+
+
Shares

रसुवागढीमा एकाएक भयानक बाढी आउनुको कारण के होला ?

कारण यकिन नभए पनि विशेषज्ञहरूका अनुसार, हिम–चट्टान वा हिमपहिरो अनि हिमताल विस्फोटका कारण ल्हेन्दे खोलामा आएको बाढी विध्वंशक रूपमा तल्लो भेगमा बग्दै गएको हो ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८३ भदौ १० गते २२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार बिहान रसुवाको टिमुरे बजारमा आएको बाढीले भोटेकोशी, स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीका बजार तहसनहस गरेको छ।
  • विशेषज्ञहरूले चीनको तिब्बती क्षेत्रमा रहेको जोखिमपूर्ण हिमताल वा हिमपहिरोका कारण ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक अनुमान गरेका छन्।
  • परराष्ट्र मन्त्री शिशिर खनालले ८ बजेर ३७ मिनेटमा भूकम्प गएर हिमपहिरो झरेको प्रारम्भिक सूचना आएको तर थप भेरिफाइ गर्नुपर्ने बताए ।

१० भदौ, काठमाडौं । चीनको तिब्बती क्षेत्रमा रहेका जोखिमपूर्ण हिमतालमा आएको पहिलो र त्यसपछिको विस्फोटका कारण रसुवाको भोटेकोशीमा बुधबार बिहान बाढी आएको अनुमान छ ।

रसुवाको टिमुरे बजारमा बिहान साढे ८ बजे आसपासमा आएको विध्वंशक बाढीले जनधनको ठूलो नोक्सानी गरेको छ ।

बाढीले विशेषगरी टिमुरे बजारदेखि रसुवाको स्याफ्रुबेसी, नुवाकोटको बेत्रावती, त्रिशुली लगायतका बजार तहसनहस गरेको छ ।

विशेषज्ञहरूले बाढीको मूल कारण निर्क्योल गर्न सकेका छैनन् । नेपाल–चीन सीमा क्षेत्रबाट करिब ४०–५० किलोमिटर माथि रहेका जोखिमपूर्ण हिमतालहरू विस्फोटपछि बाढी आएको उनीहरूको अनुमान छ ।

हिमतालको नाम, त्यहाँ भएको घटना र त्यसपछि भएको विस्फोटको आकार निर्क्योल गर्न नसके पनि विशेषज्ञहरूले जोखिमपूर्ण अवस्थामा रहेका तीन वटामध्येका हिमताल कुनै कारणले विस्फोट गरेको र त्यसपछि ल्हेन्दे खोलामा बाढी आएको अनुमान गरेका छन् ।

विशेषज्ञहरू बाढी सुरु भएको मूल क्षेत्र भोटेकोशीको करिब ४०–४५ किलोमिटर माथिको भागमा रहेको अनुमान गर्छन् । तर के कारणले बाढी आयो भन्नेमा भने उनीहरूबीच मतभेद छ ।

कतिपयले हिमताल विस्फोटपछि स्वतः बाढी आएको आकलन गर्छन् । कतिपयले हिमपहिरोले ल्हेन्दे खोला थुनिएपछि त्यो विस्फोट भएको दाबी गर्छन् ।

त्रिभुवन विश्वविद्यालयको भूगर्भ केन्द्रीय विभागका प्राध्यापक रञ्जनकुमार दाहाल हिमपहिरो र त्यसपछिको हिमताल विस्फोटविना यो तहको ठूलो बाढी आउन सम्भव नै नहुने बताउँछन् । उनको अनुमानमा रसुवाको उपल्लो भागमा रहेको चीनको तिब्बती क्षेत्रमा सँगै रहेका तीन वटा ताल फुटेको र हिमपहिरो पनि सँगै गएको हुनसक्ने सम्भावना ज्यादा छ ।

‘कुन ताल कसरी फुट्यो भन्नेबारे अहिले केही अनुमान गर्न सकिँदैन । सम्भवतः ल्हेन्दे खोलाको माथिपट्टिको सँगसँगै रहेका तीन वटामध्ये कुनै ताल फुटेको हुनुपर्छ,’ दाहालले अनलाइनखबरसँग भने, ‘ती तालहरूलाई हामीले निकै जोखिम मानिरहेका छौं । जुन ढंगले पानीको मात्रा बढेको छ, त्यो आधारमा हेर्दा हिमपहिरो खसेको छ र ताल फुटेको छ भन्ने अनुमान गर्न सक्छौं ।’

