+
+
Shares
डा. गोपाल चौधरीसँग वार्ता :

‘कुहिएको शव फ्रिजमा राख्दा पनि सुरक्षित हुन्न’

शव गाड्नु अन्त्येष्टि होइन, पहिचान सुरक्षित राख्ने अस्थायी उपाय हो

कुहिसकेको शव फ्रिजमा राख्दा पनि भित्रभित्रै डिकम्पोजिसनको प्रक्रिया अघि बढिरहन्छ । त्यसैले हाम्रो अहिलेको जस्तो अवस्थामा धेरै शव पहिले नै डिकम्पोज भइसकेका छन् भने सबैलाई फ्रिजमा राख्नु नै उत्तम समाधान हुँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते २०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपद्को बेला ठूलो संख्यामा शव फेला पर्दा शव व्यवस्थापनमा अभिलेखीकरण, डीएनए नमुना सङ्कलन, ट्यागिङ र म्यापिङ अनिवार्य हुने डा. गोपाल चौधरीले बताए ।
  • कुहिन थालेका शवलाई फ्रिजमा राखेर सुरक्षित गर्न नसकिने र वैज्ञानिक रूपमा अस्थायी दफन उपयुक्त हुने उनको भनाइ छ ।
  • शव जलाउँदा पहिचान र आफन्तको धार्मिक–सांस्कृतिक अधिकार गुम्न सक्ने भन्दै अस्थायी दफनलाई स्थायी अन्त्येष्टि नठान्न उनले आग्रह गरे ।

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का बेला खोज तथा उद्धारसँगै मृतकको शव व्यवस्थापन पनि ठूलो चुनौती बन्ने गर्छ । ठूलो संख्यामा शव फेला पर्ने, दुर्गम क्षेत्रमा उद्धारमा ढिलाइ हुने र शव पहिल्यै कुहिन थालेको अवस्थामा त्यसलाई कसरी सुरक्षित राख्ने भन्ने प्रश्न उठ्छ । यही क्रममा शव जलाउने कि अस्थायी रूपमा दफन गर्ने भन्ने विषयमा समेत बहस हुने गरेको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार विपद्को समयमा शव व्यवस्थापन गर्दा भावनात्मक पक्षसँगै वैज्ञानिक, कानुनी र मानवअधिकारका पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।

शवको पहिचान सुरक्षित राख्नु, डीएनए नमुना सङ्कलन गर्नु, शवलाई ट्यागिङ गर्नु, व्यवस्थापन गरिएको स्थानको अभिलेख र म्यापिङ राख्नु तथा पहिचानपछि आफन्तलाई जिम्मा लगाउनु आवश्यक हुन्छ ।

यस्तोमा त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीसँग बाढीमा मृत्यु भएका शव व्यवस्थापन, पहिचान र अस्थायी दफनबारे अनलाइनखबरकी सुमित्रा लुइँटेलले गरेको कुराकानी :

विपद्को समयमा ठूलो संख्यामा शव फेला पर्दा त्यसको व्यवस्थापन कत्तिको चुनौतीपूर्ण हुन्छ ?

विपद्को बेलामा शवलाई सुरक्षित राख्नु एउटा ठूलो चुनौती हो । सबै देशका लागि यो चुनौतीपूर्ण विषय हो । शव नकुहियोस् र सुरक्षित रहोस् भन्नका लागि सामान्य अवस्थामा सबैभन्दा प्रभावकारी उपाय रेफ्रिजरेसन अर्थात् चिसोमा राख्नु हो ।

तर विपद्को समयमा ठूलो संख्यामा मानवीय क्षति हुन सक्छ । त्यस्तो अवस्थामा एकै पटक धेरै शव आउँदा सबै शवलाई फ्रिजमा राख्न सम्भव नहुन सक्छ ।

हाम्रो जस्तो भौगोलिक अवस्था भएको देशमा अर्को चुनौती पनि छ । धेरै ठाउँमा उद्धार टोली पुग्नै कठिन हुन्छ । त्यसैले शव तत्काल निकाल्न नसकिने र शव फेला पर्दासम्म कुहिने प्रक्रिया सुरु भइसकेको हुन सक्छ ।

कुहिन थालेको शवलाई फ्रिजमा राखेपछि सुरक्षित राख्न सकिँदैन ?

