+
+
Shares

विपद्‌मा कालोबजारी गरे कडा कारबाही हुने, आपूर्ति सहज बनाउन सरकारको आग्रह

विपद्को कठिन समयमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि जस्ता गैरकानुनी काम गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि दैनिक उपभोग्य वस्तु र सेवा आपूर्ति सहज बनाउन सरकारले उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।
  • विपद्को समयमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चेतावनी दिएको छ ।
  • विभागले खाद्यान्न र औषधोपचारलाई प्राथमिकतामा राख्न, जोखिमयुक्त पसल र गोदाम सार्न तथा अनियमितता देखिए गुनासो पोर्टल, ११३६ वा जिल्ला प्रशासनमा उजुरी दिन आह्वान गरेको छ ।

१० भदौ, काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्ति सहज बनाउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

साथै, विपद्को कठिन समयमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि जस्ता गैरकानुनी काम गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै विपद् प्रभावितलाई सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायी र आम उपभोक्तालाई अनुरोध गरेको छ ।

विशेषगरी खाद्यान्न र औषधोपचारलाई पहिलो प्राथमिकतामा राखेर सहज उपलब्ध गराउन, जोखिमयुक्त स्थानमा रहेका पसल तथा गोदाम सुरक्षित स्थानमा सार्न र स्थानीय प्रशासनसँगको समन्वयमा अत्यावश्यक वस्तु वितरण सुव्यवस्थित गर्न विभागको आग्रह छ ।

कठिन समयको फाइदा उठाउँदै केही व्यक्ति तथा संस्थाले कालोबजारी, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धि गरी आपूर्ति प्रणालीमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै विभागले त्यस्ता गतिविधिमाथि स्थानीय प्रशासन र विभागबाट निरन्तर निगरानी भइरहेको जनाएको छ ।

बजारमा अनुचित व्यापारिक क्रियाकलाप भएको पाइए वा उपभोक्ता अधिकार हनन हुने काम भए तत्काल सूचना दिन पनि विभागले आह्वान गरेको छ ।

उपभोक्ताले विभागको वेबसाइटमा रहेको गुनासो पोर्टल, क्यूआर कोड टोल–फ्रि हटलाइन नम्बर ११३६, इमेल वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सिधै उजुरी दिन सक्ने व्यवस्था मिलाइएको विभागको भनाइ छ ।

कानुन विपरीत यस्ता क्रियाकलाप गरेको पाइए कानुन बमोजिम कडा कारबाही गरिने विभागले बताएको छ ।

विपद् व्यवस्थापनमा सहयोग गर्न र बजार स्वच्छता कायम राख्न विभागले सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?