उनका अनुसार, एउटा खोला केहीबेर थुनिएर पानी निकास हुँदा त्यो तहको बाढी आउँदैन । हिमताल नै फुटेको र त्यहाँ संकलित पानी एकसाथ तल बगेर बाढीको रूप लिएको उनी बताउँछन् । तर तथ्यांक र विवरण नआएकाले कुन ताल कसरी फुट्यो भन्नेबारे अनुमान गर्न नसकिने उनी बताउँछन् ।

अमेरिकाको युनिभर्सिटी अफ अलास्का फियरब्यांकका अनुसन्धानकर्ता अमृत थापा हिमपहिरोपछि ल्हेन्दे खोलामा बाढी आएको अनुमान गर्छन् । हिमनदी र हिमपहिरोको अध्ययन गरेका थापा भन्छन्, ‘यो नेपाल र चीनका वैज्ञानिकहरूसँगको कुराकानीपछि प्रारम्भिक आकलन हो ।’

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार अपराह्न सार्वजनिक गरेको सूचनाअनुसार, रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सिमानामा हिम–चट्टान पहिरो गएको थियो ।

प्लानेट ल्याब्सको स्याटेलाइट तस्वीरहरूलाई उद्धृत गर्दै उसले आफ्नो संक्षिप्त वक्तव्यमा भनेको छ, ‘हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्र्यान सहितको बाढी आएको हो र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ ।’

टाउकोमाथिका विस्फोटक पदार्थ

इसिमोडले नेपाल हुँदै बग्ने वा नेपाललाई असर पार्न सक्ने ४७ वटा जोखिमपूर्ण हिमताल छन् भनेर आकलन गरेको थियो । रसुवा अनि सिन्धुपाल्चोकसँग नजिक रहेको तिब्बती क्षेत्रमा पर्ने प्युरेपु हिमनदीको सतहमा मार्च २०२५ देखि विस्तारै पोखरीहरू बन्न थालेका थिए ।

विशेषज्ञहरू हिमाली क्षेत्रका हिमनदी र त्यहाँ पछिल्ला वर्षहरूमा बढ्दो तापमानलाई टाउकामाथिको विस्फोटक पदार्थसँग तुलना गर्छन्, ती तालहरू जतिबेला पनि विस्फोटन भएर ठूलो क्षति पुर्‍याउन पर्याप्त छन् ।

रसुवासँगैका तिब्बती क्षेत्रका साना–हिमतालहरू जुन पछिल्ला वर्षहरूमा मिसिएर ठूलो ताल बन्यो । गत वर्षको रसुवागढीमा बाढी आएपछि हेर्दा त्यो ताल एकैचोटि रित्तिएको अनुसन्धानकर्ता थापा बताउँछन् । उनका अनुसार, प्युरेपु हिमनदीको सतहमा जुन घटना भयो त्यो आफैंमा अलि फरक खालको थियो ।

आँखाले हेर्दा सानो आकारका देखिने हिमताल पनि भित्रपट्टि ठूलो हुन सक्छ । अध्ययनहरूले हिमनदीको भित्रै पनि तालहरू बन्न सक्ने, पोखरीहरू बन्न सक्ने देखाएका थिए । तर अध्येताहरू भने गत वर्षको तुलनामा यसपालिको घटनालाई फरक प्रकृतिको ठान्छन् ।

यसपालि पूरै हिमताल विस्फोट भएको कतिपय तर्कसँग फरक मत राख्नेहरू हिम–चट्टानको पहिरोले यो घटना भएको आकलन गर्छन् ।

रसुवाकै हकमा कुरा गर्दा चीनको तिब्बतमा रहेको त्यो हिमताल आँखाले हेर्दा साह्रै सानो हो । तर त्यसले ल्याएको पानीको मात्रा र बाढी हेर्दा पक्कै पनि पानीको पकेट अथवा पोखरीहरू थिए भन्ने सजिलै अनुमान गर्न सकिने थापा बताउँछन् । गत वर्षको रसुवा बाढीपछि उनले स्याटेलाइटबाट ती हिमतालका बारेमा विस्तृत अध्ययन गरेका थिए ।

