News Summary
Generated by OK AI. Editorially reviewed.- सूचना प्रचुर भएको आजको डिजिटल वातावरणमा अटेन्सन दुर्लभ स्रोत बनेको र अल्गोरिदमले प्रयोगकर्ताको डेटा प्रयोग गरी फरक–फरक सामग्री देखाउने लेखले उल्लेख गरेको छ।
- लुचियानो फ्लोरिडीले इन्टरनेट, सामाजिक सञ्जाल, अल्गोरिदम र डेटाबाट बनेको सूचनात्मक वातावरणलाई ‘इन्फोस्फियर’ र त्यसमा बाँच्ने मानिसलाई ‘इन्फोर्ग्स’ भनेका छन्।
- लेखले अल्गोरिदमको संरचना, उद्देश्य र प्रभाव बुझ्नु नै वास्तविक स्वतन्त्रताको आधार भएको र त्यसबिनाको छनोट भ्रम मात्र हुने बताएको छ।
तपाईंलाई आफ्नो बाल्यकालका स–साना यादहरू अझै सम्झना छन् ? दशैंको पूर्णिमातिर आकाशमा टहटह चम्किने चन्द्रमा। साउन–भदौको साँझ गाउँतिर थोरै उज्यालो छर्दै उड्ने जुनकिरी। साथीहरूसँग गफ गर्दै हिंड्दा वा एक्लै बाटोमा कसैलाई कुरिबसेको समय।
त्यो बेला संसारसँग हाम्रो एउटा स्पष्ट दूरी थियो। हामी जहाँ थियौं, हाम्रो ‘अटेन्सन’ (ध्यान) पनि लगभग त्यहीं थियो। बाहिरी संसारले हामीलाई निरन्तर तानिरहेको हुँदैनथ्यो। कहिलेकाहीं पर्खनुपर्दा झर्को लाग्थ्यो, तर त्यो झर्कोमा पनि एउटा शान्ति थियो; किनभने त्यो पर्खाइको समय पूर्ण रूपमा हाम्रै थियो। कसैले त्यो समय खोसेको थिएन।
जुनकिरीबाट स्क्रिनसम्म
बाल्यकालमा हामी प्रकृतिका उज्यालाहरू पछ्याउँथ्यौं- जुनकिरी, ताराहरू, पूर्णिमाको चन्द्रमा, आकाशको बादल। आज हामी सूचनाका उज्यालाहरू पछ्याउँछौं- फोनको स्क्रिन, स्क्रोलिङ र त्यसपछि आउने नयाँ नोटिफिकेसन, नयाँ भिडियो, नयाँ फिड।
फरक केवल उज्यालोको स्रोत बदलिनुमा छैन। बाल्यकालको जुनकिरी केही सीमित समयपछि हराउँथ्यो। तर आजको स्क्रिनले कहिल्यै भन्दैन, ‘अब पुग्यो।’ बरु त्यसले सधैं अर्को भिडियो, अर्को पोस्ट देखाइरहन्छ; जहाँ न भाँडो कहिल्यै भरिन्छ, न रात कहिल्यै सकिन्छ।
यहींबाट एउटा प्रश्न जन्मिन्छ- के हामी सूचना प्रयोग गरिरहेका छौं कि सूचना प्रणालीले नै हाम्रो अटेन्सन प्रयोग गरिरहेको छ ?
