+
+
Shares

बाढी पीडितको उद्धारमा डाक्टरका सुझाव : घाइते भेटिए के गर्ने ?

जोखिममा परेका परिवारले प्रशासन तथा सुरक्षाकर्मीले दिएको निर्देशन पालना गर्नुपर्छ । बालबालिका, वृद्धवृद्धा, अशक्त तथा बिरामीलाई सुरक्षित स्थानमा सार्दा विशेष प्राथमिकता दिनुपर्छ ।

मनिषा थापा मनिषा थापा
२०८३ भदौ १० गते २२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा बस्ती, सडक, पुल तथा अन्य संरचनामा क्षति पुर्‍याएको छ।
  • डा. श्रीराम तिवारीले उद्धारमा जानुअघि घटनास्थल सुरक्षित छ कि छैन हेर्न र आफ्नो सुरक्षा पहिलो बनाउन आग्रह गर्नुभयो।
  • डा. नविन पौडेल र डा. विपिन नेपालले भाँचिएको अंग नचलाउन, धेरै रगत बगेमा दबाब दिन र घाइतेलाई छिटो स्वास्थ्य संस्थामा पुर्‍याउन सुझाए।

१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोटसहितका नदी आसपासका क्षेत्रमा जनधनको क्षति भइरहेको छ ।

भोटेकोशी तथा त्रिशूली नदीको बहाव बढेपछि बस्ती, सडक, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ । जोखिममा परेकाको उद्धार तथा विस्थापितलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ ।

बाढीका कारण कतिपय मानिस पानीमा डुबेका, बगेका वा भत्किएका संरचनामा पुरिएका हुनसक्छन् । यस्तो अवस्थामा सुरक्षाकर्मी तथा तालिमप्राप्त उद्धार टोली उद्धारमा खटिएका छन् । तर घटनास्थलमा सर्वसाधारणले पनि कसैलाई संकटमा देखेपछि आफ्नै हिसाबले उद्धार गर्न खोज्न सक्छन् ।

यस्तो अवस्थामा सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा हो, उद्धार गर्न जाने व्यक्ति स्वयं सुरक्षित छ कि छैन ? जान्नु आवश्यक हुनजान्छ ।

विशेषज्ञका अनुसार बाढीबाट उद्धार गर्दा हतारमा पानीमा पस्ने, बगिरहेको व्यक्तिलाई तान्न खोज्ने वा घाइतेलाई हातखुट्टा तानेर उठाउनेजस्ता कामले उद्धारकर्तासहित घाइतेको अवस्था झन् गम्भीर बनाउन सक्छ ।

वीर अस्पतालका आकस्मिक कक्षका पूर्वप्रमुख डा. श्रीराम तिवारीका अनुसार उद्धारमा जानुअघि घटनास्थलको जोखिम मूल्यांकन गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ ।

‘अर्कोलाई सहयोग गर्न जानुभन्दा अगाडि आफ्नो सुरक्षा पहिलो कुरा हो । घटनास्थल सुरक्षित छ कि छैन हेर्नुपर्छ । पानीको प्रवाह घटेको छ कि छैन, जमिन भासिने अवस्था छ कि छैन, घर वा संरचना भत्किने अवस्थामा छन् कि छैनन् भन्ने हेरेर मात्रै उद्धारमा जानुपर्छ,’ उनी भन्छन् ।

उनका अनुसार एकजनालाई बचाउन खोज्दा उद्धारकर्ता नै दुर्घटनामा परेमा समस्या झन् बढ्न सक्छ । त्यसैले, पहिले घटनास्थल सुरक्षित बनाउने, त्यसपछि मात्रै उद्धार गर्ने नीति अपनाउनुपर्छ ।

‘बाढीमा फसेको देखेपछि तुरुन्तै पानीमा पस्ने होइन’

बाढीको पानी बाहिरबाट हेर्दा कम गहिरो देखिए पनि पानीको बहाव अझै तीव्र छ, घर वा संरचना भत्किने अवस्थामा छन्, जमिन भासिन सक्छ वा विद्युतको तार पानीमा परेको हुन सक्ने अवस्था छ भने सर्वसाधारणले घटनास्थलमा गएर उद्धार गर्नु हुँदैन ।

