+
+
Shares

१७३ संघीय सांसदले गरिसके स्वकीय सचिव नियुक्ति, १४२ ले छान्दैछन्

३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याएर सांसदहरूलाई शाखा अधिकृत स्तरको सेवासुविधा उपलब्ध हुने गरी स्वकीयको सुविधा ब्युँत्याएको थियो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ भदौ ९ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्का ३३४ सांसदले स्वकीय सचिवको सुविधा पुनः पाए पनि ९ भदौसम्म १७३ जनाले मात्रै नियुक्ति गरेका छन्।
  • राष्ट्रिय सभा दुई सिट रिक्त रहेकाले स्वकीय राख्न बाँकी सांसद, पदाधिकारीसहित, १४२ जना रहेका छन्।
  • रास्वपा, कांग्रेस, एमाले र नेकपाले आ-आफ्नो मापदण्ड र प्रक्रिया बनाएर स्वकीय सचिव नियुक्ति गर्दै छन्।

९ भदौ, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा २७५ सदस्यीय छ भने राष्ट्रिय सभा ५९ सदस्यीय छ । दुवै सदनका कूल ३३४ जना सांसदले स्वकीय सचिवको सुविधा पुनः प्राप्त गरेको एक महिना बढी भयो ।

३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याएर सांसदहरूलाई शाखा अधिकृत स्तरको सेवासुविधा उपलब्ध हुने गरी स्वकीयको सुविधा ब्युँत्याएको थियो ।

यो निर्णय ४ साउनमा नेपाल राजपत्रमा प्रकाशित भयो । ५ साउनमा संघीय संसद् सचिवालयले सूचना निकालेर सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्न र त्यसको जानकारी संसद् सचिवालयलाई गराउन भन्यो ।

त्यसयता सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थाले । ९ भदौसम्म १७३ जना सांसदले स्वकीय सचिव नियुक्त गरेका छन् । १४२ जना सांसदले स्वकीय नियुक्त गर्न बाँकी छ ।

१७३ जनामा संघीय संसद् सचिवालयका पदाधिकारीहरूको संख्या समावेश छ । तर १७ जना मन्त्रिपरिषद् सदस्यको संख्या समावेश छैन ।

राष्ट्रिय सभामा दुई सिट रिक्त छ । यसरी स्वकीय राख्न बाँकी सांसद (पदाधिकारीसहित) १४२ जना रहेका छन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनले पदाधिकारीको परिभाषा गरेको छ ।

जसअन्तर्गत सभामुख डोलप्रसाद अर्याल, उपसभामुख रुवी ठाकुर, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारी छन् ।

विपक्षी दलका नेता भीष्मराज आङदेम्बे, सत्तापक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, विपक्षी दलका प्रमुख सचेतक वासना थापा पदाधिकारी हुन् ।

दलको प्रमुख सचेतकअन्तर्गत नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, सत्तापक्षका सचेतक प्रकाशचन्द्र परियार, विपक्षी दलका सचेतक निश्कल राई पदाधिकारी हुन् ।

यसबाहेक संघीय संसद्अन्तर्गत १६ वटा विषयगत समिति छन् । १६ वटै समितिका सभापति पनि पदाधिकारी हुन् । यीमध्ये कतिपय पदाधिकारीले समेत स्वकीय सचिव नियुक्त गर्न बाँकी छ ।

किन ढिलाइ ?

रास्वपा सचेतक क्रान्तिशिखा धिताल सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने प्रक्रियामै रहेको बताउँछिन् । उनका अनुसार दुई कारणले स्वकीय नियुक्तिमा केही ढिलो भएको छ ।

पहिलो : रास्वपाले सांसदहरूको स्वकीय नियुक्ति प्रक्रिया तय गरेको छ । जसमा मेरिटोक्रेसीबाट स्वकीय सचिव ल्याउने भनिएको छ । यसमा एकदमै चिन्दै नचिनेका व्यक्तिसमेत आउने भए । यस्तो प्रक्रियामार्फत आएका व्यक्तिको काम हेर्न सांसदहरूले १५/२० दिन इन्टर्नमा राखेका छन् ।

दोस्रो : रास्वपाले सांसदका स्वकीय कस्तो हुनुपर्छ भनेर मापदण्ड बनाएको छ । मापदण्डअनुसार विश्वासिलो व्यक्ति ल्याउँदै गर्दा सकेसम्म नजिकका नातेदार नराख्ने भन्ने छ । यो कति सम्भव हुन्छ भनेर पनि हेरिँदै छ ।

रास्वपाले सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन नै जारी गरेको छ ।

८ साउनमा रास्वपा महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको निर्देशनमा नातावाद र परिवारवादको परिधिभन्दा बाहिरबाट मात्र प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

