+
+
Shares

‘अपर त्रिशूली-ए’ आयोजनाका कर्मचारीको उद्धार गर्न पुग्यो सेनाको टोली

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १०:५३

११ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ ।

प्रतिकूल मौसमका कारण बुधबार दुई पटक अवतरणको प्रयास असफल भए पनि बिहीबार हेलिकप्टर आयोजनास्थलमा अवतरण गरेको हो ।

सेनाको टोलीले त्यहाँको वास्तविक अवस्था र बाढीबाट भएको क्षतिको स्थलगत मूल्याङ्कन सुरु गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रभावित क्षेत्रमा रोकिएका कर्मचारीको उद्धार तथा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै काम तीव्र बनाउन निर्देशन दिएका छन् ।

मन्त्रीको निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली फिल्डमा खटिएको छ । टोलीमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितका अधिकारी सहभागी छन् ।

टोलीले आयोजनास्थलको वस्तुस्थिति निरीक्षण, उद्धार समन्वय तथा विद्युत् संरचनाको पुनर्स्थापनाका लागि आवश्यक प्राविधिक मूल्याङ्कन गरिरहेको प्राधिकरणले जनाएको छ ।

यसैबीच, बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेका नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने काम भइरहेको छ। प्राधिकरणले सिन्धुपाल्चोकतर्फबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुद्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिसकेको छ ।

नुवाकोटका अन्य प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाका क्रममा ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी सेवा सञ्चालन गर्न सकिने सम्भावना पहिचान भएको छ। त्यसअनुसार चपली–देवीघाट ६६ केभी र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने तयारी अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?