सकेसम्म सुरक्षाकर्मी तथा तालिमप्राप्त उद्धार टोलीलाई खबर गर्नुपर्छ ।

डा. तिवारीका अनुसार अहिलेको विपत्तिको अवस्था सामान्य दुर्घटनाभन्दा फरक छ । छोटो समयमा ठूलो क्षेत्र प्रभावित भएकाले उपलब्ध उद्धार तथा स्वास्थ्य टोलीमाथि समेत ठूलो दबाब छ ।

‘अहिलेको विपत्ति छोटो सूचनामा भयावह रूपमा आएको अवस्था छ । स्वास्थ्यकर्मीहरू अस्पतालमा तयारी अवस्थामा छन् । तर सडक र पुलमा समेत क्षति भएकाले घाइतेलाई अस्पतालसम्म ल्याउन समस्या हुनसक्छ,’ उनी भन्छन् ।

‘डुबेको व्यक्तिलाई उद्धार गर्दा आफ्नै सुरक्षा पहिलो’

पानीमा डुबेको व्यक्तिलाई देखेपछि उसको नजिक जानुभन्दा पहिले आफ्नो सुरक्षाबारे सोच्नुपर्छ ।

तालिमप्राप्त गोताखोर वा उद्धार टोली उपलब्ध छ भने उनीहरूलाई नै जिम्मा दिनु सुरक्षित हुन्छ । पानीभित्र गएर उद्धार गर्न आवश्यक पर्ने उपकरण र तालिम नभएका व्यक्तिले यस्तो प्रयास गर्नु हुँदैन ।

तर सुरक्षित स्थानबाट सहयोग गर्न सकिने अवस्था छ भने उद्धार टोलीलाई खबर गर्ने, घटनास्थलको जानकारी दिने र घाइतेलाई अस्पताल पु¥याउने व्यवस्था मिलाउन सहयोग गर्न सकिन्छ ।

निजामति अस्पतालमा कार्यरत नशा तथा हाडजोर्नी रोग विशेषज्ञ कन्सलटेन्ट डा. नविन पौडेलका अनुसार डुबेको व्यक्तिलाई पानीबाट निकालिसकेपछि पनि तत्काल ध्यान दिनुपर्ने धेरै कुरा हुन्छ ।

‘प्राथमिक रूपमा बिरामीको नाडीको चाल छ कि छैन, सास लिन गाह्रो भएको छ कि छैन भन्ने हेर्नुपर्छ । मुखमा केही अड्किएको छ भने निकाल्न सकिन्छ, ’उनी भन्छन्, ‘आफूलाई त्यसबारे तालिम नभएको अवस्थामा जथाभावी उपचार गर्ने वा अनावश्यक रूपमा शरीर चलाउने काम भने गर्नु हुँदैन ।’

हड्डी भाँचिएको शंका भए आफैँ मिलाउन खोज्नु हुँदैन

बाढीमा लडेर, बगेर वा कतै ठोक्किएर हातखुट्टा भाँचिन सक्छ । कतिपय अवस्थामा हड्डी बाहिर निस्किएको पनि हुन सक्छ । यस्तो अवस्थामा त्यसलाई आफैँभित्र धकेल्ने वा तानेर सिधा बनाउने प्रयास गर्न नहुने कन्सल्टेन्ट डा. पौडेल बताउँछन् ।

डा. पौडेलका अनुसार हातखुट्टा भाँचिएको शंका भए घाइतेलाई हिँडाएर वा चोट लागेको अंग चलाएर अस्पताल लैजानु हुँदैन । उपलब्ध सामग्रीको प्रयोग गरेर घाइते अंगलाई स्थिर राखेर सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्छ ।

‘हातखुट्टा भाँचिएको अवस्थामा स्प्लिन्टिङ अर्थात् भाँचिएको हातखुट्टालाई स्थिर राख्न कार्डबोर्ड, पाता वा बोर्डजस्ता उपलब्ध सामग्रीमा हातखुट्टालाई राखेर नचल्ने गरी बाँधेर ल्याउनुपर्छ,’ उनी भन्छन् ।

यसको उद्देश्य हड्डी जोड्नु नभई अस्पतालसम्म लैजाँदा चोट लागेको भाग थप नचलोस् र भित्री क्षति नबढोस् भन्ने हो ।

टाउकोमा चोट लागेको देखे के गर्ने त ?

