+
+
Shares

गिनीमा फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु, ६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गिनीको राजधानी कोनाक्रीमा आइतबार भारी वर्षापछि ल्यान्डफिलमा फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने कैयौँ घर र केही सवारीसाधन भग्नावशेषमा पुरिएका छन्।
  • उद्धार टोलीले भग्नावशेष पन्छाएर पुरिएकाको खोजी तथा अस्पताल पुर्‍याउने काम जारी राखेको छ।

८ भदौ, काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा आइतबार झिसमिसेमै सहरको सबैभन्दा ठूलो ल्यान्डफिलमा फोहोरको पहाड भत्किएको छ। दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ।

शहरभरिको फोहोर जम्मा गर्ने उक्त ल्यान्डफिलमा आइतबार बिहान करिब २ बजे सुरु भएको भारी वर्षापछि फोहोरको माथिबाट भल बगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार, यसले पहिरो निम्त्यायो र नजिकैका छाप्राहरू भग्नावशेषमा पुरिए।

यस दुर्घटनामा छ जना गम्भीर घाइते भएका छन् भने कैयौँ घरहरू ध्वस्त भएका छन्। भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तथा उद्धार कार्य जारी छ।

घटनालगत्तै उद्धार टोली घटनास्थल पुगेर भग्नावशेष पन्छाउने र पुरिएका मानिसहरूलाई एम्बुलेन्समार्फत अस्पताल लैजाने काम गरिरहेको छ। केही सवारीसाधनहरू पनि भग्नावशेषमा पुरिएका छन्।

शहरकै सबैभन्दा ठूलो ल्यान्डफिल

यो दुर्घटना दार एस सलामको खुला फोहोर डम्पिङ साइटमा भएको हो, जुन कोनाक्रीको सबैभन्दा ठूलो ल्यान्डफिल हो।

सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्ड मामादो ब्यालोका अनुसार, यो ठाउँलाई आइतबारदेखि बन्द गर्ने तयारी थियो। ल्यान्डफिलको वरपर बस्ने मानिसहरूलाई ठाउँ खाली गर्न सूचना पनि दिइएको थियो।

त्यसपछि धेरै मानिसहरू उक्त क्षेत्र छाडेर गएका थिए, तर दुर्घटनाको समयमा अझै पनि त्यहाँ धेरै मानिसहरू उपस्थित थिए।

गिनी खनिज सम्पदाले भरिपूर्ण देश हो। यहाँ बक्साइटको विश्वकै सबैभन्दा ठूलो भण्डार छ। यसबाहेक देशमा फलामको धाउ, सुन, हिरा र अन्य खनिजहरू पनि पाइन्छन्।

यति हुँदाहुँदै पनि, विश्व बैंकका अनुसार गिनीको ४३.७ प्रतिशत जनसङ्ख्या अझै पनि राष्ट्रिय गरिबीको रेखामुनि बाँचिरहेको छ।

अफ्रिकी देशहरूमा ल्यान्डफिल दुर्घटना किन बढ्दै छन् ?

अफ्रिकी देशहरूका धेरै शहरहरूमा जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ, तर फोहोर व्यवस्थापन प्रणाली भने त्यही गतिमा सुधार भएको छैन। त्यसैले सहरबाहिर फोहोरका ठुल्ठूला पहाड बनेका छन्।

फोहोर बढ्दै जाँदा यसको थुप्रो भारी र अग्लो हुँदै जान्छ। यस्तो अवस्थामा यसको पकड कमजोर हुन पुग्छ।

वर्षामा यो खतरा अझै बढ्छ। फोहोरको थुप्रोमा पानी भरिँदा यसको तौल बढ्छ र थुप्रो तलतिर खस्न सक्छ। गिनीमा पनि हालको दुर्घटनाको पछाडि भारी वर्षापछि फोहोरको थुप्रो भासिएको तथ्य बाहिर आएको छ।

अर्को ठूलो कारण यस्ता फोहोर डम्पिङ साइट वरपर गरिब बस्तीहरू बस्नु हो। धेरै मानिसहरू फोहोरबाट प्लास्टिक र धातुहरू सङ्कलन गरेर आम्दानी गर्छन् वा सस्तो जग्गा भएका कारण त्यहीँ बस्छन्।

त्यसैले जब फोहोरको पहाड भत्किन्छ, आसपासमा बस्ने मानिसहरू सीधै यसको चपेटामा पर्छन्।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?