फ्रिजले काम गर्ने भनेको शव कुहिन सुरु हुनुभन्दा अगाडि हो । यदि शवलाई समयमै रेफ्रिजरेसनमा राखियो भने त्यसले कुहिने प्रक्रिया रोक्न वा ढिलो गर्न प्रभावकारी भूमिका खेल्छ ।

तर एक पटक शवमा डिकम्पोजिसन अर्थात् कुहिने प्रक्रिया सुरु भइसकेपछि त्यसलाई फ्रिजमा राखेर त्यो प्रक्रिया पूर्ण रूपमा रोक्न सकिँदैन ।

कुहिसकेको शव फ्रिजमा राख्दा पनि भित्रभित्रै डिकम्पोजिसनको प्रक्रिया अघि बढिरहन्छ । त्यसैले हाम्रो अहिलेको जस्तो अवस्थामा धेरै शव पहिले नै डिकम्पोज भइसकेका छन् भने सबैलाई फ्रिजमा राख्नु नै उत्तम समाधान हुँदैन ।

त्यसो भए ठूलो संख्यामा कुहिन थालेका शवको वैज्ञानिक व्यवस्थापन कसरी गर्नुपर्छ ?

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय अभ्यासअनुसार अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गर्ने विधि महत्वपूर्ण हुन्छ । ठूलो संख्यामा शव व्यवस्थापन गर्नुपरेको अवस्थामा शवलाई जथाभावी गाड्ने होइन, वैज्ञानिक प्रक्रिया अपनाएर अस्थायी रूपमा दफन गर्नुपर्छ ।

यसअघि शवसँग सम्बन्धित सबै विवरण अभिलेखीकरण गर्नुपर्छ । शवको पहिचानका सम्भावित आधारहरू र अन्य विवरण रेकर्ड गर्नुपर्छ । डीएनए नमुना सङ्कलन गर्नुपर्छ । त्यसपछि शवलाई ट्यागिङ गर्नुपर्छ ।

कुन शव कहाँ व्यवस्थापन गरिएको हो भन्ने स्पष्ट अभिलेख राख्नुपर्छ । स्थानको म्यापिङ गर्नुपर्छ र आवश्यक परे डिजिटल वा गुगल म्यापिङसमेत गरेर उक्त स्थानलाई सुरक्षित राख्नुपर्छ ।

शवको डीएनए नमुना सङ्कलन गर्नु किन आवश्यक हुन्छ ?

डीएनए पहिचानको महत्त्वपूर्ण आधार हो । विपद्मा शवको अवस्था बिग्रिएको हुन सक्छ । अनुहारबाट पहिचान गर्न नसकिने अवस्था आउनसक्छ । त्यस्तो अवस्थामा डिएनएबाट पहिचान गर्न सकिन्छ ।

त्यसैले शव व्यवस्थापन गर्नुअघि डीएनए नमुना सङ्कलन र प्रोफाइलिङको प्रक्रिया अघि बढाउनुपर्छ । अर्कोतर्फ, हराइरहेका व्यक्तिका आफन्तबाट पनि डीएनए नमुना सङ्कलन गर्नुपर्छ ।

सम्बन्धित प्रहरी वा अनुसन्धान गर्ने निकायले आफन्तहरूको डीएनए नमुना सङ्कलन गर्ने कार्यमा समन्वय गर्नुपर्छ ।

प्रयोगशालामा त्यसको प्रोफाइलिङ गरेर मृतकको नमुनासँग तुलना गर्न सकिन्छ ।

शव गाडिएको स्थानको अभिलेख राख्नु किन आवश्यक हुन्छ ?

