News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढी प्रभावित क्षेत्रमा बासना थापाले एकद्वार प्रणालीका कारण महिला र बालबालिकाका विशेष आवश्यकता ओझेलमा पर्न सक्ने बताइन् ।
- सशस्त्र प्रहरीका नेत्रबहादुर कार्कीले विपत्तिमा पहिलो प्राथमिकता जीवन बचाउनु र त्यसपछि महिला, बालबालिका, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिको विशेष आवश्यकता ध्यान दिनुपर्ने बताए ।
- विशेषज्ञहरूले गर्भवती, सुत्केरी, बालबालिका र किशोरीका लागि सुरक्षित उद्धार, स्वास्थ्य परीक्षण, स्यानिटरी प्याड, पोषण, मनोसामाजिक सहयोग र महिलामैत्री आश्रयस्थल आवश्यक रहेको बताए ।
१४ भदौ, काठमाडौं । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का बेला सबैभन्दा पहिलो प्राथमिकता मान्छेको जीवन बचाउनु हो । विपद्को समयमा उद्धारकर्मीले भेटेका व्यक्तिलाई तत्काल सुरक्षित स्थानमा पुर्याउनु नै पहिलो काम हुन्छ ।
तर, सबै मानिसको जोखिम, आवश्यकता र शारीरिक अवस्थालाई एउटै एकै ठाउँमा राखेर उद्धार गर्न सकिँदैन । विशेषगरी महिला, गर्भवती तथा सुत्केरी महिला, शिशु र बालबालिका विपद्का बेला थप जोखिममा हुन्छन् ।
त्यसैले, महिला तथा बालबालिकालाई उद्धार, उपचार, राहत, आश्रय र पुनर्स्थापनाका हरेक चरणमा विशेष प्राथमिकता र संवेदनशील हेरचाह अर्थात् ‘सफ्ट केयर’ आवश्यक हुन्छ ।
नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले बाढी प्रभावित क्षेत्रमा लागु गरिएको ‘एकद्वार प्रणाली’ का कारण महिला र बालबालिकाका विशेष आवश्यकता तथा अधिकारका विषय ओझेलमा पर्न सक्ने बताएकी छिन् ।
रसुवा बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणका क्रममा महिला तथा बालबालिकाको अवस्था निकै कष्टकर देखिएको र विशेषगरी महिलाका लागि आवश्यक स्यानिटरी प्याड तथा हाइजिन किटको अभाव रहेको उनको भनाइ छ ।

केन्द्रबाट पठाइएका सामग्री एकै ठाउँमा थुप्रिएर बसेको तर वास्तविक प्रभावितसम्म नपुगेको उनले बताइन् । यसले राहत सामग्री संकलन र वितरणमा ‘एकद्वार प्रणाली’ मात्र पर्याप्त नभई कसलाई कस्तो सामग्री आवश्यक छ र त्यो सामग्री वास्तविक लाभग्राहीसम्म पुग्यो कि पुगेन भन्ने सुनिश्चितता पनि उत्तिकै आवश्यक रहेको देखाउँछ ।
उद्धारमा पहिलो प्राथमिकता जीवन, त्यसपछि विशेष आवश्यकता
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार विपत्तिका बेला महिला तथा बालबालिकालाई विशेष प्राथमिकता दिँदै उद्धार र व्यवस्थापनको काम भइरहेको छ ।