मानिस ‘अटेन्सन व्यापार’ को वस्तु बन्ने कुरा नयाँ होइन। अर्थशास्त्री हर्बर्ट साइमनले सन् १९७१ मै भनेका थिए- सूचना जति प्रचुर हुन्छ, अटेन्सन त्यति दुर्लभ। यहींबाट ‘अटेन्सन इकोनोमी’ को अवधारणा आयो, जहाँ पैसाभन्दा मूल्यवान् स्रोत मानिसको अटेन्सन हुन्छ।
तर, पुरानो र आजको अटेन्सन व्यापारमा फरक छ। पुरानो विज्ञापनले सबैलाई लगभग एउटै कुरा देखाउँथ्यो, अनुमानसम्म लगाउन खोज्थ्यो- ‘हामीलाई यस्तो मन पर्न सक्छ’ भनेर। आजको अल्गोरिदम र एआई मिसिएको सूचना प्रणालीले भने प्रत्येक व्यक्तिलाई फरक–फरक जुनकिरी देखाउँछ- तपाईंको रुचि, कमजोरी र व्यवहार बुझेर तपाईंको लागि छुट्टै डिजिटल संसार निर्माण गरिदिन्छ। यो अटेन्सन अर्थतन्त्रमा हाम्रो व्यवहारबाट उत्पन्न डेटा नै मूल्यवान् कच्चा पदार्थ बन्छ। त्यस्तो संसारमा हामी ग्राहक मात्र रहँदैनौं; हामी नै त्यो अटेन्सन हौं, जुन डिजिटल कमोडिटीको कच्चा पदार्थ हो।
इन्फोस्फियर के हो ?
यस्तै संरचनालाई व्याख्या गर्न इटालियन दार्शनिक लुचियानो फ्लोरिडीले एउटा नाम दिए- इन्फोस्फियर।
हामी जन्मियौं र विकसित भयौं बायोस्फियरभित्र- पृथ्वीको त्यो पातलो, नाजुक तह जहाँ जीवित प्राणीहरू माटो, पानी, हावा र आपसमा अन्तरक्रिया गर्छन्। हामीमा भएको हरेक सहजवृत्ति त्यही भौतिक संसारले आकार दिएको हो।
विगत केही दशकमा बायोस्फियरसँगै अर्को वातावरण उभिएको छ- पदार्थले होइन, सूचनाले बनेको।
फ्लोरिडीको परिभाषामा, इन्फोस्फियर सम्पूर्ण सूचनात्मक वातावरण हो; जुन इन्टरनेट, सामाजिक सञ्जाल, अल्गोरिदम, सेन्सर र निरन्तर डेटाको प्रवाह मिलेर बनेको हुन्छ। यो कुनै एउटा प्रविधिभन्दा फराकिलो र आधारभूत छ- यो त्यो सम्पूर्ण स्थान हो जहाँ सूचना अस्तित्वमा रहन्छ र व्यवहारलाई आकार दिन्छ, जुन दिनप्रतिदिन भौतिक संसारसँग गाँसिंदै, कतिपय अवस्थामा त्यसैलाई निल्दै गइरहेको छ।
मानिस अब जैविक प्राणी मात्र होइन, हामी इन्फोस्फियरमा बाँच्ने ‘इन्फोर्ग्स’ अर्थात् सूचनात्मक प्राणी पनि हौं। हाम्रा निर्णय, सम्बन्ध र पहिचानको भावना समेत हामीले नबनाएको, प्रायः देख्नै नसक्ने सूचना–प्रवाहबाट मध्यस्थ हुँदैछन्। जसरी माछा पानीबाट बाहिर निस्केर त्यसलाई वस्तुनिष्ठ ढङ्गले जाँच्न सक्दैन, त्यसैगरी हामी पनि इन्फोस्फियर बाहिर उभिएर यसले हामीलाई कसरी आकार दिइरहेको छ भनेर सजिलै देख्न सक्दैनौं।
अघिल्ला पुस्ताहरूले सूचनालाई खोजेर भेट्नुपर्थ्यो- पत्रिका, पुस्तकालयको किताब आदिमा खोज्नुपर्थ्यो। सूचना दुर्लभ थियो। आज स्थिति उल्टिएको छ- सूचना प्रचुर र निरन्तर आइपुग्छ, हामीले खोज्नुभन्दा बढी हामीतिर नै आउँछ। अब दुर्लभ स्रोत सूचना होइन, हाम्रो सीमित अटेन्सन नै हो।
‘अनलाइन’ र ‘अफलाइन’ जीवन बीचको परम्परागत भिन्नता क्रमशः बिलाउँदै गइरहेको छ। हामी दुई अलग–अलग संसार बीच चलमलाउँदैनौं; हामी एउटै मिश्रित संसारमा बाँचिरहेका छौं, जहाँ भौतिक र सूचनात्मक यथार्थता एकापसमा बुनिएका छन्। र, यस्तै परिवेशलाई फ्लोरिडीले ‘अनलाइफ’ भनेका हुन्।
‘म’ भनेको अब को हो ? के हामी साँच्चै स्वतन्त्र रहन्छौं ?
