+
+
Shares

बानेश्वरमा कुटिएकी प्रहरी भन्छिन्- हामी जनताबाटै असुरक्षित छौं

प्रहरी कुट्ने युवक को हुन् ? के हुन्छ कारबाही ?

‘हामी जनताबाटै असुरक्षित छौं । हामी मानिस हो कि होइन ? कि यो बर्दी लाउँदैमा हामीले कुटाइ मात्रै खाने हो ? हामी यही खान आएको हो ?’

अरूण बम अरूण बम
२०८३ भदौ ९ गते २०:१३

९ भदौ, काठमाडौं । मंगलबार दिउँसो सामाजिक सञ्जालमा एक अस्वाभाविक दृश्य सामग्री भाइरल बन्यो । जसमा एक युवा आक्रोशित भएर महिला प्रहरीमाथि हातपात गर्न तम्सीरहेका देखिन्छन् ।

अर्का पुरुष प्रहरीले उनलाई रोक्न ठूलै बल लगारहेका छन् । उनले मात्रै नसकेपछि एक जना ट्राफिक प्रहरी दौडेर आउँछन् । तीन जना प्रहरीले निकै सकसपूर्ण ढंगले ती युवालाई नियन्त्रणमा लिन्छन् ।

अर्को दृश्यमा ८–१० जना प्रहरी लागेर मात्रै उनलाई नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राख्छन् ।

यो दृश्य काठमाडौंको नयाँ बानेश्वर चोकको हो । प्रहरीका अनुसार महिला प्रहरीमाथि आक्रमण गर्ने युवक जुम्लाको तातोपानी गाउँपालिका–२ का २७ वर्षीय राज कठायत हुन् ।

प्रहरीका अनुसारउनी काठमाडौंमा कर्णाली क्षेत्रको जडिबुटी कारोबार गर्दै आएका व्यक्ति हुन् ।

जथाभावी सडक नकाट्न भन्दा…

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार घटना दिउँसो अत्यधिक ट्राफिक चाप हुने बेलाको हो ।

‘दिउँसो कार्यालय समय सुरु हुने आसपासको समयमा उपत्यकाका सडकमा अत्यधिक सवारी चाप हुन्छ । त्यसैले त्यो बेला ट्राफिक प्रहरीसँगै सामुदायिक प्रहरी पनि परिचालन हुन्छ,’ एसएसपी घिमिरेले भने, ‘सामुदायिक प्रहरी आकाशे पुल, जेब्रा क्रसजस्ता ठाउँमा खटिन्छन् ।’

घिमिरेका अनुसार दुर्व्यवहार भोगेकी महिला प्रहरी सामुदायिक प्रहरी नै हुन् । ‘त्यहाँ खटिने सामुदायिक प्रहरीले पैदल यात्रीलाई जथाभावी सडक नकाट्न, नजिक आकाशे पुल भए त्यसको प्रयोग गर्न र जेब्रा क्रसिङमा पनि सवारी र पैदल यात्रीलाई व्यवस्थित ढंगले आवत–जावतको वातावरण मिलाउन सहजीकरण गरिदिन्छन्,’ एसएसपी घिमिरेले भने ।

जसको उद्देश्य दुर्घटना न्यूनीकरण गर्ने र सवारी चापलाई व्यवस्थापन गर्ने रहेको उनले बताए ।

‘घटना भएको ठाउँ बानेश्वरको व्यस्त ठाउँ हो । त्यहाँ जथाभावी सडक काट्न खोजेपछि ड्युटीमा खटिएका महिला प्रहरीले आकाशे पुलको प्रयोग गर्न आग्रह गर्नुभएको रहेछ,’ एसएसपी घिमिरेले भने, ‘प्रहरीले त्यत्ति भन्दा ती युवक आक्रमणमा उत्रिएछन् ।’

पाँच दिनको हिरासत म्याद, दुई कसुरमा अनुसन्धान

कठायतलाई प्रहरीले पक्राउ गरेर बानेश्वर प्रहरी बृत्तको हिरासतमा राखेर अनुसन्धान थालेको छ । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ६६(१) र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३७ अनुसारको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

दफा ६६ मा ‘राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने’ व्यवस्था छ । जसको उपदफा (१)मा ‘कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा गैरकानुनी भेला रोक्ने, भंग गर्ने वा हुलदंगा रोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पुर्‍याउन वा पुर्‍याउने उद्योग गर्न हुँदैन’ भन्ने उल्लेख छ ।