सम्भव भएसम्म महिलाको उद्धार महिला सुरक्षाकर्मी वा महिला उद्धारकर्मीबाटै गर्ने नीति अपनाइएको डीआईजी कार्कीले बताए । तर बाढीको तीव्र बहाव, जोखिमपूर्ण भौगोलिक अवस्था वा तत्काल उद्धार गर्नुपर्ने परिस्थितिमा यस्तो व्यवस्था सधैं सम्भव हुँदैन । उद्धारकर्मीले सबैभन्दा पहिले जसलाई भेट्छन्, उसको जीवन बचाउनु पहिलो प्राथमिकता हुने भएकाले महिला वा पुरुष भनेर उद्धार नरोकिने उनको भनाइ छ ।

यसको अर्थ महिला र बालबालिकालाई प्राथमिकता दिनु भनेको जोखिममा रहेका पुरुष वा अन्य व्यक्तिलाई बेवास्ता गर्नु होइन । जसको ज्यान तत्काल जोखिममा छ, उसको तत्काल उद्धार गर्नु नै पहिलो दायित्व हो । तर त्यसपछि महिला, बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको विशेष आवश्यकतालाई ध्यान दिनुपर्छ ।
महिलाको गोपनीयता र संवेदनशिलतालाई पनि उद्धारकै क्रममा ध्यान दिनुपर्ने हुन्छ । विशेषगरी घाइते, अर्धचेत अवस्थामा रहेका वा कपडा भिजेका महिलालाई उद्धार गर्दा उनीहरूको मर्यादा र व्यक्तिगत गोपनीयता कायम राख्नु आवश्यक हुन्छ ।
गर्भवती र सुत्केरीको जोखिम अझ बढी
विपद्को अवस्थामा गर्भवती तथा सुत्केरी महिला सबैभन्दा संवेदनशील समूहमा पर्छन् । उनीहरूको अवस्था सामान्य महिलाको भन्दा फरक हुन्छ । किनकि, एउटै जीवन होइन, आमा र गर्भमा रहेको बच्चा दुवैको स्वास्थ्य जोडिएको हुन्छ ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. दीपा चुडालका अनुसार विपत्तिको समयमा गर्भवती तथा सुत्केरी महिलालाई सामान्य जनसंख्याभन्दा बढी प्राथमिकता दिनुपर्छ । उद्धार गरिएका गर्भवतीलाई सकेसम्म चाँडो सुरक्षित स्थानमा पुर्याएर स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ ।
सडक अवरुद्ध भएको अवस्थामा नजिकको स्वास्थ्य संस्था वा आवश्यकताअनुसार हेलिकप्टरबाट समेत सुरक्षित स्थानान्तरण गर्नुपर्ने हुन सक्छ । बाढीको अवस्थामा स्वास्थ्य संस्थासम्म पुग्न ढिलाइ हुँदा सामान्य देखिएको अवस्था पनि गम्भीर बन्न सक्छ ।

गर्भावस्थामा संक्रमणको जोखिमसमेत महत्वपूर्ण हुन्छ । बाढीको फोहोर पानीका कारण हैजा, झाडापखाला लगायत पानीजन्य रोग फैलिन सक्छन् । । त्यसैले गर्भवती र सुत्केरीलाई उमालिएको वा सुरक्षित पानी, पौष्टिक खाना र आवश्यक औषधि आवश्यक हुने डा. चुडालले बताइन् ।
उनले भनिन्, ‘बाढीपछि लामो समय जमेको पानीका कारण लामखुट्टेको प्रकोप बढ्न सक्छ । मलेरिया र डेङ्गुको जोखिमबाट बचाउन झुल तथा आवश्यक कीट प्रतिरोधी सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ । ’