न्युरोसाइन्टिस्ट रोबर्ट स्यापोल्स्कीले आफ्नो किताब ‘डिटर्माइन्ड’ मा मानव व्यवहारलाई जीन, मस्तिष्क, बाल्यकाल र परिस्थितिको जटिल परिणामका रूपमा हेर्छन्। जसले हाम्रो निर्णय कति हदसम्म हाम्रै नियन्त्रणमा हुन्छ भन्ने प्रश्नलाई नै चुनौती दिन्थ्यो र कति हदसम्म हामी आफ्नो वरपरको वातावरण/हुर्काइ र हाम्रो सामाजिक परिवेशले हाम्रो छनोटको स्वतन्त्रतालाई डोर्याइरहन्छ भन्ने विषय उठाएका थिए। आजको सूचनाप्रविधिमा बदलिएको संसारमा अब ‘म’ र मेरो ‘स्वतन्त्रता’ दुवैको पुनर्परिभाषा गर्नुपर्ने ठाउँमा पुगेको छ।
पुरानो पूर्वीय दर्शनमा ‘म को हुँ ?’ भन्ने प्रश्न आत्मा, शरीर, चेतना र स्मृतिसँग जोडिन्थ्यो। आज म मात्र होइन, मेरो डिजिटल फुटप्रिन्टको प्रतिरूप स्वरूप मेरो डेटा–प्रतिरूप छ।
मेरो सर्च हिस्ट्री, मेरा लाइकहरू, मेरो स्क्रोलिङ प्याटर्न, मेरो लोकेसन, मेरो वाच हिस्ट्री, मेरो रुचि, मेरो डर, मेरो आक्रोश- यी सबै मिलेर एउटा यस्तो प्रोफाइल बनाउँछन्, जसले मलाई कस्तो संसार देखाइने भन्ने कुरा नै निर्धारण गर्न भूमिका खेल्छ।
अद्वैत वेदान्तले भन्ने गरेको ‘म’ त एउटै, अखण्ड र अपरिवर्तनीय हुन्थ्यो; तर डेटा–म भने खण्डित, छरिएको र हरेक क्लिकसँगै पुनर्लेखन हुँदै जान्छ। त्यसैले इन्फोस्फियरको प्रश्न प्रविधिको मात्र प्रश्न होइन, यो प्रविधिसँगको सम्बन्ध, पहिचान र अस्तित्वको पनि हो।
बायोस्फियर कुनै एकल डिजाइनर विना अर्बौं वर्षको विकासबाट उदय भएको हो। त्योभन्दा फरक, इन्फोस्फियर भने मूलतः मानव संस्थाहरूले- सरकार, कर्पोरेसन, इन्जिनियर र बढ्दो रूपमा एआई प्रणालीहरूले- नै निर्माण र सञ्चालन गरिरहेका हुन्छन्। यो कुनै तटस्थ प्राकृतिक घटना होइन; यो एउटा इन्जिनियरिङ गरिएको वातावरण हो, जसलाई ‘के प्राथमिकता दिने’, ‘के सिफारिस गर्ने’ भन्ने निर्णयहरूले आकार दिएका हुन्छन्।
आजको इन्फोस्फियरभित्रको अल्गोरिदमले तपाईंको डिजिटल छनोटको विश्लेषण गरी हाम्रै डेटा–प्रतिरूप अर्थात् ‘डेटा–सेल्फ’ बनाएको हुन्छ। त्यसको उद्देश्य एउटै हुन्छ- म फेरि स्क्रिनमा फर्किरहूँ। यी प्रणालीहरूले हाम्रो व्यवहारबाट सिक्ने भएकाले तिनले क्रमशः हाम्रो रुचि, भावनात्मक ट्रिगर र कमजोरीका विस्तृत मोडल बनाउँदै जान्छन्। कहिलेकाहीं त्यो डेटा–प्रतिरूपले हामीले आफैंलाई बुझेभन्दा बढी सटिक रूपमा हाम्रो अर्को क्लिक अनुमान गरिरहेको हुन सक्छ।
