News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङका २७ तीर्थयात्री र बस चालक बुधबारदेखि भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।
- बाढीअघि चालक छविलाल श्रेष्ठले ‘बाढीले गाडी बगायो, हामी छतमा छौं’ भनेको अन्तिम खबर परिवारले पाएका थिए।
- सालबोटे र गैरी टोलका आफन्तले खोजी तथा उद्धारका लागि पहल गरिरहेका छन्, तर अहिलेसम्म भरपर्दो सूचना आएको छैन।
११ भदौ, धादिङ । रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन भएका छन् । बुधबार बिहानदेखि सम्पर्कविहीन उनीहरूका कारण नीलकण्ठ नगरपालिका–९ को सालबोटे र वडा नम्बर १२ को गैरी टोलमा गहिरो सन्नाटा छाएको छ ।
धादिङबेँसीबाट तीर्थयात्री बोकेर रसुवातर्फ गएको बा ५ ख १२५० नम्बरको बस र चालकसहित यात्रुहरू नुवाकोटको बेत्रावती पुगेपछि सम्पर्कविहीन भएका हुन् । बस नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठले चलाएका थिए ।
पारिवारिक स्रोतका अनुसार बस बुधबार बिहान करिब ९:१५ बजे बेत्रावती पुगेको जानकारी प्राप्त भएको थियो। त्यसपछि तिब्बती क्षेत्रबाट भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण सडक, पुल र सञ्चार सम्पर्क विच्छेद भएपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।
अन्तिम फोन कल : ‘हामी छतमा छौं’
सम्पर्क टुट्नुअघि केही परिवारले पाएको अन्तिम खबरले अहिले आशा र पीडाबीचको अवस्था सिर्जना गरेको छ।
स्थानीय प्रकाश खनालका अनुसार बिहान करिब साढे ९ बजेतिर यात्रामा रहेका प्रकाश लम्सालले फोन गरेर ‘बाढीले गाडी बगायो, हामी घरको छतमा छौं’ भनेका थिए। तर, त्यसको केही समयपछि फोन सम्पर्क पूर्ण रूपमा विच्छेद भयो।
त्यसपछि परिवारका सदस्यले पटकपटक फोन गरे। फोन लागेन। कुनै सन्देश आएन। न त उनीहरू कहाँ छन् भन्ने भरपर्दो सूचना नै आयो।
तीर्थयात्रामा गएका अधिकांश व्यक्ति नीलकण्ठ नगरपालिका–९ र १२ का हुन्। उनीहरूमध्ये धेरैजसो एउटै टोलमा बसोबास गर्ने र एकै परिवारका श्रीमान्–श्रीमती छन्।
एकै ठाउँका यति धेरै मानिस एकैपटक सम्पर्कविहीन भएपछि गाउँमा सामान्य चहलपहलसमेत हराएको छ। सालबोटे र गैरी टोलका घरहरूमा यतिबेला मानिसहरू जम्मा भएर आफन्तको खबर पर्खिरहेका छन्।

कतिपय घरमा घरका सबै सदस्य नै तीर्थयात्रामा गएका छन्। उनीहरू गएपछि थुनिएका घरका ढोकाहरू अहिले पनि खुलेका छैनन्। घरको आँगन सुनसान छ। तर, परिवार र छिमेकीको मनमा भने उनीहरू फर्केर आउने आशा अझै मरेको छैन।
छिमेकीहरूका आँखामा आँसु छ। कसैको हातमा मोबाइल छ, कसैको नजर सडकतिर। हरेक अपरिचित फोनको घण्टीले केही क्षणका लागि आशा जगाउँछ, तर फेरि उस्तै निराशा छाउँछ।
स्थानीय राजाराम शर्माका अनुसार उपलब्ध सबै स्रोत र पहुँच प्रयोग गरेर खोजी तथा उद्धारका लागि पहल भइरहेको छ। ‘भएजति स्रोतसाधन र पहुँच लगाएर खोजतलासका लागि गुहार मागिरहेका छौं। अहिलेसम्म कतैबाट पनि भरपर्दो सूचना आएको छैन,’ उनले भने।

परिवारजनका लागि सबैभन्दा ठूलो पीडा नै अन्तिमपटक आएको त्यो फोन बनेको छ।
‘बाढीले गाडी बगायो, हामी छतमा छौं’ भन्ने खबर पाएपछि आफन्तहरूले उनीहरू सुरक्षित रहेको विश्वास गरेका थिए। तर, केही समयमै सञ्चार सम्पर्क बन्द भएपछि त्यो विश्वास चिन्तामा बदलियो। उनीहरू कुन घरको छतमा छन् ? बाढीले कता पुर्यायो ? उद्धार टोली पुगेको छ कि छैन ? उनीहरू सुरक्षित छन् कि छैनन् ? यी प्रश्नको जवाफ नपाउँदा परिवारजन विक्षिप्त बनेका छन्।
सम्पर्कविहीन तीर्थयात्रीहरू
नीलकण्ठ नगरपालिका–१२
· छविलाल श्रेष्ठ (बस चालक)
· दयाराम लम्साल र सीता लम्साल
· ठाकुर लम्साल र शारदा लम्साल
· प्रकाश लम्साल र इन्दिरा लम्साल
नीलकण्ठ नगरपालिका–९
· राम लम्साल र जानुका लम्साल
· कृष्णप्रसाद खनाल र राधिका खनाल
· रामचन्द्र खनाल र भगवती खनाल
· शिवहरि लम्साल र गायत्री लम्साल
· नारायणप्रसाद लम्साल र सीता लम्साल
· राजन लम्साल र न्याउरी लम्साल
सिद्धलेक गाउँपालिका–१
· हरिप्रसाद सिलवाल र बिन्दा सिलवाल
· घनश्याम भट्ट र कल्पना भट्ट
नीलकण्ठ नगरपालिका–३
· सीता तिवारी
· तुलसी तिमल्सिना र ईश्वरी तिमल्सिना
यसै तीर्थयात्रामा काठमाडौंबाट गएका नीलकण्ठ–९ का गुणनिधि सुवेदी (सीताराम) र उनकी श्रीमती पनि सम्पर्कविहीन भएको परिवारले जनाएको छ। त्यस्तै, छोराबुहारीसहित रामहरि सुवेदी र उनकी श्रीमती गरी परिवारका चारै जना बेपत्ता छन् ।
गोसाइँकुण्डको दर्शन गर्न श्रद्धा बोकेर घरबाट निस्किएका उनीहरू अहिले कहाँ छन् भन्ने कसैलाई थाहा छैन। तीर्थयात्राको उत्साह बोकेर छुटेका घरहरूमा अहिले रुवाबासी छ।
आफन्तहरू खोजी तथा उद्धारको खबरको प्रतीक्षामा छन्। छिमेकीहरू पनि उनीहरूको घरआँगनमै बसेर एकअर्कालाई ढाडस दिइरहेका छन्।
सालबोटे र गैरी टोलको अहिले एउटै प्रार्थना छ- बाढीले सम्पर्कविहीन बनाएका सबै तीर्थयात्री र चालक सकुशल भेटिऊन् र फेरि आफ्नै घरको आँगनमा फर्केर आऊन्।
अहिले उनीहरूका परिवारसँग पर्खनुबाहेक अर्को विकल्प छैन। हरेक बितेको घडी उनीहरूका लागि भारी बनेको छ, तर आशाको सानो दियो अझै निभेको छैन।

प्रतिक्रिया 4