डा. चुडालका अनुसार गर्भवती महिलालाई उद्धार गर्दा चोटपटक नलाग्ने गरी विशेष सावधानी अपनाउनुपर्छ । गर्भावस्थाको प्रारम्भिक चरणमा चोट वा अन्य समस्याले गर्भपातको जोखिम बढाउन सक्छ भने गर्भावस्थाको पछिल्लो चरणमा चोटपटकका कारण आन्तरिक रक्तस्राव, सालनालमा समस्या वा बच्चा खेर जाने जोखिम हुन सक्छ ।
त्यसैले गर्भवती महिलालाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्याउनु मात्र पर्याप्त हुँदैन, उद्धारपछि स्वास्थ्य परीक्षण, पोषण, सरसफाइ, मानसिक सुरक्षा र आवश्यक परे तत्काल प्रसूति सेवासम्म पहुँच सुनिश्चित गर्नुपर्छ ।
महिनावारीलाई पनि ‘आपतकालीन आवश्यकता’ का रूपमा हेर्नुपर्छ
विपद्का बेला राहतमा प्राय: चामल, दाल, पानी, कपडा र औषधिलाई प्राथमिकता दिइन्छ । तर महिलाका लागि स्यानिटरी प्याड, अन्डरवेयर, साबुन, सेनिटाइजर तथा अन्य व्यक्तिगत सरसफाइका सामग्री पनि अत्यावश्यक हुन्छन् ।
महिनावारीका बेला सुरक्षित शौचालय, पानी र प्याडको अभाव हुँदा महिलामा संक्रमणको जोखिम बढ्न सक्छ । राहत सामग्रीको सूची बनाउँदा यी सामग्रीलाई ‘अतिरिक्त’ नभई आधारभूत आवश्यकताका रूपमा समेटिनुपर्ने डा. चुडाल बताउँछिन् ।
विशेषगरी आश्रयस्थलमा रहेका किशोरी र महिलाका लागि सुरक्षित र गोप्य रूपमा प्रयोग गर्न मिल्ने शौचालय, स्नानस्थल तथा महिनावारी व्यवस्थापनको व्यवस्था हुनुपर्छ ।
बालबालिकाको शरीरले विपद्को असर छिटो देखाउँछ
बालरोग विशेषज्ञ डा. बाबुराम कार्कीका अनुसार बाढीमा लामो समय चिसो पानी वा लेदोमा फसेका बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ । वयस्कको तुलनामा बालबालिकाको शरीरमा चिसोको असर छिटो पर्न सक्छ ।
चिसोका कारण शरीरको तापक्रम घट्ने, मुटुको चालमा समस्या आउने, मिर्गौलामा असर पर्ने, निमोनिया तथा शरीरमा मेटाबोलिक समस्या देखिने जोखिम सक्छ । फोहोर पानी मुख र नाकबाट शरीरभित्र प्रवेश गर्दा फोक्सोमा पुगेर ‘एस्पिरेसन निमोनिया’ समेत हुनसक्छ ।

हिलो, ढुंगा वा भवनका अवशेषमा फसेका बालबालिकाको हातखुट्टामा चोट लाग्ने वा हड्डी भाँचिने सम्भावना हुन्छ । बालबालिकाको हड्डी र शरीर वयस्कको तुलनामा संवेदनशील हुने भएकाले उद्धार गर्दा थप चोट नलाग्ने गरी सावधानी अपनाउनुपर्ने डा. पाण्डे बताउँछन् ।
उनी भन्छन् ‘उद्धार गरेलगत्तै बालबालिकाको मुख र नाकमा जमेको पानी तथा फोहोर सफा गर्ने, शरीरलाई चिसोबाट जोगाउने, आवश्यक प्राथमिक उपचार गर्ने र सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था हुनुपर्छ ।’
बालबालिकालाई ‘सफ्ट केयर’ किन ?