जोग्राफिकल इन्फर्मेसन सिस्टम (जीआईएस) र रिमोट सेन्सिङ टेक्नोलोजीमा कार्यरत अध्यापक विष्णु महर्जन बुधबारको घटना हिमताल विस्फोटजन्य बाढी (ग्लासियल लेक आउटब्रस्ट फ्लड–जीएलओएफ)सँग सम्बन्धित भएको ठान्छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हालको घटनालाई निश्चित रूपमा ग्लोफ (हिमताल विस्फोटजन्य बाढी) भन्नुअघि थप वैज्ञानिक अनुसन्धान आवश्यक भए पनि ती हिमनदी आसपासका क्षेत्र तथा भोटेकोसीको माथिल्लो जलाधारमा देखिएको परिवर्तनलाई विशेष निगरानीमा राख्नुपर्ने देखिन्छ ।’

हिमनदीको सतहमाथि बनेको हिमताल, जसलाई सुपरग्लेसियल लेक भनिन्छ, फुट्दा छोटो समयमा ठूलो मात्रामा पानी, ढुंगा, माटो र गेग्रान तल बग्छ । जसको उदाहरण बुधबारको घटना हो ।

भूगर्भविद् तथा हिमताल विशेषज्ञहरूका अनुसार, धेरैजसो हिमतालहरू उचाइमा छन् ।

उचाइका हिमनदीबाट आउने खोलाहरूमा एकदमै ठूलो शक्ति हुन्छ । रसुवामा नेपाल र चीन सीमामा रहेको मितेरी पुलको करिब ४० किलोमिटर माथिबाट निकै बेगसँग ढुंगा, माटो र गेगर सहितको बाढी आएको विभिन्न भिडियोहरूमा देख्न सकिन्छ ।

परराष्ट्र मन्त्री शिशिर खनालले भने भूकम्पले हिमपहिरो झरेर भोटेकोशीमा बाढी आएको प्रारम्भिक सूचना आएको बताए । बुधबार मध्याह्न संसद्मा उनले भने, ‘प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको, भूकम्पले हिम पहिरो झरेको र त्यसका कारण बाढी आएको भन्ने प्रारम्भिक सूचना आएका छन् । तर त्यसलाई थप भेरिफाइ गर्न आवश्यक छ ।’

अमेरिकी जियोलोजिकल सर्वे (यूएसजीएस) का अनुसार नेपाल–चीन सीमा क्षेत्रमा ४.४ म्याग्निच्युडमको भूकम्प गएको थियो । कतिपय विज्ञहरू भने भूकम्पको त्यो धक्कालाई नै यत्रो बाढीको कारक मान्न नसकिने बताउँछन् ।

हिमताल फुटेपछि झर्ने बाढीले वरिपरि भएका ढुङ्गा–माटोहरू पनि सोहोर्दै लैजान्छ । हिमाली क्षेत्रमा खोलाको भिरालोपन ज्यादा धेरै हुने भएकाले ठूलो शक्तिका साथ तल्लो भागमा प्रहार गर्छ । अनि, एकसाथै सबै पानी निस्कने भएकाले त्यसले गर्ने विध्वंशक शक्ति पनि ठूलो हुन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले रसुवा आसपासका क्षेत्रमा खासै भारी पानी परेको थिएन । गत वर्ष रसुवा र दुई वर्षअघि थामे पहिरोको घटना हुँदा पनि त्यो क्षेत्रमा भारी पानी परेको थिएन ।

विशेषज्ञहरूका अनुसार, गत वर्षको घटनापछि रसुवाको माथिल्लो भूभाग अर्थात् चीनको तिब्बतमा आँखाले हेर्दा एकदमै साना देखिने ताल थिए । अनुसन्धानकर्ता थापाले धेरै अध्ययनकर्ताले त्यसलाई उतिसाह्रो जोखिमयुक्त नमानेको बताएका थिए ।

तर, ठूला भनिएका तालहरू मात्रै होइन, साना तालहरू पनि झनै जोखिमयुक्त देखिएका छन् । थापा भन्छन्, ‘तालहरू अलग–अलग प्रकृतिले विस्फोट भए पनि सबैको कारण भनेको जलवायु परिवर्तन नै हो ।’

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?