शवलाई अस्थायी रूपमा गाडिसकेपछि त्यो शव कहाँ छ भन्ने थाहा हुनुपर्छ । त्यसैले ट्यागिङ र म्यापिङ अत्यन्त महत्वपूर्ण हुन्छ । उदाहरणका लागि एउटा शव चितवनमा र अर्को धुन्चेमा अस्थायी रूपमा व्यवस्थापन गरिएको हुन सक्छ ।

डीएनए परीक्षणबाट कुनै व्यक्तिको पहिचान भयो भने त्यो शव कुन स्थानमा छ भनेर ट्यागका आधारमा पत्ता लगाउन सकिन्छ ।

त्यसपछि सम्बन्धित स्थानबाट शव वा बाँकी अवशेष निकालेर आफन्तलाई जिम्मा लगाउन सकिन्छ । त्यसैले जथाभाव गाड्ने होइन, प्रत्येक शवको छुट्टाछुट्टै अभिलेख र स्थान सुरक्षित राख्नुपर्छ र हालको अवस्थामा त्यसरी नै शवको अभिलेख राखिएको छ ।

अस्थायी रूपमा जमिनमुनि राखेपछि शव कति समयसम्म सुरक्षित रहन्छ ?

जमिनमुनि राख्दा डिकम्पोजिसनको प्रक्रिया केही ढिलो हुन्छ । जमिनमुनि हावा कम हुने र चिसो हुने भएकाले कुहिने प्रक्रिया तुलनात्मक रूपमा कम हुन्छ ।

करिब दुईदेखि तीन महिनासम्म यसरी राख्दा डिकम्पोजिसनको प्रक्रिया ढिलो रहने अवस्था हुन्छ । तर समयसँगै सफ्ट टिस्यु अर्थात् शरीरका नरम भागहरू कुहिँदै जान्छन् । करिब एक वर्षपछि शव अस्थिपञ्जरमा परिवर्तन हुने अवस्था आउन सक्छ ।

त्यसैले अस्थायी दफनको उद्देश्य शवलाई सधैँका लागि सुरक्षित राख्नु होइन । यो पहिचान र आफन्तलाई जिम्मा लगाउने प्रक्रिया पूरा नहुँदासम्मको अस्थायी वैज्ञानिक व्यवस्थापन हो ।

शव पहिल्यै कुहिसकेको अवस्थामा अस्थायी दफन नै किन उपयुक्त हुन्छ ?

एक पटक डिकम्पोजिसन भइसकेको शवलाई चिसो फ्रिजमा राखेर पुरानै अवस्थामा फर्काउन सकिँदैन । त्यसैले यस्तो अवस्थामा अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गर्नु व्यावहारिक र वैज्ञानिक उपाय हो ।

एक वर्षपछि सफ्ट टिस्यु धेरैजसो नष्ट भए पनि हड्डीहरू बाँकी रहन्छन् । पहिचानका लागि आवश्यक अवशेष सुरक्षित राख्न सकिन्छ । त्यसपछि पहिचान भइसकेपछि बाँकी अवशेष आफन्तलाई जिम्मा लगाउन सकिन्छ र उनीहरूले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गर्न सक्छन् ।

कतिपयले शव गाड्नुभन्दा तत्काल जलाइदिए राम्रो हुने तर्क गर्छन् । यसबारे तपाईँको धारणा के छ ?

यो धारणा वैज्ञानिक र मानव अधिकारको दृष्टिले उचित हुँदैन । शव जलाइसकेपछि पहिचान गर्न आवश्यक प्रमाण गुम्न सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा मृतकको पहिचान र आफन्तको अधिकार हो ।

नेपालमा अधिकांश मानिस हिन्दु भए पनि सबै नेपालीको धर्म र संस्कार एउटै छैन । विपद्मा विदेशी नागरिकसमेत हराइरहेका हुन सक्छन् । उनीहरूको पनि आफ्नै धर्म, संस्कार र अन्त्येष्टिको अधिकार हुन्छ ।

त्यसैले एउटा शव कुहिन थालेको छ भनेर तत्काल जलाइदिँदा पछि पहिचान गर्न नसक्ने अवस्था आउन सक्छ । आफन्तले आफ्नो परिवारको सदस्यलाई आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गर्न पाउने अधिकारबाट वञ्चित हुन सक्छन् ।

विदेशी नागरिकको हकमा पनि यही कुरा लागू हुन्छ ?