बालबालिकाका लागि ‘सफ्ट केयर’ भन्नाले शारीरिक रूपमा कोमल व्यवहार मात्र होइन, उनीहरूको मानसिक अवस्था, डर, सुरक्षा र भावनात्मक आवश्यकतालाई समेत बुझेर उद्धार गर्नु भएको डा. पाण्डे बताउँछन् ।
बाल तथा मानव अधिकारकर्मी गौरी प्रधानका अनुसार उद्धारका क्रममा बालबालिकालाई आश्वस्त पार्ने भाषा प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । उनीहरू डराइरहेको, रोइरहेको वा अभिभावकबाट छुट्टिएको अवस्थामा ‘तिमी सुरक्षित छौ, हामी आएका छौं’ जस्ता आश्वस्त पार्ने शब्दले डर कम गर्न सहयोग गर्छ । हिलो वा खडलमा फसेका बालबालिकालाई हतारमा तान्दा थप चोट लाग्न सक्छ । त्यसैले अवस्था मूल्यांकन गरेर सुरक्षित तरिकाले निकाल्नुपर्छ ।
उद्धारपछि सामान्य भिडमा छोड्नेभन्दा सुरक्षित स्थानमा राखेर स्वास्थ्य परीक्षण, पोषण, मानसिक परामर्श र परिवार खोज्ने काम एकसाथ अगाडि बढाउनुपर्छ ।
अभिभावकबाट छुट्टिएका बालबालिकाको सुरक्षा
विपद्का बेला बालबालिका अभिभावकबाट छुट्टिने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा उनीहरूलाई सामान्य राहत लिने समूहमा मिसाएर राख्नु जोखिमपूर्ण हुनसक्छ ।
सशस्त्र प्रहरीका अनुसार उद्धार गरिएका अभिभावकविहीन वा परिवारबाट छुट्टिएका बालबालिकाको स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखिएको छ । होल्डिङ सेन्टरमा उनीहरूको व्यवस्थापन गरी परिवार खोज्ने कार्य गरिन्छ ।
परिवार तत्काल फेला नपरेमा बालबालिकालाई सुरक्षित संस्थागत व्यवस्थापन गर्नुपर्छ । परिवारसँग पुनर्मिलन नभएसम्म उनीहरूको पहिचान, सुरक्षा र गोपनीयता संरक्षण गर्नु राज्य तथा उद्धार निकायको महत्वपूर्ण जिम्मेवारी हो ।

आश्रयस्थल महिलामैत्री र बालमैत्री हुनुपर्छ
उद्धार गरेर सुरक्षित स्थानमा पुर्याएपछि अर्को चुनौती सुरु हुन्छ अस्थायी आश्रयस्थलमा सुरक्षित जीवन ।
भिडभाड भएका शिविरमा महिला तथा किशोरी यौन हिंसा, दुर्व्यवहार, बेचबिखन वा अन्य जोखिममा पर्न सक्छन् । बालबालिकाका लागि पनि यस्ता स्थानमा सुरक्षा चुनौती हुनसक्छ ।
त्यसैले, सम्भव भएसम्म अस्थायी आश्रयस्थलमा महिलाका लागि सुरक्षित स्थान, पर्याप्त प्रकाश, सुरक्षित शौचालय, स्नानस्थल, महिला स्वास्थ्यकर्मी तथा आवश्यक सुरक्षा व्यवस्था हुनुपर्ने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. चुडाल बताउँछिन् ।
आवश्यकताअनुसार राहत सामग्री
विपदमा सबैलाई एउटै प्रकारको राहत प्याकेज वितरण गर्नु व्यावहारिक नहुने बाल तथा मानव अधिकारकर्मी गौरी प्रधान बताउँछन् । बालबालिका, महिला, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिका आवश्यकता फरक हुन्छन् ।
बालबालिकाका लागि डायपर, पौष्टिक खाना, दूध वा उमेरअनुसार आवश्यक खाद्य सामग्री, कपडा तथा आवश्यक सरसफाइ सामग्री चाहिन सक्छ । महिलाका लागि स्यानिटरी प्याड, हाइजिन किट, अन्डरवेयर तथा व्यक्तिगत सरसफाइका सामग्री आवश्यक हुन्छन् । गर्भवती तथा सुत्केरीका लागि पौष्टिक आहार र स्वास्थ्यसम्बन्धी सामग्री थप आवश्यक पर्छ ।
