१० भदौ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवा बाढीबाट भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । पूर्वराजा शाहको संवाद सचिवालयबाट जारी सन्देशमा बेपत्ता नागरिकको तत्काल खोजी कार्यलाई तीव्रता दिन आवश्यक रहेको भनिएको छ ।
‘चीनको स्वशासित प्रदेश तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीले भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रका बजार, बस्ती तथा बासिन्दा, बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना लगायतका भौतिक संरचना तथा खेतीपातीमा अपार क्षति पुगेको घटनाले हामीलाई अत्यन्तै दु:खित तुल्याएको छ,’ सन्देशमा भनिएको छ ।
सन्देशमा विपत्तिमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यस्तै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
‘सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी कार्यलाई तीव्रता दिनु आवश्यक छ,’ सन्देशमा भनिएको छ, ‘प्राकृतिक विपत्तिको यस दु:खद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गर्दछौं ।’
ाथै, सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघ–संस्था तथा आमनागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरेर उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।
‘सीमासँग जोडिएका छिमेकी देशमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले अलग–अलग प्रयास भन्दा त्रिदेशीय संयुक्त प्रयासमार्फत यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न सकेमा अझ प्रभावकारी हुने तथ्यलाई हामी सबैले मनन गर्न आवश्यक देखिएको छ,’ पूर्वराजा शाहको सन्देशमा भनिएको छ ।
पूर्वराजा शाहको सन्देश:

प्रतिक्रिया 4