News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार भोटेकोशी र त्रिशूलीमा आएको बाढीपछि रजिना थिङ, सुरज नगरकोटीसहितका आफन्तहरू त्रिवि शिक्षण अस्पतालमा बेपत्ता परिवारका सदस्य खोजिरहेका छन्।
- बाढीपछि ४१ वर्षीय दुर्गा लामा डिमडुङ, ३९ वर्षीय अर्जुन नगरकोटी, ३५ वर्षीय लक्ष्मण श्रेष्ठ, ३१ वर्षीय लालबहादुर पण्डित, ४० वर्षीय सिताराम श्रेष्ठ र २७ वर्षीय देवेन्द्र खड्का सम्पर्कविहीन छन्।
- आफन्तहरूले अस्पतालमा उपचाररत बिरामीको सूची हेर्दै र हराएका व्यक्तिको फोटोसहित विवरण टाँस्दै खोजी जारी राखेका छन्।
१२ भदौ, काठमाडौं । शुक्रबार दिउँसो पोस्टरसहित महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भौतारिरहेकी थिइन्- हेटौंडाकी रजिना थिङ ।
भोटेकोशी र त्रिशूलीमा बुधबार बिहान आएको बाढीमा मामा बेपत्ता भएपछि उनी खोजीमा लागिरहेकी छन् । उनका मामा ४१ वर्षीय दुर्गा लामा डिमडुङले ड्राइभर थिए । बुधबार टिमुरेमा रहेका दुर्गा त्यसपछि कसैको सम्पर्कमा छैनन् ।
खोजीका लागि रजिना मामाको फोटोसहितको पोस्टर प्रिन्ट गरेर अस्पताल चाहारिरहेकी छन् । तर, मामाको अवस्था कस्तो छ ? भन्नेबारे उनले थाहा पाउन सकेकी छैनन् ।
‘अन्तिम लोकेशन टिमुरे बजारको देखाएको छ । त्यसपछि कुनै अत्तोपत्तो छैन,’ उनले अनलाइनखबरसँग भनिन् ।
कागेश्वरी मनोहराका सुरज नगरकोटी पनि दाइकै पर्खाइमा शुक्रबार त्रिवि शिक्षण अस्पतालमा बिताए । उनी दाइलाई भेटाउने आसमा त्रिविसँगै राष्ट्रिय ट्रमा सेन्टर र छाउनी अस्पताल पनि धाइसकेका छन् ।

तर, दाइको कुनै अत्तोपत्तो पाउन सकेका छैनन् । सुरजका दाइ ३९ वर्षीय अर्जुन नगरकोटी गाडी चालक थिए । उनीसँगै ३५ वर्षीय लक्ष्मण श्रेष्ठ पनि बेपत्ता भएका छन् ।
सुरजकाअनुसार दुवै जना गाडी चीन पठाएर टिमुरे होटलमा बसेका थिए । तर, बुधबार बाढी आएपनि भने अर्जुन र लक्ष्मण सम्पर्कविहीन छन् । ‘सबैतिर चालियो कतै केही थाहा पाउन सकिएन,’ मलिन मुद्रामा सुरजले सुनाए ।

बाढीमै हराइरहेका सिन्धुलीका ३१ वर्षीय लालबहादुर पण्डित रसुवाको स्याफ्रुबेंसीमा मिस्त्री काम गर्थे । आफन्त दिपिका मगरकाअनुसार उनी पनि बुधबार बिहानदेखि सम्पर्कमा आउन सकेका छैनन् ।
उनको खोजीमा परिवार लागिरहेको छ । तर, हालसम्म लालबहादुरको बारेमा केही खबर आएको छैन । ‘कतैबाट केही खबर आएको छैन । के गर्ने अन्यौलमा छौं,’ दिपिकाले भनिन् ।

दोलखाका ४० वर्षीय सिताराम श्रेष्ठका ससुरा पनि शुक्रबार दिउँसो हस्याङफस्याङ गर्दै त्रिवि शिक्षण अस्पताल पुगे । अस्पतालमा उपचाररत बिरामीको लिष्टमा उनले आफ्नो ज्वाइको नाम खोजे ।
तर, भेट्टाएनन् । ड्राइभर रहेका सितारामले यात्रु लिएर रसुवा गएका थिए । तर, बाढीसँगै उनी पनि सम्पर्कविहिन छन् । ‘कतै फोटोहरु भेटिन्छ कि भनेर आएको हो,’ सीतारामका ससुराले भने ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ बाह्रबिसेका ढालबहादुर खड्का पनि २७ वर्षीय छोरा देवेन्द्र खड्काको खोजीमा भौतारिरहेका थिए । सामान बोक्ने गाडी चलाउने देवेन्द्र नेपाल–चीन नाकामा सामान लिन गएका थिए । बुबाकाअनुसार उनी सामान लिने लाइनमा थिए । त्यसपछि उनीसँग कुनै सम्पर्क भएको छैन । ‘छोरा सम्पर्कमा नभएको सबैलाई खबर गरेका छौं । तर, कुनै जानकारी आएको छैन,’ उनले भने ।
अस्पताल पुगेका धेरै जना सुरुमा उपचाररत बिरामीको लिष्ट हेर्छन् । आफ्ना मान्छेको नाम खोज्छन् । धेरैले नाम भेट्टाउँदैनन् र सहायता कक्षतर्फ लाग्छन् । त्यहाँ हराएका आफन्तको नामसहितको विवरण टिपाउँछन् र मलिन अनुहारसहित अस्पताल परिसरमा भौतारिरहन्छन् ।

बुधबार यता त्रिवि शिक्षण अस्पतालको दैनिकी यसै गरी नै बितिरहेको छ । पछिल्लो तीन दिन नियमितभन्दा फरक परिदृश्य त्रिवि शिक्षण अस्पतालमा देखिन्छ । बाढीमा बेपत्ता भएको आफ्ना मान्छे भेट्टाउने आसमा धेरै आफन्तहरू त्रिवि शिक्षण अस्पताल पुगिरहेका छन् ।
आफन्त हराइरहेकाहरू अस्पतालमा एम्बुलेन्स आउनेबित्तिकै झुम्मिन पुग्छन् । आफ्ना मान्छे भेटिन्छन् कि भन्ने आसामा उनीहरू त्यसरी नै दैनिकी कटाइरहेका छन् ।
उनीहरूले हराएका मान्छेहरूको फोटोसहितको विवरण अस्पताल परिसरमा टाँसेका छन् । जसले हराएका व्यक्तिहरू भेटिन सहयोग पुग्ने विश्वास उनीहरूको छ ।
प्रतिक्रिया 4