विदेशी नागरिकको हकमा पनि यही कुरा लागू हुन्छ । किनकी विपद्मा नेपालमा विदेशी नागरिक पनि प्रभावित भएका छन् । सम्बन्धित दूतावासहरूले आफ्ना नागरिक हराएको वा फेला परे/नपरेको जानकारी खोजिरहेका हुन सक्छन् ।

त्यसैले मृतक विदेशी नागरिक भए पनि उनीहरूको अधिकार उत्तिकै महत्त्वपूर्ण हुन्छ । उनीहरूको शव पहिचान गरेर सम्बन्धित परिवार वा देशलाई जिम्मा लगाउने प्रक्रिया पूरा गर्नुपर्छ ।

हामीले ‘यो शव धेरै कुहिसक्यो, गन्हाइरहेको छ, अब जलाइदिऊँ’ भनेर मात्रै निर्णय गर्न मिल्दैन । त्यसो गर्दा अर्को ठूलो मानवीय र कानुनी समस्या सिर्जना हुन सक्छ ।

शवलाई गाड्ने कुराको ठीक होइन भन्ने कुरा आइरहेको छ नि ?

शवलाई जथाभावी गाड्ने होइन । अस्थायी दफन भनेको वैज्ञानिक प्रक्रिया हो । त्यसैले सरकारले अहिले अपनाएको प्रक्रिया पनि वैज्ञानिक नै छ । त्यसमा शवको अभिलेखीकरण, डीएनए नमुना सङ्कलन, ट्यागिङ र स्थानको म्यापिङ भएको छ ।

कुन शव कुन ठाउँमा गाडिएको छ, त्यसको पहिचानका लागि कुन नमुना लिइएको छ र त्यो नमुना कहाँ सुरक्षित छ भन्ने सबै विवरण राखिएको छ । त्यसपछि मात्रै भविष्यमा डीएनए म्याच भएपछि शव निकालेर आफन्तलाई जिम्मा लगाउन सकिन्छ ।

शव व्यवस्थापनमा मानवअधिकारको पक्ष कसरी जोडिन्छ ?

मानवअधिकार भनेको जीवित व्यक्तिको अधिकार मात्र होइन । मानिसलाई सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने अधिकार पनि महत्वपूर्ण हुन्छ ।

कसैको शव पहिचान नगरी, अभिलेख नराखी वा जथाभावी जलाइदिने वा गाडिदिने हो भने परिवारले आफ्नो आफन्तको शव आफ्नो धार्मिक रीतिरिवाजअनुसार अन्त्येष्टि गर्ने अधिकार गुमाउन सक्छ । त्यसैले अस्थायी रूपमा दफन गरेर शवको पहिचान सुरक्षित राख्ने विधिले मृतकको सम्मान र आफन्तको अधिकार दुवै सुरक्षित गर्छ ।

यसरी अस्थायी दफन गर्दा महामारी फैलिने जोखिम हुँदैन ?

डिकम्पोज भइसकेको शवलाई लामो समयसम्म ढुवानी गर्ने, पोस्टमार्टम गर्ने वा विभिन्न ठाउँमा लैजाने क्रममा दुर्गन्ध तथा अन्य स्वास्थ्य जोखिम हुन सक्छ । विपद्को अवस्थामा एउटा समस्या समाधान गर्न खोज्दा अर्को स्वास्थ्य सङ्कट निम्तिन सक्छ ।

त्यसैले ठूलो संख्यामा डिकम्पोज भएका शवलाई सुरक्षित र वैज्ञानिक ढङ्गले अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । पहिचानका लागि आवश्यक नमुना सङ्कलन र अभिलेख राखिसकेपछि डीएनए म्याच भएको अवस्थामा शव वा अवशेष निकालेर आफन्तलाई जिम्मा दिन सकिन्छ ।

नेपालमा यस्तो अभ्यास यसअघि पनि भएको छ ?

