१४ भदौ, काठमाडौं । संविधान सभा सदस्य परिषद् नेपालले नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायसँग अपिल गरेको छ ।
आइतबार प्रेस विज्ञप्ति निकालेर संविधान सभा सदस्य परिषद् नेपालका महासचिव दीपकप्रसाद कुइँकेलले यस्तो आग्रह गरेका हुन् ।
‘विपद प्रभावित नागरिकहरूको खोज, उद्धार राहत तथा पुनर्स्थापना कार्यका लागि सबै राजनितिक पार्टी, भ्रातृ संघ संगठन तथा शुभेच्छुक संघ–संस्था, निजी क्षेत्र, उद्योग व्यवसायी प्रतिष्ठान, वित्तीय संघ–संस्था, मित्र राष्ट्र, अन्तर्राष्ट्रिय समुदाय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
यस कठिन घडीमा विशेष सावधानी अपनाउँदै संयमता र धैर्यका साथ आपसी सहयोगमा जुट्न स्थानीय बासिन्दालाई पनि अनुरोध गरिएको छ ।
यही १० गते बिहान आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लामा जनधनको क्षति भएको छ ।
विनाशकारी बाढीका कारण सयौं नागरिकको ज्यान गएको छ । हजारौं बेपत्ता भएका छन् । हजारौं व्यक्ति घाइते भएका छन् । हजारौं परिवार विस्थापित भएका छन् ।
संविधान सभा सदस्य परिषद नेपालले प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत, सुरक्षित आवास तथा उचित क्षतिपूर्ति सहित पुनर्स्थापनाको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण पनि गरेको छ ।

प्रतिक्रिया 4