News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीका कारण त्रिशूली करिडोरका जलविद्युत आयोजनामा ८९८ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
- माथिल्लो त्रिशूली १, ३ ए, ३ बी, लाङटाङ र चिलिमेलगायत आयोजनाका सुरुङमा सयौं मानिस फसेका छन्, तर चार दिनसम्म उद्धार सुरू भएको छैन।
- सरकारले शनिबार विदेशी उद्धार टोलीलाई अनुमति दिए पनि समन्वय अभावले चिनियाँ र भारतीय टोलीले फिल्डमा काम सुरू गर्न सकेका छैनन्।
१३ भदौ, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारमा आफैँ खटेको समाचार शुक्रबार सञ्चारमाध्यममा प्रवाह गरे । विपद्को केन्द्रीय कमाण्ड गर्नुपर्ने गृहमन्त्री प्राविधिकहरूले गर्ने काममा अघि सरेर सुरुङमा गए । निकै तदारुकतासाथ आफूले काम गरिरहेको सन्देश प्रवाह गर्न उनी त्यहाँ पुगेका थिए ।
तर, यथार्थमा भने रसुवा बाढीका कारण सुरुङमा फसेका करिब ६ सय मानिसहरूको गम्भीर किसिमको उद्धार प्रयास अझै शुरु हुन सकेको छैन ।
त्रिशूली नदी प्रवाहका विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेका कामदार तथा कर्मचारीहरूको चार दिन बितिसक्दा समेत उद्धार हुन सकेको छैन ।
६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ २१६, मेगावाटको माथिल्लो त्रिशूली–१, २० मेगावाटको लाङटाङ, २२ मेगावाटको चिलिमेलगायत आयोजनाको सुरुङमा सयौंको संख्यामा मानिसहरू फसेका छन् ।
तर, आवश्यक जनशक्ति, विज्ञता, उपकरण र सरकारी तत्परताको अभावमा सुरुङमा फसेका मानिसहरूको अहिलेसम्म पनि उद्धार हुन नसकेको सम्बन्धित आयोजनाहरूले जानकारी दिएका छन् ।
गृहमन्त्री गुरुङ पुगेको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनामा सुरुङ भेट्टाउन सकिन्छ कि भनेर करिब २० फिट खन्नुबाहेक फसेका मानिसहरुको उद्धार नै हुने गरी कुनै पनि विद्युत आयोजनाको सुरुङमा उद्धार अभियान चलाइएको छैन ।

‘सुरुङमा फसेका मानिसको जीवन बचाउन एक-एक मिनेट महत्त्वपूर्ण हुन्छ, तर उद्धारको कामको समन्वय गरिरहेका सरकारी अधिकारीहरूले त्यसको गम्भीरता नै महसुस गरेको देखिएन,’ नेपाल विद्युत प्राधिकरणका एक अधिकारीले बताए ।
सुरुङमा फसेका मानिसलाई बचाउने मनसाय हो भने दुई दिनभित्र उद्धार गरिसक्नुपर्ने जलविद्युत विज्ञ सूर्यप्रसाद अधिकारी बताउँछन् । ‘हाम्रोमा त मन्त्रीहरू हेलिकोप्टर चढ्ने, फोटो खिचाउने तर गम्भीर उद्धारको प्रयास नै नगर्ने देखियो,’ उनले भने ।
नेपालसँग सुरुङबाट उद्धारका लागि चाहिने विज्ञता, उपकरण र प्रविधि केही पनि नभएको महसुस भएको उनले बताए ।
यस्तो अवस्थामा यस काममा विज्ञता भएका तथा प्राविधिक रुपमा सक्षम विदेशी सहयोगीहरुसँग अनुरोध गरेर भए पनि उद्धारलाई प्राथमिकता दिनुपर्नेमा सरकारले त्यसका लागि आउन चाहेका टोलीलाई पनि अनुमति दिएन ।
शनिवार बल्ल सरकारले उद्धारका लागि विदेशी टोलीलाई अनुमति दिने निर्णय गर्यो । सोहीअनुरुप एउटा चिनियाँ र एउटा भारतीय टोली नेपाल पनि आएका छन् ।
तर, सरकारले आवश्यक समन्वय गर्न नसक्दा ती दुवै टोलीले शनिबार पनि फिल्डमा काम थाल्न नसकेको सम्बन्धित अधिकारीहरूले नाम उल्लेख नगर्ने शर्तमा अनलाइनखबरलाई जानकारी दियो ।
सुरुङबाट उद्धारको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले नै कतिसम्म असंवेदनशील सूचना प्रवाह गर्यो भने ६ सदस्यीय चिनियाँ ‘टनेल एक्पर्ट’ को टोलीले माथिल्लो त्रिशूली थ्रीबीमा उद्धार शुरु गरेको प्रचार गरियो ।