युभल नोआ हरारीले आधुनिक मानिसलाई ‘ह्याकेबल एनिमल’ भनेर चर्चा गर्दा उठाउने प्रश्न पनि यही हो- यदि कुनै प्रणालीले तपाईंको व्यवहार र कमजोरीलाई तपाईं आफैंभन्दा राम्रोसँग बुझ्न थाल्यो भने त्यसले तपाईंलाई प्रभावित गर्न कति सजिलो हुन्छ ? यसले हाम्रो अटेन्सन, पहिचान र स्वतन्त्र निर्णय क्षमतामै असर गरिरहेको छ।
स्वतन्त्रता जोगाउने प्रश्न
स्वतन्त्रता भनेको अन्धो इच्छाबाट मुक्ति होइन, आवश्यकतालाई चिन्ने र बुझ्ने क्षमता हो। जति हामी आफ्ना इच्छाहरूको वास्तविक स्रोत बुझ्छौं, उति हामी स्वतन्त्र हुन्छौं। अहिले अल्गोरिदमले हामीलाई जबर्जस्ती केही गर्न लगाउँदैन; यसले केवल ‘तपाईंलाई यो पनि मन पर्न सक्छ’ भनेर अर्को भिडियो देखाउँछ। हामी रोज्छौं जस्तो लाग्छ, तर वास्तवमा हामीलाई रोज्न लगाइएको हुन्छ। यो छनोटको भ्रम नै आधुनिक दासताको सबैभन्दा सूक्ष्म रूप हो; जहाँ हामी स्वतन्त्र महसुस गर्दै आफ्नै इच्छाहरूको कैदी बन्छौं।
यस सन्दर्भमा स्वतन्त्रता भनेको केवल बाह्य दबाबको अभाव होइन; यसका लागि वातावरणको संरचना गहिराइसम्म बुझ्नु आवश्यक छ। यदि आजका बालबालिका जन्मैदेखि ‘इन्फोर्ग्स’ का रूपमा हुर्किरहेका छन् भने इन्फोस्फियर कसरी काम गर्छ भन्ने बुझ्नु, अल्गोरिदमले सामग्री कसरी छनोट गर्छ, अटेन्सन कसरी खिचिन्छ भन्ने बुझ्नु भौतिक संसारमा सुरक्षित रूपमा हिंड्न जान्नु जत्तिकै आधारभूत जीवन सीप बन्दैछ।
यो लेखको उद्देश्य इन्फोस्फियर स्वभावैले हानिकारक हो भन्ने होइन। इन्टरनेटले टाढा–टाढा रहेका मानिसलाई जोडेको छ र जोसुकैलाई विशाल परिमाणको ज्ञान उपलब्ध गराएको छ। चुनौती इन्फोस्फियरको अस्तित्व आफैंमा होइन, बरु हामीमध्ये धेरैले अझै त्यसलाई धेरै सरल भौतिक वातावरणका लागि विकसित भएका सहजवृत्ति र बानीले नै नेभिगेट गरिरहेका छौं भन्ने कुरा हो।
अन्ततः अल्गोरिदमको यो शासनलाई चिन्ने र बुझ्ने क्षमता नै हाम्रो वास्तविक स्वतन्त्रताको आधार हो। जब हामी यसको संरचना, उद्देश्य र प्रभावलाई स्पष्ट रूपमा देख्न थाल्छौं, तब मात्र हामी यसको नियन्त्रणबाट बाहिर निस्कन सक्छौं। स्वतन्त्रता कुनै बाह्य शक्तिको अनुपस्थिति मात्र होइन; यो आफ्नै मनको गहिराइमा रहेको आवश्यकतालाई चिनेर त्यसलाई सचेत रूपमा निर्देशित गर्ने शक्ति हो। अल्गोरिदमले सिर्जना गरेको यो नयाँ आवश्यकतालाई बुझेर मात्र हाम्रो स्वतन्त्रताको साँचो आफैंसँग हुन्छ।
प्रतिक्रिया 4