समावेशितालाई प्रोत्साहन दिन, दोहोरो सुविधा वा कुनै पनि स्वार्थ बाझिने उम्मेदवार मुक्त हुन तथा छनोट, नियुक्ति तथा अनुमोदन प्रक्रिया प्रतिस्पर्धात्मक बनाउन भनिएको छ ।

साथै, स्वकीय सचिवका लागि उम्मेदवार छनोट गरेपश्चात् नियुक्तिका लागि रास्वपा संसदीय दलबाट स्वीकृति लिन अनिवार्य गरिएको छ । निर्देशनमा भनिएको छ, ‘पार्टीका सम्पूर्ण सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रस्तुत गर्नु पर्नेछ ।’

अर्थात्, स्वकीय सचिव नियुक्तिको प्रक्रिया, संसदीय दलबाट लिनुपर्ने स्वीकृति र आफूले राखेको स्वकीय सचिवको विश्वास आर्जन गर्ने क्रम चलिरहेकोले रास्वपाका कतिपय सांसदहरूले स्वकीय सचिव नियुक्त गरेर यसको जानकारी संसद् सचिवालयलाई दिन बाँकी छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ जना सांसद छन् । यसबाहेक प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद र एक जना स्वतन्त्र (महावीर पुन) रहेका छन् ।

कांग्रेसको आफ्नै मापदण्ड

कांग्रेसकी प्रमुख सचेतक वासना थापा पनि स्वकीय नियुक्तिको प्रक्रिया जारी रहेको बताउँछिन् ।

‘आफूलाई सहज हुने गरी सांसदहरूले राख्नुभएकै व्यक्तिको मापदण्ड पूरा हुँदा उहाँहरू नै रहनुभएको छ । कतिपयको हकमा पार्टीले सहजीकरण पनि गरिदिएको छ,’ उनी भन्छिन्, ‘एउटा मापदण्ड छ । मापदण्डअनुसार नियुक्ति गर्नुपर्ने पनि छ ।’

कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिको आफ्नै मापदण्ड तय गरेको छ ।

संसदीय अध्ययन, कानुन निर्माण, नीति विश्लेषण तथा निर्वाचन क्षेत्रसँगको समन्वयलाई थप प्रभावकारी बनाउन भनेर संसदीय दलले ‘स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३’ नै बनाएर लागु गरेको छ ।

कार्यविधिले कानुन, राजनीति, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, आमसञ्चार, कृषि, इन्जिनियरिङ, स्वास्थ्य, व्यवस्थापन वा सम्बन्धित विषयमा अध्ययन गरेका व्यक्तिलाई प्राथमिकता दिएको छ ।

कार्यविधिअन्तर्गत स्वकीय सचिवका लागि छुट्टै आचारसंहितासमेत निर्धारण गरेको छ । जसमा पदको दुरुपयोग वा व्यक्तिगत लाभका लागि प्रभाव प्रयोग गर्न नपाइने, गोप्य सूचना सार्वजनिक गर्न निषेध गरिने तथा स्वार्थ बाझिने गतिविधिमा संलग्न हुन नपाइने व्यवस्था छ ।

सांसद, संसद्, पार्टी तथा सार्वजनिक संस्थाको गरिमा कायम राख्दै कानुन, संसदीय मर्यादा र संस्थागत मूल्य–मान्यताअनुसार जिम्मेवार र सेवामुखी व्यवहार गर्नुपर्ने दायित्व कार्यविधिले निर्धारण गरेको छ ।

कार्यविधिअनुसार स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्यांकन हुनेछ । मूल्यांकन गर्दा जिम्मेवारीको प्रभावकारी कार्यान्वयन, कार्यको गुणस्तर, समय पालना, अनुशासन, गोपनीयताको पालना, अध्ययन तथा अनुसन्धान क्षमता, समन्वय र सञ्चार सिप, जनउत्तरदायित्व तथा सांसदलाई प्रदान गरिएको व्यावसायिक सहयोगलाई आधार बनाइने उल्लेख छ ।

साथै, स्वकीय सचिव बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने, उम्मेदवारको उमेर कम्तीमा २१ वर्ष पुगेको हुनुपर्ने लगायतका मापदण्ड पनि तोकिएको छ ।

यसैगरी नेकपा एमालेका अधिकांश सांसदले स्वकीय सचिव नियुक्त गरेका छन् ।

‘५/७ जना जति बाँकी छन्,’ एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने, ‘कार्यकर्ताको चाहना धेरै हुन्छ । मिलाउनुपर्‍यो । निर्वाचन क्षेत्र हेर्नुपर्‍यो । यिनै कारणले केहीको नियुक्ति प्रक्रियामा छ ।’