जबकी, सो आयोजनामा न त त्यो टोली नै पुगेको थियो, न सो आयोजनामा सुरुङमा मानिसहरू नै फसेका थिए । आयोजनाबाट सम्पर्कविहीन भएका २ सय १ जना सतहमा काम गरिरहेका मानिसहरू रहेको आयोजनाले जानकारी दिएको छ ।
अर्कातिर, माथिल्लो त्रिशूली–१, लाङटाङजस्ता आयोजनाले सुरुङमा फसेका सयौं मानिसको समयमै उद्धारका लागि चार दिनदेखि सरकारलाई अनुरोध गरिरहेको तर हालसम्म पनि सरकारले उद्धारको काम सुरु नगरेको जानकारी दिएका छन् ।
लाङटाङ आयोजनाको सुरुङमा करिब २५ जना मानिसहरू फसेको अनुमान भएपनि हालसम्म सरकारका तर्फबाट त्यहाँ फसेका मानिसहरूको उद्धारका लागि कुनै प्रयास नभएको आयोजना प्रवर्धक विजयमान भट्टराईले जानकारी दिए ।
आयोजनामा ६० जनाले काम गरिरहेकोमा १९ जनाको उद्धार भएको जानकारी उनले दिए । बाहिर रहेका कर्मचारीको उद्धार भएको तर सुरुङमा फसेकाको उद्धार शुरु नै हुन नसकेको उनले बताए ।
‘त्यहाँबाट बाँचेर निस्केका कर्मचारीहरूले पनि सुरुङमा मानिसहरू फसिरहेको बताएकाले उद्धार गरिदिनुपर्यो भनेर मैले पटकपटक सम्बन्धित अधिकारीहरूलाई भनिरहेको छु, तर हालसम्म उद्धारको काम नै शुरु हुन सकेको छैन,’ उनले भने, ‘चार दिन भइसक्यो प्रयास गरेको छु, आज गर्छौं, भोलि गर्छौं भन्छन्, हुन सकेको छैन, म त थाकिसकेँ ।’
त्यस्तै, नेपाल विद्युत प्राधिकरणको त्रिशूली थ्री ए आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारको प्रयास बल्ल दुई पछि थालिए पनि हालसम्म उद्धार हुन सकेको छैन ।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार त्रिशूली थ्री ए परियोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि आवश्यक केही सामग्रीहरू बल्ल शुक्रबार प्रभावित क्षेत्रमा पुगेको थियो । त्यसपछि दुईवटा एक्स्क्याभेटर र अन्य उपकरण प्रयोग गरी सुरुङसम्म छिचाल्न खन्ने काम भइरहेको उनले जानकारी दिए ।

‘आयोजनाको हेडरेस वा टेलरेस टनेल भेटेर भित्र छिर्नु तत्काललाई सम्भव देखिएन । त्यसबाहेक दुईवटा एक्सेस टनेल रहेकोमा ती दुवै पुरिएका छन् । त्यो टनेल पत्ता लगाएर त्यहाँबाट भित्र छिर्ने लक्ष्यका साथ काम शुरु भएको छ, तर अझै पनि खोलिसकेको अवस्था छैन,’ उनले भने ।
यो आयोजनाको विद्युत गृह नै जमिनमुनि छ । सञ्चालनमै रहेको यो आयोजना बन्द गरी समग्र मर्मतसम्भार (ओभरहलिङ)को काम भइरहेको जानकारी तिम्सिनाले दिए ।
‘त्यसो हुँदा त्यहाँ उच्च प्राविधिक जनशक्तिले काम गरिरहेको थियो, ४२ जना कर्मचारीहरू सुरुङभित्र फसेको अनुमान छ,’ तिम्सिनाले जानकारी दिए ।
उनीहरूको उद्धारका लागि नेपाल विद्युत प्राधिकरणले यथाशक्य सबै सामग्री उपलब्ध गराएको, जनशक्ति पनि दिएको र नेपाली सेनाले काम गरिरहेको जानकारी तिम्सिनाले दिए ।
‘सबै सामग्री हेलिकोप्टारबाट लैजानुपर्ने कारणले पनि समस्या भएको छ,’ उनले भने । थप आधुनिक उपकरण लैजाने प्रयास गरिरहेको उनले बताए ।
त्यस्तै, त्रिशूली करिडोरकै निर्माणाधीन सबैभन्दा ठूलो परियोजना अपर त्रिशूली–१ मा समेत उद्धारको काम शुरु नभएको आयोजनाको प्रबर्धक नेपाल वाटर एन्ड इनर्जी कम्पनीका प्रमुख कार्यकारी अधिकारी गिरिराज अधिकारीले जानकारी दिए ।