टाउकोमा चोट लागेको छ, व्यक्ति बेहोस भएको छ, असामान्य व्यवहार गरिरहेको छ वा शरीरको कुनै भाग चलाउन समस्या भइरहेको छ भने उसलाई अनावश्यक रूपमा उठाउनु वा हिँडाउनु हुँदैन ।

डा. पौडेलका अनुसार टाउको तथा घाँटीमा चोटको शंका भए शरीरलाई सकेसम्म सीधा र स्थिर राखेर स्वास्थ्यकर्मी भएको ठाउँमा लैजानुपर्छ ।

‘टाउकोको चोट छ भने सुताएर टाउको नचलाइकन स्वास्थ्य संस्थासम्म लैजानुपर्छ । घाँटीमा चोट लागेको छ, हातखुट्टा चलेको छैन भने बोर्डमा सुताएर एउटै अवस्थामा लैजानुपर्छ, ’उनी भन्छन् ।

घाँटी वा ढाडमा चोट लागेको शंका भए हातखुट्टा तानेर नउठाउने

दुर्घटनामा घाइते भएको मानिसलाई धेरैले हातखुट्टा समातेर तानेर उठाउने वा दुई–तीन जनाले फरक–फरक दिशाबाट तानेर लैजाने गर्छन् । तर मेरुदण्डमा चोट लागेको अवस्थामा यस्तो गर्नु निकै जोखिमपूर्ण हुन सक्छ ।

डा. पौडेलका अनुसार स्पाइनल इन्जुरीको शंका भएको व्यक्तिलाई हातखुट्टा तानेर, झोल्टाएर वा उचालेर लैजानु हुँदैन ।

‘हाम्रो बानी के हुन्छ भने मान्छे देख्यो भने हातखुट्टा तानेर उचाल्ने गर्छौं । तर स्पाइनल इन्जुरीमा त्यसरी लैजानु हुँदैन । त्यसले चोट झन् बढाउन सक्छ, ’उनी भन्छन्, ‘शंका भए सम्भव भएसम्म बोर्ड वा कडा समतल सतहमा शरीरलाई एउटै अवस्थामा राखेर सार्नुपर्छ ।’

बिरामीलाई धेरै रगत बगेको देखिए तत्काल के गर्ने ?

बाढीमा बग्दा वा भत्किएका संरचनामा पर्दा शरीरका विभिन्न भागमा चोट लागेर धेरै रगत बग्न सक्छ । ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा. विपिन नेपालका अनुसार धेरै रगत बगेको अवस्थामा पहिलो प्राथमिकता रक्तस्राव कम गर्नु र बिरामीलाई सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पताल पुर्याउनु हो । घाउमा कपडा वा गज राखेर निरन्तर दबाब दिँदा रक्तस्राव कम गर्न सकिन्छ ।

‘कपडा भिज्दै गएमा त्यसलाई पटक–पटक हटाएर घाउ हेर्नुभन्दा माथिबाट अर्को सफा कपडा थपेर दबाब दिइरहनु उपयुक्त हुन्छ । घाउमा गाडिएको वस्तु छ भने त्यसलाई आफैँ निकाल्नु हुँदैन, ’नेपाल भन्छन् ।

त्यस्तै, चोट लागेको अंगलाई अनावश्यक रूपमा चलाउने वा जथाभावी कस्सेर पट्टी बाँध्ने काम गर्नु हुँदैन । पट्टी बाँध्नुपर्ने अवस्था भए पनि रक्तसञ्चारमा असर नपर्ने गरी स्वास्थ्यकर्मीको सल्लाहअनुसार गर्नुपर्ने डा. नेपाल बताउँछन् ।

घाइतेलाई नजिकको स्वास्थ्य संस्थासम्म पुर्‍याउने

घटनास्थलमै प्राथमिक उपचार गरेपछि घाइतेलाई सकेसम्म छिटो स्वास्थ्यकर्मी भएको ठाउँमा पुर्याउनुपर्छ । तर अहिलेको बाढीमा सडक तथा पुलमा समेत क्षति पुगेकाले एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल ल्याउन कठिन हुन सक्छ ।

डा. तिवारीका अनुसार यस्तो अवस्थामा स्थानीय स्वास्थ्य संस्था, अस्पताल, प्रशासन तथा उद्धार टोलीबीच समन्वय आवश्यक हुन्छ ।

‘अहिले बाटो र पुलहरू बिग्रिएकाले सडकबाट एम्बुलेन्स ल्याउन कठिन हुन सक्छ । कतिपय अवस्थामा हेलिकप्टरमा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ, ’उनी भन्छन् ।

