+
+
Shares

कांग्रेस प्रवक्ताको प्रश्न : नेता अब अदालतले तोक्नु पर्ने ?

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र देखिएको असन्तुष्टिको समाधान अदालतमार्फत नभई विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको असन्तुष्टि अदालत होइन, विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएका छन्।
  • उनले महाधिवेशन रोक्न सर्वोच्च अदालतमा निवेदन दिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै नेतृत्व चयनको अधिकार कार्यकर्तामा रहेको बताएका छन्।
  • चालिसेले कानूनी विवादको फैसला अदालतले गर्ने भए पनि पार्टीका लाखौँ कार्यकर्ताको मतबाट हुने फैसला अझ शक्तिशाली हुने बताएका छन्।

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र देखिएको असन्तुष्टिको समाधान अदालतमार्फत नभई विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने बताएका छन् ।

महाधिवेशन रोक्न अदालतमा निवेदन दिने तथा पार्टीभित्रका विवादलाई न्यायिक प्रक्रियामा लैजाने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले कांग्रेसको नेतृत्व र नेतृत्व चयनको अधिकार पार्टीका कार्यकर्तामा रहेको बताएका हुन् ।

‘कांग्रेसको नेता को हो ? अब अदालतले तोक्नु पर्ने ? अधिवेशन रोक्ने निवेदन ?,’ संस्थापन इतर समूहले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि प्रवक्ता चालिसेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले दलको नेता चयन दलको अधिवेशनले गर्ने भन्दै विशेष वा नियमित जुनसुकै अधिवेशन भए पनि लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् । ‘दलभित्र विश्वास गुमाउने अनि त्यसपछि अदालत ? यो शैलीले दललाई न्याय गर्दैन,’ चालिसेको भनेका छन् ।

कांग्रेसभित्र देखिएको पछिल्लो असन्तुष्टि नितान्त व्यक्तिगत विषयमा केन्द्रित रहेको प्रवक्ता चालिसेको दाबी छ । पार्टीको राजनीतिक विचार र कार्यक्रमसँग सम्बन्धित फरक मत स्वाभाविक हुने भन्दै उनले लोकतान्त्रिक पार्टीले त्यस्ता फरक विचारलाई ग्रहण गर्न सक्नुपर्ने बताएका छन् ।

‘पार्टीभित्र नेताहरूको निजी राजनीतिक भविष्य र पार्टीको भविष्य फरक विषय हुन् । पार्टीका शुभचिन्तकहरूले व्यक्ति होइन, पार्टीलाई मद्दत गरिरहेका हुन्छन्,’ उनले लेखेका छन्, ‘पार्टीप्रति जनताले राखेको भरोसा र विश्वासलाई नेताले थप मजबुत बनाउने हो । त्यसलाई कमजोर बनाउने, सार्वजनिक विश्वासघात गर्ने कार्य अक्षम्य हुन्छ ।’

कानूनी विवादको फैसला अदालतले गर्ने भए पनि पार्टीका लाखौँ कार्यकर्ताको मतबाट हुने फैसला अझ शक्तिशाली हुने चालिसेको तर्क छ । ‘कानूनी विवादको फैसला अदालतको इजलासले गर्ला, त्यो आफ्नो ठाउँमा छ,’ उनले लेखेका छन्, ‘तर लाखौँ कार्यकर्ताको मतको इजलासले गर्ने फैसला अदालतभन्दा शक्तिशाली हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?