यो आयोजनामा काम गरिरहेकामध्ये करिब ६ सय मानिसहरू अझै सम्पर्कमा नआएको तथा त्यसमध्ये ४ सय सुरुङमा फसेको हुनसक्ने अनुमान रहेको अधिकारीले बताए ।
तर, सरकारले अहिलेसम्म पनि फसेका मानिसहरूको उद्धारका लागि उपकरण तथा जनशक्ति आयोजनास्थलमा पठाउन सकेको छैन ।
‘आयोजना क्षेत्रमा जमिनमा आफ्नो ज्यान बचाउन सफल मानिसहरुमध्ये २६० को उद्धार भयो, त्यसमध्ये १० जना कोरियाली नागरिक पनि छन्,’ उनले भने, ‘तर, सुरुङभित्र फसकेकाको उद्धार शुरु हुनै सकेको छैन, भोलिबाट काम शुरु होला भन्ने अपेक्षामा छौं ।’
यही आयोजनाको उद्धार कार्यमा सहयोग गर्न भनेर ६ सदस्यीय सुरुङ विज्ञ टोली पनि नेपाल आईपुगेको छ । सो आयोजनाको सिभिल निर्माणको काम चाइना रेलवेले गरिरहेको छ ।सोही निर्माण कम्पनीसँगको समन्वयमा चिनियाँ विज्ञहरू आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी जानकारी दिए ।
यो आयोजनाको सुरुङमा अझै पनि ४ सय मानिस फसिरहेको अनुमान रहेको अधिकारीले जानकारी दिए । ‘तीमध्ये ३ सय सुरुङभित्र काम गरिरहेका र १ सय हेडवर्क्समा काम गरिरहेका मानिसहरू ट्र्यापमा परेको अनुमान छ,’ उनले भने ।
चिनियाँ विज्ञसहितको टोलीले भोलिबाट फिल्ड उद्धारको काम शुरु गर्ने अपेक्षा रहेको उनले बताए ।

उता चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेका ६ जना कर्मचारीको पनि उद्धार हुन नसकेको प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनले जानकारी दिए ।
शनिबार सिम्रिक एअरको हेलिकोप्टरमार्फत माउन्टेनियरिङ रेस्क्यू एक्सपर्ट पठाए पनि उनीहरूले फसेका मानिसहरूको उद्धार गर्न नसकेको उनले बताए ।
‘सुरुङमा १ सय मिटर भित्र गएपछि पूरै थुनिएको देखिएछ, त्यो खोल्न आफूहरुले नसक्ने र विशेष उपकरणसहितको विज्ञ टोली चाहिने जानकारी गराउनुभएको छ,’ महर्जनले भने ।
उद्धारका लागि नेपाल आएको भारतीय टोलीले यस क्षेत्रको रेकी गरेको र भोली सो टोलीलाई उद्धारमा खटाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको जानकारी उनले दिए ।
नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सवास बरालले सुरूङमा फसेकाहरूको उद्धारमा निकै ढिलाइ भइरहेको बताए । ‘नेपालमा सुरूङबाट रेस्क्युको क्षमता, उपकरण र सीप पनि रहेको छ । यदी कुनै साधन थिएन भने छिमेकी देशबाट तत्काल ल्याउन सकिने अवस्था पनि थियो’ उनले भने,’ सु्रुङमा फसेकाको उद्धार चाहिँ पहिले नै गर्नुपर्ने थियो । तर बाहिर जति पहल भयो त्यति भित्र रहेकाहरूलाई उद्धारमा गरिएको छैन ।’
त्यसैबीच, रसुवा बाढीका कारण ११ जलविद्युत आयोजनामा अझै ८९८ जना सम्पर्कविहिन रहेको पाइएको निजी विद्युत उत्पादकहरूको संस्था इप्पानले जनाएको छ ।
सबैभन्दा धेरै माथिल्लो त्रिशूली– १ का ५७६ जना सम्पर्कविहिन छन् । माथिल्लो त्रिशूली ३बी आयोजनाले जारी गरेको विज्ञप्तिअनुसार सो आयोजनाका काम गरिरहेका २ सय १ जना सम्पर्क विहीन छन् ।
आयोजनाको सुरुङमा कोही नफसे पनि सतहमा निर्माणमा खटिएका कामदार, कार्यालय तथा क्याम्पमा रहेका कर्मचारीसमेत गरी त्यो संख्यामा सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ ।
आजसम्म पनि उनीहरूको उद्धारको काम नभएको र भोलिबाट टोली पठाउने तयारी भइरहेको पनि आयोजनाले जनाएको छ ।
रसुवा–भोटेकोशी जलविद्युत आयोजनामा ४ र लाङटाङ खोला जलविद्युत आयोजनाका ४२ जना बेपत्ता छन् । चिलिमेमा ८ र मेलुङ खोला जलविद्युत आयोजनामा ७ जना बेपत्ता रहेको इप्पानले जनाएको छ ।
माथिल्लो त्रिशूली ३ एमा ४२ जना सम्पर्कविहिन छन् । मिडल त्रिशूली गंगामा २, त्रिशूली जलविद्युत आयोजना र देविघाट जलविद्युतका एक-एक जना बेपत्ता रहेको इप्पानले जनाएको छ । माथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ए र ३ बीको सुरुङमा ३ सय जना फसेको समेत इप्पानले जनाएको छ ।
जलविद्युत आयोजनाहरूबाट अहिलेसम्म ३६१ जनाको उद्धार भइसकेको छ । जसमध्ये माथिल्लो त्रिशूली १ बाट २५४ र लाङटाङबाट १८ जनाको उद्धार भएको छ । त्रिशूली ३ बी आयोजनाबाट ९१ जनाको जीवित उद्धार गरिएको छ ।
प्रतिक्रिया 4