+
नेपाली क्रिकेट :

दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य

२०८३ भदौ  १४ गते १७:४३ २०८३ भदौ १४ गते १७:४३

नेपाली टोली प्रिमियर कपको उपाधि जितेर दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्यका साथ मलेसिया पुगेको छ ।

१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्‍याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी पुरुष प्रिमियर कपको नयाँ यात्रामा छ ।

मलेसियामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा फेरिएको नेतृत्व र नयाँ अनुहारका साथ मैदान उत्रिन लागेको नेपालले सोमबार आफ्नो पहिलो खेलमा बहराइनको सामना गर्नेछ ।

सन् २०२३ मा नेपालमै भएको प्रिमियर कपको फाइनल रोमाञ्चक बनेको थियो । वर्षाका कारण पहिलो दिन सम्पन्न हुन नसकेको फाइनल खेल भोलिपल्ट सकिएको थियो जहाँ नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई हराएर उपाधि जितेको थियो ।

उपाधि मात्र नभएर नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो जहाँ नेपालले भारत र पाकिस्तानजस्ता टोलीसँग खेलेको थियो ।

यसपटक पनि नेपाली टोली प्रिमियर कपको उपाधि जितेर दोस्रोपटक एसिया कपमा पुग्ने लक्ष्यका साथ मलेसिया पुगेको छ ।

फेरिएका कप्तान, नयाँ चुनौती

यसपटकको सबैभन्दा ठूलो परिवर्तन कप्तानीमा भएको छ । क्यानले हालै रोहित पौडेललाई एकदिवसीय टोलीको कप्तानीबाट हटाउँदै सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो । त्यससँगै नेपाल नयाँ नेतृत्वमा पहिलो ठूलो प्रतियोगिता खेल्न लागेको हो ।

पूर्वकप्तान पारस खड्का, विनोद दास र राजु खड्कालगायतले पनि नेतृत्व परिवर्तनले नयाँ सोच र रणनीति ल्याउन सक्ने बताए पनि त्यसले मात्र सबै समस्या समाधान नहुने धारणा राख्दै आएका छन् ।

त्यसैले प्रिमियर कप सन्दीपका लागि नेतृत्व परीक्षण र नेपालका लागि नतिजा दुवै हिसाबले महत्वपूर्ण प्रतियोगिता बनेको छ ।

कप्तान सन्दीप लामिछानेले प्रिमियर कपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएका छन् । ‘हाम्रो लक्ष्य भनेकै जित हो । ट्रफी घर लिएर आउन हामी भरपूर प्रयास गर्नेछौं,’ उनले भनेका छन् ।

नेपालले पछिल्लो समय घरभन्दा बाहिर राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । लिग २ मा घरबाहिर लगातार ८ खेल हारेको नेपाललाई उक्त तथ्याङ्क सुधार गर्नु अर्को चुनौतीका रूपमा रहेको छ ।

नेपाली क्रिकेटका पूर्वकप्तान राजु खड्का ब्याटिङ राम्रो गर्न सके प्रिमियर कपमा नतिजा सुध्रने बताउँछन् । ‘अब हाम्रो ब्याटिङ नै राम्रो भइरहेको छैन, ब्याटिङमा नै सुधार आवश्यक छ । बाहिरी कन्डिशनमा राम्रो प्रदर्शन गर्नलाई एक्सपोजर पनि चाहिन्छ’ खड्काले भनेका छन् ।

यस्तो छ तयारी

तस्वीर : क्यान

नेपालले प्रतियोगिताअघि करिब डेढ साताको तयारी भारतमा गरेको थियो । बेंगलुरुमा कर्नाटकको उच्च प्रदर्शन टोलीसँग दुई अभ्यास खेल खेल्दै दुवैमा जित निकालेर नेपालले आत्मविश्वास बढायो ।