त्यसैले राहत प्याकेजलाई आवश्यकताअनुसार छुट्याएर स्पष्ट लेबलसहित वितरण गर्दा सामग्री सही व्यक्तिसम्म पुग्न सहज हुने उनले बताए ।
‘एकद्वार प्रणाली’सँगै ‘आवश्यकताअनुसार वितरण’
राहतमा एकद्वार प्रणालीले दोहोरो वितरण, अव्यवस्थित संकलन र स्रोतको दुरुपयोग रोक्न सहयोग गर्छ । तर एकद्वार प्रणालीको अर्थ सबैका लागि एउटै सामग्री एउटै तरिकाले वितरण गर्नु होइन ।
महिला र बालबालिकाका विशेष आवश्यकता पहिचान गर्न लैंगिक तथा उमेरअनुसारको तथ्यांक संकलन, आवश्यकताको मूल्यांकन र वितरणको निगरानी आवश्यक हुन्छ ।
एक ठाउँमा राहत सामग्री थुपारिएर बसेको तर प्रभावितसम्म नपुगेको अवस्था आयो भने प्रणालीको उद्देश्य पूरा हुँदैन । त्यसैले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै सामग्री कहाँ आवश्यक छ, कसले पायो र कसले पाएन भन्ने अनुगमन गर्न विज्ञहरू सुझाउँछन् ।

मानसिक स्वास्थ्य उत्तिकै महत्वपूर्ण
बाढीमा घर बग्नु, आफन्त गुमाउनु, लामो समय पानीमा फस्नु वा आफ्नै आँखाअगाडि विनाश देख्नुले बालबालिका र महिलाका लागि गम्भीर मानसिक आघात हुनसक्छ ।
त्यसैले, उद्धारपछि खाना र औषधि उपलब्ध गराउनुका साथै ट्रमा काउन्सिलिङ र मनोसामाजिक सहयोग आवश्यक हुन्छ । बालबालिकालाई खेल्न, कुरा गर्न र आफ्ना भावना व्यक्त गर्न सुरक्षित वातावरण दिनुपर्ने बालरोग विशेषज्ञ डा. बाबुराम पाण्डे बताउँछन् ।
विशेषगरी, अभिभावक गुमाएका वा परिवारबाट छुट्टिएका बालबालिकालाई निरन्तर मनोसामाजिक सहयोग आवश्यक हुनसक्छ ।
प्राथमिकता दिनु भनेको अरूलाई बेवास्ता गर्नु होइन
विपद्मा महिला तथा बालबालिकालाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा अन्य पीडितको जीवन कम महत्वपूर्ण छ भन्ने होइन । विपद् व्यवस्थापनको मूल सिद्धान्त नै तत्काल जोखिममा रहेको जीवन बचाउनु भएको बाल तथा मानवअधिकारकर्मी प्रधान बताउँछन् ।
तर, महिला, शिशु, बालबालिका, गर्भवती, सुत्केरी तथा अन्य संवेदनशील समूहमा जोखिम थप हुने भएकाले उनीहरूको आवश्यकता पहिचान गरेर विशेष व्यवस्था गर्नु आवश्यक हुने उनले बताए ।
प्राथमिकता भनेको कसैलाई पन्छाउनु होइन; बढी जोखिममा रहेका व्यक्तिलाई थप सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउनु हो ।
बाढीको उद्धारमा एउटा हातले जीवन बचाउँछ भने अर्को हातले त्यो जीवनलाई सुरक्षित राख्ने वातावरण तयार गर्नुपर्छ । महिलालाई सुरक्षित रूपमा उद्धार गर्नु, गर्भवतीलाई समयमै स्वास्थ्य सेवामा पुर्याउनु, बालबालिकालाई चोटबाट जोगाउनु, अभिभावकबाट छुट्टिएकालाई परिवारसँग पुनर्मिलन गराउनु, महिलालाई प्याड र हाइजिन सामग्री उपलब्ध गराउनु तथा आश्रयस्थलमा यौन हिंसा र दुर्व्यवहारबाट जोगाउनु यी सबै उद्धारकै अभिन्न हिस्सा हुन् ।
त्यसैले, विपद्का बेला ‘सबैलाई समान व्यवहार’ भन्दा ‘सबैको आवश्यकता समान हुँदैन’ भन्ने कुरा बुझ्नु आवश्यक छ । महिला र बालबालिकालाई विशेष प्राथमिकता दिनु कुनै सुविधा होइन, उनीहरूको जीवन, स्वास्थ्य, सुरक्षा, मर्यादा र अधिकार संरक्षण गर्ने आधारभूत मानवीय दायित्व हो ।
प्रतिक्रिया 4