+
+
Shares

नेपाली संस्थापकको स्टार्टअप लामिना ल्याब्सले जुटायो थप १३ लाख, कुल पूँजी ४८ लाख डलर

लामिना ल्याब्स वाई कम्बिनेटरको स्प्रिङ २०२६ ब्याचमा छनोट हुने पहिलो पूर्ण–नेपाली संस्थापक टिम भएको कम्पनी हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदीप रोकाया र कार्तिकेश मिश्रले सहसंस्थापन गरेको सानफ्रान्सिस्कोको लामिना ल्याब्सले थप फलो-अन फन्डिङ जुटाएर कुल ४८ लाख अमेरिकी डलर लगानी पुर्‍याएको छ।
  • कम्पनीले यो लगानी इन्जिनियरिङ टिम विस्तार र प्रमुख प्रडक्ट सिमीलाई स्केल गर्न प्रयोग गर्ने जनाएको छ।
  • सिमीले ८० भन्दा बढी भाषा सपोर्ट गर्दै टेक्स्ट, डकुमेन्ट वा वेबसाइट लिंकलाई सेकेन्डभित्र ह्वाइटबोर्ड शैलीको एनिमेसन भिडियोमा रूपान्तरण गर्छ।

९ भदौ, काठमाडौं । नेपाली युवा सुदीप रोकाया र कार्तिकेश मिश्रले सहसंस्थापन गरेको सानफ्रान्सिस्को स्थित स्टार्टअप लामिना ल्याब्सले थप लगानी भित्र्याएको छ ।

यसअघि प्राप्त ३० लाख अमेरिकी डलरको सिड फन्डिङपछि कम्पनीले हालसम्म कुल ४८ लाख डलर लगानी जुटाइसकेको हो ।

वाई कम्बिनेटरबाट सुरुमा ५ लाख डलर र पछि पहिलो लगानीकर्ताबाटै सिधै ३० लाख डलर पाएको लामिना ल्याब्सले थप फलो–अन फन्डिङ मार्फत यो रकम जुटाएको हो ।

‘अब हामीले उठाएको फन्ड कुल ४८ लाख डलर पुगेको छ,  यसअघि ३० लाख डलर उठाएका थियौं,’ यसका सहसंस्थापक सुदीप रोकायाले अनलाइनखबरसँग भने ।

कम्पनीका लगानीकर्तामा वाई कम्बिनेटर र फाउन्डेसन क्यापिटल छन् ।

लिंक भेन्चर्सले पनि आफ्नो २०२६ पोर्टफोलियोमा लामिना ल्याब्सलाई सूचीकृत गर्दै यसलाई एआईका लागि ‘भिजुअल आउटपुट लेयर’ निर्माण गर्ने कम्पनीका रूपमा उल्लेख गरेको छ ।

कम्पनीले यो लगानी आफ्नो इन्जिनियरिङ टिम विस्तार गर्न र प्रमुख प्रडक्ट सिमीलाई स्केल गर्न प्रयोग गर्ने जनाएको छ ।

लामिना ल्याब्सको प्रमुख प्रडक्ट सिमीले प्रयोगकर्ताले दिएको टेक्स्ट प्रम्प्ट, डकुमेन्ट वा वेबसाइट लिंकलाई सेकेन्डभित्र ह्वाइटबोर्ड–शैलीको एनिमेसन भिडियोमा रूपान्तरण गर्छ । यसले ८० भन्दा बढी भाषा सपोर्ट गर्छ, जसमा नेपाली पनि समावेश छ ।

प्रयोगकर्ताले भिडियोको लम्बाइ र फर्म्याट (युट्युब, टिकटक वा इन्स्टाग्राम रिल्सका लागि उपयुक्त) समेत छनोट गर्न सक्छन् ।

प्रडक्ट सार्वजनिक भएको १२ दिनभित्र सिमीले करिब ४ हजार प्रयोगकर्ता र १ सय ८७ भुक्तानी गर्ने ग्राहक जोडेको थियो । लिंक भेन्चर्सका अनुसार हाल कम्पनीको भुक्तानी गर्ने ग्राहक संख्या १ सय ९० नाघिसकेको छ ।

प्रारम्भमा शिक्षा क्षेत्रलाई लक्षित गरिएको यो प्रडक्टको प्रयोगकर्तामा भने अमेरिकाका साना तथा घरेलु व्यवसायीको संख्या बढी रहेको संस्थापकहरूले जनाएका छन् ।

लामिना ल्याब्स वाई कम्बिनेटरको स्प्रिङ २०२६ ब्याचमा छनोट हुने पहिलो पूर्ण–नेपाली संस्थापक टिम भएको कम्पनी हो ।

संस्थापक रोकाया हुम्ला सिमीकोट र कार्तिकेश मिश्र रौतहटका हुन्, जो एमआईटीमा अध्ययन क्रममा भेटेका थिए । कम्पनीको प्रडक्ट सिमीको नामकरण पनि रोकायाको जन्मस्थान सिमीकोटकै आधारमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?