त्यसपछि टोली मलेसिया पुगेपछि पनि घरेलु टोलीविरुद्ध दुई अभ्यास खेल खेल्यो । पहिलो खेलमा २३३ रनको लक्ष्य पछ्याउँदा नेपालले दोहोरो शतकीय ओपनिङ साझेदारी बनाएपछि ९ विकेटले खेल जितेको थियो ।

नेपालले दोस्रो खेलमा १७० रन डिफेन्ड गर्दै २७ रनको विजय निकाल्यो । दोस्रो खेलमा ३८–५ को संकटबाट कप्तान रोहित पौडेलको ६१ रन र गुल्शन झाको ४५ रनले नेपाललाई १७० रनसम्म पुर्‍याएको थियो । बलिङमा नेपालले ९४–१ को अवस्थामा रहेको मलेसियालाई १४३ रनमै समेट्दै शानदार पुनरागमन गरेको थियो ।

मलेसियासँग उस्तै किसिमको मौसम मिल्दो हुने भएकाले कर्नाटकमा अभ्यास गरेको नेपालले मलेसिया पुगेर पनि कन्डिशनलाई बुझ्ने अवसर पाएको थियो ।

प्रतिद्वन्द्वीहरू यस्ता

नेपाल समूह ‘ए’ मा बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँछन् ।

नेपालले ५० ओभरको क्रिकेटमा पहिलोपटक बहराइनसँग खेल्दैछ । बहराइन भर्खरै आईसीसी विश्वकप च्यालेन्ज लिग ‘बी’ खेलेर आएको टोली हो । उक्त प्रतियोगितामा उसले सिंगापुर, तान्जानिया र युगान्डामाथि जित निकाल्दै प्रतिस्पर्धात्मक क्षमता देखाएको थियो । अपरिचित प्रतिद्वन्द्वी भएकाले नेपालका लागि यो खेल सावधानीपूर्वक खेल्नुपर्ने हुनेछ।

यस्तै घरेलु टोली मलेसियासँग नेपालको पछिल्लो आधिकारिक भेट सन् २०२३ को एसीसी प्रिमियर कपमै भएको थियो । यसपटक भने मलेसियासँग घरेलु मैदानको फाइदा हुनेछ। नेपालले अभ्यास खेलमा जित निकाले पनि प्रतियोगिताको खेल फरक हुने अपेक्षा गरिएको छ ।

अर्को टोली हङकङ पनि च्यालेन्ज लिग ‘बी’ खेलेर आएको टोली हो । नेपाल र हङकङ ५० ओभरको क्रिकेटमा आठ वर्षपछि आमनेसामने हुन लागेका हुन् । हङकङको टोलीमा अनुभवी खेलाडीहरूको उपस्थिति नेपालका लागि चुनौती बन्न सक्छ ।

अन्शुमन राथ, बाबर हायात र यासिम मुर्तजा जस्ता ब्याटरहरू हङकङका प्रमुख हतियार हुन् ।

साउदी अरेबियासँग नेपालले पछिल्लोपटक ५० ओभरको खेल सन् २०१२ को एसीसी ट्रफी इलिटमा खेलेको थियो, जहाँ नेपाल विजयी भएको थियो । सन् २०२३ को प्रिमियर कपमा दुवै टोलीबीच खेल तय भए पनि वर्षा र भिजेको आउटफिल्डका कारण खेल रद्द भएको थियो ।

यसपटक १४ वर्षपछि हुने प्रतिस्पर्धाले समूह चरणमा थप रोचकता थप्नेछ ।

***

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सनकुमार झा, शेर मल्ल, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा

नेपालको खेलतालिका

अगस्ट ३१ (१५ भदौ) : नेपाल भर्सेस् बहराइन
सेप्टेम्बर ३ (१८ भदौ) : नेपाल भर्सेस् मलेसिया
सेप्टेम्बर ६ (२१ भदौ) : नेपाल भर्सेस् साउदी अरेबिया
सेप्टेम्बर ८ (२३ भदौ) : नेपाल भर्सेस् हङकङ

एसीसी प्रिमियर कप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय