+
+
Shares

रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?

भूमिगत विद्युत गृहभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी र बाढी आउँदा त्यहीं ड्युटीमा रहेका तीन कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि नै प्रश्न उठेको छ । 

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ भदौ १५ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा भोटेकोशी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा कोही नभेटिएको नेपाली सेनाले जनाएको छ ।
  • बाढी आउँदा भूमिगत विद्युत गृहभित्र ड्युटीमा रहेका किशोर न्यौपाने, सन्तोष पौडेल र छिरिङ तामाङ अझै सम्पर्कविहीन छन् ।
  • आयोजनाका अनुसार बाढीपछि ९३ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्, जसमा कम्पनी, ज्यालादारी र निर्माण कम्पनीका कामदार पनि छन् ।

१५ भदौ, काठमाडौं । रसुवा भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि नभेटिएको नेपाली सेनाले जनाएको छ । तर, बाढी आउँदा सुरुङभित्र ड्युटीमा रहेका तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

सुरुङको अन्तिम भागसम्म पुगेर नेपाली सेना, आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको दाबी गरिएको छ । खोजीमा कोही नभेटिएपछि उद्धार टोली धुन्चे फर्किएको छ ।

तर, भूमिगत विद्युत गृहभित्र ड्युटीमा रहेका तीन कर्मचारीको अवस्था भने अझै अज्ञात छ । यसले उनीहरू बाढीका बेला कहाँ गए भन्ने प्रश्न उठेको छ ।

सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी र बाढी आउँदा त्यही भूमिगत विद्युत गृहमा ड्युटीमा रहेका तीन कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि नै प्रश्न उठेको छ ।

आयोजनाका एक अधिकारीका अनुसार बाढी आउँदा भूमिगत विद्युत गृहभित्र तीन जना कर्मचारी ड्युटीमा थिए । प्लान्ट सञ्चालनमै रहेकाले कर्मचारीहरू नियमित सिफ्ट ड्युटीमा खटिएका थिए ।

‘टनेलभित्र तीन जना, बाहिर गरेर जम्मा १४–१५ जना थिए होला,’ ती अधिकारीले भने ।

उनका अनुसार भूमिगत विद्युत गृहभित्र ड्युटीमा रहेका कर्मचारीले प्लान्ट सञ्चालनसँग सम्बन्धित काम हेर्थे । आयोजनामा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म गरी सिफ्टमा कर्मचारी परिचालन हुने गरेका थिए ।

‘प्लान्ट चलिरहेको थियो,नाइट सिफ्टका कर्मचारी ७ बजे गएर त्यहाँ ड्युटी गर्थे बिहान ७ बजेसम्म,’ ती अधिकारीले भने ।

बाढी आउने बेला ड्युटीमा किशोर न्यौपाने (पाल्पा), सन्तोष पौडेल (प्युठान) र छिरिङ तामाङ (रसुवा) थिए । उनीहरूको अवस्था अज्ञात छ । तर, खोजी तथा उद्धार टोलीले कोही फेला नपारेको दाबी गरेको छ ।

बाढी आउँदा भूमिगत विद्युत गृहभित्र रहेका तीन जनासँगै आयोजनाको बाहिरी क्षेत्रमा समेत कर्मचारी तथा श्रमिक कार्यरत थिए । स्विचयार्डतर्फ पनि रातको सिफ्टमा कर्मचारी खटिएका थिए ।

आयोजनाका अनुसार बाढीपछि अहिले ९३ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । तीमध्ये ४९ जना रसुवागढी हाइड्रोपावर कम्पनीका कर्मचारी हुन् । दुई जना ज्यालादारी कर्मचारी छन् ।

निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सिडब्लूईका चार जना र भेनस कन्स्ट्रक्सनका तीन जना पनि सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।

आयोजनाका अधिकारीका अनुसार बाहिरी क्षेत्रमा कार्यरत कर्मचारीमा नाइट सिफ्टमा खटिएका कर्मचारी बाहेक सरसफाइमा खटिएका दुई जना, दुई जना गार्ड, दुई जना कुक र एक जना इन्जिनियर समेत थिए ।

‘टनेलभित्र तीन जनाको ड्युटी थियो, अरू बाहिर स्विचयार्डमा थिए, बाहिर बस्ने अर्का नाइट सिफ्टको कर्मचारी पनि ड्युटीमै थिए,’ ती अधिकारीले भने ।

आइतबारदेखि मात्रै खोजी

बाढी आएलगत्तै आयोजनामा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार तत्काल सुरु हुन सकेको थिएन । शनिबारसम्म उद्धार टोली आयोजनास्थलमा पुग्न सकेको थिएन । आइतबारदेखि मात्रै खोजी सुरु गरिएको थियो ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशंकामा नेपाली सेनाको टोली इन्जिनियर तथा ड्रोनसहित सुरुङभित्र प्रवेश गरेको थियो ।

टोलीले सुरुङको भित्री भागसम्म पुगेर खोजी गरेको थियो । तर, सुरुङको अन्तिम बिन्दुसम्म पुग्दा पनि मानिस फेला नपरेको दाबी गरिएको छ ।

आयोजनाका अधिकारीले पनि नेपाली सेनासँगै आफ्ना इन्जिनियरहरू सुरुङभित्र गएको पुष्टि गरेका छन् । ‘हाम्रै इन्जिनियरहरू पनि जानुभएको थियो, सेना पनि जानुभएको रहेछ,’ उनले भने ।

तर, तीन जना कर्मचारी सुरुङभित्रै ड्युटीमा रहेको अवस्थामा बाढी आएपछि उनीहरूको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सुरुङभित्र विस्तृत खोजी भइसकेको दाबी गरिए पनि उनीहरू सुरुङबाट बाहिर निस्किएको वा अन्यत्र गएको कुनै यकिन विवरण प्राप्त भएको छैन ।

यसअघि आयोजनाको भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चार जना भने दुई दिन लगाएर आफैं बाहिर निस्कन सफल भएका थिए ।

बाढीका कारण डिसेन्डर क्षेत्रमा फसेका उनीहरू कठिन परिस्थितिबीच सुरक्षित स्थानतर्फ निस्कन सफल भएका थिए । उनीहरूलाई नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरेर काठमाडौं ल्याइसकेको छ ।

उनीहरूमध्ये तीन जना भने बाढीको जोखिमबाट बच्न सुरक्षित स्थानतर्फ गएर ज्यान जोगाउन सफल भएका थिए ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?