यो नेपालका लागि नयाँ अभ्यास होइन । २०७२ सालको भूकम्पका क्रममा पनि यस्तै प्रक्रिया अपनाइएको थियो । त्यति बेला ३२ वटा शवलाई यसरी जमिनमुनि अस्थायी रूपमा व्यवस्थापन गरिएको थियो ।

केही वर्षपछि आफन्तहरूबाट डीएनए नमुना लिएर मृतकको डिएनएसँग म्याच गरिएको थियो । पहिचान भएपछि सम्बन्धित परिवारलाई शव जिम्मा लगाइएको थियो ।

त्यसैले अहिलेको अस्थायी दफनलाई स्थायी अन्त्येष्टि भनेर बुझ्नु हुँदैन । यो पहिचान सुरक्षित राख्ने र पछि परिवारलाई आफ्नो आफन्तको अवशेष जिम्मा लगाउने अस्थायी प्रक्रिया हो ।

अहिले फेला परेका शव व्यवस्थापन गर्दा सबैभन्दा महत्वपूर्ण प्रक्रिया के हुनुपर्छ ?

पहिलो कुरा शवको अभिलेखीकरण हो । फरेन्सिक विशेषज्ञ तथा चिकित्सकले शवसँग सम्बन्धित पहिचानका आधारहरू रेकर्ड गर्नुपर्छ । त्यसपछि डीएनए नमुना सङ्कलन गर्नुपर्छ । त्यसपछि शवलाई स्पष्ट ट्यागिङ गर्नुपर्छ । कहाँ व्यवस्थापन गरिएको हो भन्ने स्थान पहिचान गरी सुरक्षित राख्नुपर्छ । आवश्यक परे म्यापिङ गर्नुपर्छ ।

अर्कोतर्फ हराइरहेका व्यक्तिका आफन्तबाट पनि डीएनए नमुना सङ्कलन गरी प्रयोगशालामा प्रोफाइलिङ गर्नुपर्छ । मृतकको डीएनए र आफन्तको डीएनए म्याच भएपछि सम्बन्धित शव वा अवशेष कहाँ छ भन्ने अभिलेखका आधारमा पत्ता लगाउन सकिन्छ । त्यसपछि उत्खनन गरेर आफन्तलाई जिम्मा लगाउने र उनीहरूको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गर्ने अवसर दिनुपर्छ ।

अन्त्यमा, अहिले भइरहेको अस्थायी शव व्यवस्थापनबारे जनताले के बुझ्न आवश्यक छ ?

अहिले गरिएको व्यवस्थापनलाई स्थायी अन्त्येष्टि भनेर बुझ्नु हुँदैन । यो अस्थायी हो । यसको उद्देश्य शवको पहिचान, अभिलेख र अवशेष सुरक्षित राख्नु हो ।

विपद्को समयमा भावनात्मक दबाब धेरै हुन्छ । तर त्यस्तो अवस्थामा वैज्ञानिक र व्यवस्थित निर्णय गर्नुपर्छ । शवलाई जथाभाबी जलाउने वा गाड्नेभन्दा पहिचानका सबै सम्भावना सुरक्षित राख्नुपर्छ ।

मानिसको जीवन बचाउने अधिकार जति महत्वपूर्ण छ, मृत्यु भएपछि सम्मानपूर्वक अन्त्येष्टि पाउने अधिकार पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले विपद्को समयमा शव व्यवस्थापन गर्दा वैज्ञानिक विधि, फरेन्सिक प्रक्रिया, डीएनए पहिचान, उचित अभिलेखीकरण र मानवअधिकार यी सबै पक्षलाई एकसाथ हेर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?