+
+
Shares

हिमताल फुटेर रसुवा बाढी आएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक अनुमान

विज्ञहरूले हिमताल फुटेर, हिमपहिरो वा नदीको बाँध भत्किएर बाढी आएको हुनसक्ने अनुमान लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:४२

१० भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले अकल्पनीय क्षति पुर्‍याएको छ । रसुवागढी भन्सार, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशुली, टिमुरे लगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको देखिन्छ ।

बुधबार बिहान करिब ९ बजेतिर आएको बाढीको कारण भने अझै खुल्न सकेको छैन । यो क्षेत्रका विज्ञहरूले हिमताल फुटेर, हिमपहिरो वा नदीको बाँध भत्किएर बाढी आएको हुनसक्ने अनुमान लगाएका छन् ।

बाढी पहिरो सम्बन्धी अध्ययन गर्दैआएका भूगोलका प्राध्यापक नरेन्द्रराज खनाल तिब्बतमा हिमपहिरो आएर बाढी आएको हुनसक्ने बताउँछन् ।

‘अहिले प्रारम्भिक अनुमान मात्र गर्न सकिन्छ । चिनियाँ पक्षबाट पनि आधिकारिक जानकारी प्राप्त भइसकेको  छैन,’ उनी भन्छन्, ‘विस्तारै बग्ने हिमपहिरो (स्लो एभलान्चे)का कारण बाढी आएको हुनसक्दछ ।’

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थ यकिन कारण अझै खुली नसकेको बताउँछन् । उनी भन्छन्, ‘हिमताल फुटेर बाढी आएको हुनक्ने प्रारम्भिक अनुमान छ । वास्तविक कारण पत्ता लागेपछि विभागबाट विज्ञप्ति जारी गर्छौं ।’

बाढी १ देखि २ घण्टाभित्र चितवनको देवघाट क्षेत्रमा पुग्नसक्ने  विभागका सूचना अधिकारी कायस्थ बताउँछन् । उनी भन्छन्, ‘मुग्लिन, नारायण लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दछौं ।’

प्राध्यापक रञ्जनकुमार दाहाल पानीको मात्रा हेर्दा सानोतिनो खोला थुनिएको भन्न नमिल्ने बताउँछन्,  । भूगर्भविद् दाहाल भन्छन्, ‘बाढी हेर्दा भइरहेको ताल फुटेरै आएको जस्तो देखिन्छ । तर कुन ताल हो भन्न सकिदैन ।  हिम पहिरो खसेको छ र ताल पनि फुटेको छ भन्ने देखिन्छ ।’

पानी र पहिरोको सम्बन्ध बारे अनुसन्धान मुलक पुस्तकका लेखक मधुकर उपाध्याय पनि हिमताल नै कारण हुनसक्ने बताउँछन् । ‘यो अकल्पनीय क्षति हो । हिमतालकै कारण यस्तो भएको हुनसक्छ,’ उनी भन्छन् ।

भूगर्भविद् श्रीकमल द्विवेदी पर्मोफ्रस्ट पनि बाढीको कारण हुन सक्ने बताउँछन् । उनी भन्छन्, ‘ठूलो पानी नपरे पनि निरन्तर सानो पानी परिरहँदा हिमाली क्षेत्रको भिरालोमा बरफले जमाएर राखेको माटो–ढुंगा (पर्मोफ्रस्ट) पग्लेर बग्दा हिमाबाढी आएको हुनसक्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?