यो कसुर गरे दफा ६६ कै उपदफा (२) अनुसार एक वर्ष कैद वा १० वर्ष जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३७ मा निर्धारित ठाउँबाट बाटो काट्नुपर्ने भनर पैदल हिँड्ने मानिसले बाटो काट्न पर्दा जेब्रा क्रसिङ, सब–वे, ओभरहेड ब्रिज वा त्यस्तो बाटो काट्नका लागि निर्धारण गरिएको ठाउँबाट मात्र बाटो काट्नुपर्ने व्यवस्था छ ।

‘जेनजी आन्दोलनपछि लास्टै भइसक्यो’

यता दुर्व्यवहार बेहोरेकी महिला प्रहरीले घटनापछि चर्को दुखेसो पोखेकी छन् । कठायतलाई नियन्त्रणमा लिइसकेपछि ती प्रहरीले बोलेको गुनासो पनि सामाजिक सञ्जालमा सुनिन्छ ।

‘अब के गर्नु ? यस्तै छ त नेपालको कानुन ! यो जेनजीबाट लास्टै भइसक्या छ,’ उनले बोलेको सुनिन्छ । त्यसपछि उनले आफ्नो हात देखाउँछिन् । घडी चुडालेको बताउँछिन् ।

अर्का प्रहरी जवान जनताबाटै प्रहरी असुरक्षित गुनासो पोखेका छन् । ‘हामी जनताबाटै असुरक्षित छौं,’ उनी भनिरहेका सुनिन्छन्, ‘हामी मानिस हो कि होइन ? कि यो बर्दी लाउँदैमा हामीले कुटाइ मात्रै खाने हो ? हामी यही खान आएको हो ?’

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक(डीआईजी) हेमन्त मल्ल पनि जेनजी आन्दोलनपछि सिर्जना भएको अराजक मानसिकताको उपजका रूपमा यो घटनालाई व्याख्या गर्छन् ।

हेमन्त मल्ल

‘भदौ २३–२४ घटनापछि सिर्जना भएको अराजकताकै उपज यो घटना हो । यो एक मात्र घटना होइन, यसैगरी प्रहरीमाथि अन्य घटनामा पनि आक्रमण भएको छ,’ उनी भन्छन्, ‘त्यस्ता घटनाले सामाजिक सञ्जालमार्फत जुन अराजक मानसिकता भरिरहेका छन्, त्यसले यस्ता घटना थप सिर्जना गर्न मद्दत गरिरहेका छन् ।’

यो विषयमा सत्तापक्ष, सरकार र विभागीय मन्त्रालय जिम्मेवार हुनुपर्ने डीआईजी मल्लको मत छ । ‘तर, सरकारमा हेर्नुस्, संसद्मा हेर्नुस्, समाजमा हेर्नुस् कोही पनि प्रहरीको मनोबल बढाउनतिर ध्यान दिएको देखिन्न,’ उनी भन्छन् ।

आम सुरक्षाका लागि जनतासम्म पुग्ने सरकारको एजेन्सी प्रहरी रहेको बताउँदै त्यसको मनोबल बढाउन सरकार र विभागीय मन्त्री जिम्मेवार नदेखिएकामा प्रहरी वृत्त निरास रहेको मल्लको टिप्पणी छ ।

‘पुलिसले लय लिन खोजेको देखिन्छ । तर, गृहमन्त्रालयको लिडरसिप संवेदनशील देखिन्न । त्यसैको भडास आईजीपीले संसदीय समितिमा पोखेको देखिन्छ,’ उनी भन्छन् ।

केही दिनअघि संसदीय समितिमा रास्वपा सांसद खगेन्द्र सुनारको उत्तेजक प्रश्नमा प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की आक्रोशित सुनिएका थिए । त्यो प्रहरीभित्र गुम्सिएको भडास रहेको मल्लले टिप्पणी गरेका हुन् ।

‘प्रहरीलाई यसैगरी तनाव दिएर राख्दा राज्यलाई निकै असर पर्छ । सरकारले यसमा ध्यान दिनुपर्छ,’ मल्ल भन्छन् ।

लेखक
अरूण बम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?