उनका अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रशासनसँग उद्धार र हवाई मार्गको समन्वय गर्नुपर्ने अवस्था हुन सक्छ ।

‘उद्धार’ भनेको पानीबाट निकाल्नु मात्रै होइन

बाढीमा उद्धार भन्नासाथ पानीमा पसेर मानिसलाई तान्ने दृश्य सम्झिन्छौँ । तर चिकित्सकीय दृष्टिले उद्धारको काम त्यतिमै सकिँदैन ।

जोखिममा परेको व्यक्तिलाई सुरक्षित स्थानमा सार्नु, घाइतेको अवस्था बिग्रन नदिनु, रक्तस्राव नियन्त्रण गर्नु, भाँचिएको अंगलाई स्थिर राख्नु, मेरुदण्डमा चोट भए शरीरलाई नचलाउनु र सकेसम्म छिटो स्वास्थ्यकर्मी भएको ठाउँमा पुर्याउनु पनि उद्धारकै महत्वपूर्ण हिस्सा हो ।

अझ महत्वपूर्ण कुरा, उद्धार गर्न जाने व्यक्तिले आफ्नो ज्यान जोखिममा पार्नु नहुने उनी बताउँछन् ।

डा. तिवारी भन्छन्, ‘मानवीय हिसाबले अर्को व्यक्तिलाई बचाउन हामी सबै जान खोज्छौँ । तर जाने मान्छे नै सुरक्षित छैन भने त्यसरी जानु राम्रो होइन । एकजना समस्यामा परेको ठाउँमा अर्को व्यक्ति पनि जोखिममा परेपछि समस्या झन् ठूलो हुन्छ ।’

त्यसैले बाढीको पानीमा फसेको व्यक्ति देखिएमा पहिले सुरक्षित दूरीबाट उद्धार टोलीलाई खबर गर्ने, घटनास्थलको अवस्था बुझ्ने र तालिमप्राप्त टोली आएपछि उनीहरूलाई सहयोग गर्नु नै सुरक्षित उपाय हो ।

अस्पतालहरू पनि तयारी अवस्थामा

बाढीबाट ठूलो संख्यामा घाइते आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अस्पतालहरू आकस्मिक उपचारका लागि तयारी अवस्थामा छन् ।

डा. तिवारीका अनुसार त्रिशूली, रसुवा, काठमाडौंलगायतका क्षेत्रमा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।

तर विपत्तिको क्षेत्र ठूलो भएकाले उद्धारदेखि उपचारसम्मका सबै पक्षमा समन्वय आवश्यक हुन्छ ।

‘अस्पतालमा बिरामी आएपछि गम्भीरताको आधारमा उपचारको प्राथमिकता निर्धारण गरिन्छ । अत्यधिक रक्तस्राव, सास फेर्न कठिनाइ, बेहोस अवस्था, टाउको, छाती वा पेटमा गम्भीर चोट भएका बिरामीलाई तत्काल उपचार आवश्यक चाहिनसक्छ, हामी तयारी अवस्थामै छौं ’उनी भन्छन् ।

अहिलेको अवस्थामा सर्वसाधारणले के सम्झिने ?

बाढीको जोखिम भएका क्षेत्रमा रहेका नागरिकले नदीको बहाव हेर्न वा भिडियो बनाउन जोखिमपूर्ण स्थानमा जानु हुँदैन । पानी घटेको जस्तो देखिए पनि अचानक बहाव बढ्न सक्छ ।

जोखिममा परेका परिवारले प्रशासन तथा सुरक्षाकर्मीले दिएको निर्देशन पालना गर्नुपर्छ । बालबालिका, वृद्धवृद्धा, अशक्त तथा बिरामीलाई सुरक्षित स्थानमा सार्दा विशेष प्राथमिकता दिनुपर्छ ।

कसैलाई घाइते अवस्थामा भेटिएमा पहिले आफ्नो सुरक्षा सुनिश्चित गर्ने, त्यसपछि सास र चेतनाको अवस्था हेर्ने, धेरै रगत बगेको छ भने दबाब दिने, भाँचिएको हातखुट्टालाई स्थिर राख्ने र टाउको, घाँटी वा ढाडमा चोटको शंका भए शरीर नबाङ्गिने गरी स्वास्थ्यकर्मी भएको ठाउँमा पुर्‍याउने गर्नुपर्छ ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?