राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ भने किरण थापा मगर नेतृत्वको वर्तमान सरकारमा पहिलोपटक मन्त्री बनेका हुन् ।

यसैगरी, राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकारमा सहभागी नहुने तथा सरकारलाई समर्थन नगर्ने निर्णय विपरित थापा नेतृत्वको सरकारलाई समर्थन गरेकोले संसदीय दलका नेता उद्धव थापालाई ४ भदौमै कारबाही गरिसकेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि प्रदेश सभा सदस्यबाट हटाउने निर्णय गरेको थियो । थापाले सोहि दिन पत्रकारहरूलाई प्रतिक्रिया दिँदै पार्टीको निर्णयविरुद्ध अदालत जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?