News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले नेपालका बाढीपीडितका लागि घोषणा गरेको झन्डै ३० करोड रुपैयाँ नगद सहयोग आइतबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरेको छ।
- चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ रेडक्रसको ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
- राजदूत माओमिङले थप ५० टन राहत सामग्री काठमाडौंमा आइपुगेको, उद्धार टोली र ड्रोन ल्याउने काम भइरहेको र चीनतर्फ रोकिएका नेपाली फर्काउने पहल भइरहेको बताए।
१४ भदौ, काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग हस्तान्तरण गरेको छ ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे ।
यसैगरी राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गरे ।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्ति सामना दुवै देशले मिलेर गर्ने बताए ।
नेपालको विपत्तिमा चीन सधैं साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोग पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए ।
आज मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन त्रिपाल, ब्ल्यांकेट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुट जस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ ।
रसुवामा आएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउन पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए ।
त्यस्तै जलविद्युत् कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टर सहित दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप केही दक्ष उद्धार प्राविधिक आज नेपाल आइपुगेको बताए ।
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए ।
नेपाल सरकारका तर्फबाट चीन सरकारको सहायता रकम बुझ्दै अर्थमन्त्री वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
विपत्तिकै कारण दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको भन्दै चीनले भोगेको क्षतिप्रति नेपाल सरकारका तर्फबाट उनले दु:ख व्यक्त गरे ।
अर्थमन्त्री वाग्लेले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र उनीहरूको परिवारजनप्रति समवेदना प्रकट गरे ।
विश्वको बढ्दो तापक्रमको विनाशकारी क्षति हिमालय क्षेत्रका मुलुकहरूले बेहोर्नुपर्ने कारणको सुरुवात भएको भन्दै उनले यसको सामना गर्न नेपाल र चीनबीच हातेमालो जरुरी रहेको बताए ।
यसपालि बाढीका कारण नेपालले बेहोरेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठूलो सहयोगको अपेक्षा गरेको पनि उनले बताए । सहायता हस्तान्तरण कार्यक्रम भएको अर्थमन्त्रीको कार्यकक्षमा अर्थमन्त्री वाग्ले र नेपालका लागि चिनियाँ राजदूत माओमिङनले बाढीका कारण ज्यान गुमाएका दुवै देशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरे ।
प्रतिक्रिया 4