नेकपाले पनि सांसद्का स्वकीय नियुक्तिको काम सकिन लागेको बताएको छ । ‘केहीले छान्दैछन् । अब लगभग सकिन लाग्यो,’ नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने ।

संसद्को आफ्नै मापदण्ड र प्रक्रिया

संसद् सचिवालयले सांसदका स्वकीय सचिव नियुक्तिको जानकारी आउने क्रम जारी रहेको बताएको छ । यस पटक सांसदका स्वकीय सचिव नियुक्त हुन योग्यतामा स्नातक अनिवार्य छ ।

यससम्बन्धी राजपत्रमा प्रकाशित सूचनामै भनिएको छ, ‘स्वकीय सचिवको योग्यता प्रचलित कानुनबमोजिम नेपाल सरकारको सम्बन्धित श्रेणी/तहको कर्मचारीको लागि तोकिएको आवश्यक न्यूनतम योग्यतासरह हुनेछ ।’

कुन तहको कर्मचारी भनेर राजपत्रमा प्रकाशित सूचनामै खुलाइएको छ । जहाँ सुविधाको किसिमअन्तर्गत सांसदका लागि प्राप्त हुने स्वकीय सचिव (राजपत्रांकित तृतीय श्रेणी) हुने भनिएको छ ।

यो शाखा अधिकृत वा सो सरहको अधिकृतस्तरको पद हो ।

यो पदका लागि लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताअनुसार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ ।

यसअनुसार सांसद्का स्वकीय सचिव नियुक्तिको निर्णय भए/नभएको हेरेर संसद् सचिवालयले जानकारीमा लिने र अभिलेख राखेको छ ।

यही साउन ४ गते नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको हो । लगत्तै ५ साउनमा संसद् सचिवालयले सूचना निकालेर स्वकीय नियुक्तिका लागि आह्वान गरेको थियो । सोही बेलादेखि सांसदहरूका लागि स्वकीय सचिव नियुक्तिको बाटो खुला भएको हो ।

तर, स्वकीय सचिव नियुक्तिको बाटो खुला भएको एक महिना बितिसक्दा समेत झण्डै आधा सांसदले स्वकीय सचिव राख्न बाँकी छ ।

सांसदहरूले स्वकीय सचिव नियुक्तिका लागि दलहरूले मापदण्ड तय गरेका छन् । प्रचलित ऐनले पनि यसका निश्चित विधि तय गरेको छ ।

नियुक्त गरिसकेपछि संसद् सचिवालयलाई जानकारी दिने संसद्को आफ्नै प्रक्रिया छ ।

जसअनुसार सांसदले स्वकीय सचिव नियुक्ति गरेपछि यससम्बन्धी फारम भरेर संसद् सचिवालयमा बुझाउनुपर्छ । संसद् सचिवालयले ‘स्वकीय कर्मचारी र परिचारक नियुक्तिका लागि भर्नुपर्ने फारम विवरण’ वेबसाइटमै राखेको छ ।

जसअनुसार सांसदहरूले संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर फारम भर्नुपर्छ ।

जसमा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ बमोजिम आफ्नो स्वकीय कर्मचारी परिचारक नियुक्त गरेको भनेर स्वकीय सचिवको नाम लेख्नुपर्छ । साथै, त्यसरी नियुक्त गरेको स्वकीय सचिवको परिचयपत्र बनाइदिन र पारिश्रमिकको व्यवस्था गरिदिन अनुरोध गर्नुपर्छ ।

विवरणमा स्वकीय सचिवको नाम र थर, जन्ममिति भर्नुपर्छ । फोटो साथमा राख्नुपर्छ । लैंगिकता खुलाउनुपर्छ । नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, प्रदेश, स्थानीय तह र वडा खुलाउनुपर्छ ।

यसैगरी, अस्थायी ठेगाना पनि खुलाउनुपर्छ । शैक्षिक योग्यता खुलाउनुपर्छ । अनि नियुक्त भएको पद खुलाउनुपर्छ । स्वकीय सचिवले सोही पद खुलाउने गरी फारम तयार छ । स्वकीय सचिव परिवर्तन गरेपछि वा हटाउनुपरेको अवस्थामा त्यससम्बन्धी विवरण भर्ने गरीसमेत फारम व्यवस्थित गरिएको छ ।

नियुक्ति मिति कहिले हो, पारिश्रमिक प्राप्त गर्ने बैंकको नाम के हो, खाता नम्बर कति हो त्यो पनि खुलाउनुपर्छ । साथै, स्वकीय सचिवले स्थायी लेखा नम्बर, मोबाइल नम्बर, वैवाहिक स्थिति पनि खुलाउनुपर्छ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?