+
+
Shares

सिरहामा मिटरब्याज पीडितको प्रदर्शन

सुरेश राय सुरेश राय
२०८३ भदौ १० गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल, सिरहाले मिर्चैयामा प्रदर्शन गर्दै सिरहा–४ का सांसद तपेश्वर यादवको पुत्ला दहन गरेका छन्।
  • प्रदर्शनकारीले फर्जी तमसुक खारेज, सुदखोर पक्राउ, छानबिन र पीडितलाई न्याय दिन माग गर्दै संस्था चोक–थाना चोक–कटारी चोक हुँदै र्‍याली निकालेका थिए।
  • महासचिव मनोजकुमार पासवानले माग पूरा नभए यादवको घर घेराउदेखि देशभर आन्दोलन चर्काएर सिंहदरबारसम्म पुग्ने चेतावनी दिएका छन्।

१० भदौ, सिरहा । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल, सिरहाले मिर्चैयामा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सिरहा–४ का सांसद एवं रास्वपा मधेश प्रदेश सभापति तपेश्वर यादवको पुत्ला दहन गरेका छन्।

मिटरब्याज पीडितहरूले मिर्चैयास्थित संस्था चोकबाट विरोध र्‍याली निकाली थाना चोक हुँदै कटारी चोकको परिक्रमा गरेका थिए। त्यसपछि पुनः संस्था चोकमा पुगेर सांसद यादवको पुत्ला दहन गरेका थिए।

प्रदर्शनकारीहरूले हातमा विभिन्न नारासहितका प्लेकार्ड बोकेर ‘फर्जी तमसुक खारेज गर, जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा हुँदै आएको धाँधली बन्द गर, पेसेवर सुदखोरलाई गिरफ्तार गर, पीडितलाई न्याय दे, सुदखोरको सम्पत्ति छानबिन गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले सांसद तपेश्वर यादवविरुद्ध पनि नाराबाजी गरेका थिए।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका महासचिव मनोजकुमार पासवानले नेपालमा विगत पाँच वर्षदेखि मिटरब्याज पीडितको आन्दोलन जारी रहेको बताए। उनका अनुसार लेनदेनका कारण लाखौँ व्यक्ति पीडित बनेका छन् भने कतिपयले आफ्नो सम्पत्तिसमेत गुमाइसकेका छन्।

गाउँ–गाउँ र टोल–टोलबाट मिटरब्याज पीडितको समर्थन बढ्दै गएपछि सर्वसम्मत रूपमा २०८० सालमा मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गरिएको भए पनि पीडितले अझै पूर्ण रूपमा न्याय पाउन नसकेको पासवानको भनाइ छ।

उनले केही दिनअघि मात्रै जनकपुरबाट निजगढसम्म पैदल मार्च गरेको र त्यस क्रममा गृहमन्त्री सुदन गुरुङसँग ९ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको बताए।

सांसद तपेश्वर यादवले मिटरव्याजीको पक्षमा आवाज उठाएको भन्दै पासवानले आपत्ति जनाए। उनले सांसद यादवमाथि कारबाही गर्नसमेत माग गरे।

गृहमन्त्रीसँग पीडित पक्षको ९ बुँदे सहमति भइसकेको अवस्थामा सरकारमा रहेको दलकै सांसदले त्यसविपरीत अभिव्यक्ति दिएको भन्दै आन्दोलनकारीले आपत्ति जनाएका छन्।

महासचिव पासवानले आफूहरूको प्रदर्शन सांकेतिक आन्दोलन मात्र भएको चेतावनी दिँदै माग सम्बोधन नभए सांसद यादवको घर घेराउदेखि देशभर पुनः आन्दोलन चर्काउने र सिंहदरबारसम्म पुग्ने चेतावनी दिएका छन्।

आन्दोलनकारीहरूले सांसद यादवले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने तथा मिटरब्याज पीडितको पक्षमा भएका सहमति कार्यान्वयन गर्दै पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?