News Summary
Generated by OK AI. Editorially reviewed.- लियोनेल मेसीले अन्तर्राष्ट्रिय करियर सकिएको घोषणा गर्दै अब फर्कनै नसक्ने गरी अर्जेन्टिनाका लागि खेल्ने यात्रा अन्त्य गरेका छन्।
- सन् २०१६ मा कोपा अमेरिका फाइनलमा चिलीसँग हारेपछि मेसीले सन्यास घोषणा गरेका थिए, तर ४८ दिनमै निर्णय फिर्ता लिएका थिए।
- मेसीले अर्जेन्टिनाका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्, र विश्वकप, दुई कोपा अमेरिका र फिनालिसिमा जिताएका छन्।
सन् २०१६ को त्यो रात अझै पनि फुटबलप्रेमीहरूको मनमा बिझेको तिखो काँडाजस्तै लाग्छ । न्यु जर्सीको मेटलाइफ स्टेडियममा कोपा अमेरिका सेन्टेनारियोको फाइनल टाइब्रेकरमा चिलीसँग पराजित भएपछि नीलो–सेतो जर्सीमा सजिएका एक युवक मैदानमै निहुरिए ।
जिन्दगीले जसलाई फुटबलको पर्याय बनायो, तिनै लियोनेल मेसीका आँसु केवल एउटा हारको निराशा थिएनन्—त्यो त आफ्नै काँधमा थोपरिएको असीमित दबाबको बोझ थियो ।
‘मेरो लागि राष्ट्रिय टोलीको यात्रा यहीँ सकियो,’ खेलपछि भावुक बनेका २९ वर्षीय मेसीले सन्यास घोषणा गर्दा विश्व स्तब्ध भयो । ब्युनोस आयरेसका सडकमा हजारौं समर्थकहरू छाता ओढेर उत्रिए, जो भन्दै थिए— लियो, नजाऊ। साना बालबालिकादेखि देशका राष्ट्रपतिसम्मले उनलाई फर्कन अपिल गरे ।
तिनै मेसीले सन्यास फिर्ताको निर्णय लिए र फेरि यात्रा सुरु गरे, जुन यात्रा विश्वकपको उपाधिसम्म पुग्न सफल भयो ।
विश्वकप उपाधि जिताएको चार वर्षपछि अर्को विश्वकपको पनि फाइनलसम्म पुगेका मेसीले अन्तत: अन्तर्राष्ट्रिय करियर सकिएको घोषणा गरेका छन्, अब फिर्ता नहुने गरी ।
तर यो कथा २०१६ को सन्यासबाट सुरु हुँदैन । त्यो त केवल एउटा मोड थियो । वास्तविक यात्रा सुरु भएको थियो दुई दशकअघि, एक सानो शहर रोसारियोबाट ।

रोसारियोको बालक जसले संसार जित्यो
२४ जुन १९८७ मा अर्जेन्टिनाको रोसारियोमा जन्मिएका लियोनेल एन्द्रेस मेसी सानैदेखि असाधारण प्रतिभाका धनी थिए । पाँच वर्षको उमेरमै स्थानीय क्लब ग्रान्डोलीबाट फुटबल खेल्न थालेका उनले पछि नेवेल्स ओल्ड ब्वाइजको एकेडेमीमा प्रवेश पाए ।
तर ११ वर्षको उमेरमा उनको जीवनमा ठूलो चुनौती आयो । उनलाई ग्रोथ हर्मोन डिफिसेन्सी नामक स्वास्थ्य समस्या देखियो, जसको उपचार अत्यन्त महँगो थियो । परिवारले खर्च धान्न नसकेपछि स्पेनिस क्लब बार्सिलोनाले उपचारको जिम्मा लिँदै उनलाई ला मासिया एकेडेमीमा भित्र्यायो ।
त्यही निर्णयले विश्व फुटबलको इतिहास बदल्यो ।
बार्सिलोनाबाट उदाएका मेसीले किशोर अवस्थामै युरोपलाई चकित पारे । क्लब फुटबलमा लगातार सफलता हासिल गरिरहँदा अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पनि उनको यात्रा सुरु भयो । सन् २००५ मा १८ वर्षको उमेरमा उनले सिनियर टोलीबाट डेब्यु गरे भने २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण पदक दिलाए ।
तर समर्थकको एउटा प्रश्न भने सधैं बाँकी रह्यो— बार्सिलोनाका मेसी र अर्जेन्टिनाका मेसी किन फरक ?

लगातार असफलता र सन्यासको निर्णय
सन् २०१४ विश्वकप ब्राजिलमा मेसी अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए । उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने, तर अतिरिक्त समयमा मारियो गोट्जेको गोलले जर्मनी च्याम्पियन बन्यो ।
त्यसपछि लगातार दुई वर्ष कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजय भयो । २०१५ र २०१६ दुवै पटक पेनाल्टी सुटआउटमा हार बेहोरेपछि आलोचनाको केन्द्र पनि मेसी नै बने । २०१६ को फाइनलमा त उनैको पेनाल्टी प्रहार आकासिएको थियो ।
फाइनलपछि उनले पत्रकार सम्मेलनमा भनेका शब्द इतिहासमै दर्ज भए ।
‘राष्ट्रिय टोली मेरो लागि समाप्त भयो । मैले धेरै प्रयास गरें, तर उपाधि जित्न सकिनँ ।’
त्यो घोषणाले अर्जेन्टिनालाई दु:खित तुल्यायो । लाखौं समर्थकले सामाजिक सञ्जालमा #NoTeVayasLio अभियान चलाए । राष्ट्रपति माउरिसियो म्याक्रीले समेत व्यक्तिगत रूपमा उनलाई निर्णय बदल्न आग्रह गरे ।
केवल ४८ दिनपछि मेसी फर्किए ।
उनले पछि स्वीकार गरेका थिए— ‘भावनामा बगेर निर्णय गरेको थिएँ । त्यो मेरो जीवनकै सबैभन्दा कठिन क्षण थियो ।’

पुनरागमन र कोपा अमेरिकाको मुक्ति
सन्यास फिर्तापछि पनि सफलता तत्काल आएन । २०१८ को विश्वकप निराशाजनक रह्यो, २०१९ को कोपामा फेरि अर्जेन्टिना सेमिफाइनलमै रोकियो ।
तर सन् २०२१ ले सबै परिवर्तन गरिदियो । ब्राजिलको माराकाना रंगशालामा भएको कोपा अमेरिका फाइनलमा अर्जेन्टिनाले आयोजक ब्राजिललाई १–० ले हरायो। एन्जेल डी मारियाको गोल निर्णायक बन्यो ।
मेसी पहिलोपटक सिनियर अन्तर्राष्ट्रिय च्याम्पियन बने ।
माराकानामा ट्रफी चुमिरहेका मेसीका आँसु २०१६ का आँसुभन्दा बिल्कुल फरक थिए । त्यो हारको पीडा होइन, मुक्ति थियो । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।
त्यसपछि २०२२ मा फिनालिसिमामा इटालीलाई हराउँदै अर्जेन्टिनाले आफ्नो प्रभुत्व थप बलियो बनायो ।

२०२२ : जहाँ मेसी अमर बने
कतार विश्वकपअघि एउटा प्रश्न सधैं उठ्थ्यो— के विश्वकप बिना मेसी पूर्ण हुन्छन् ? मेसीले मैदानमै उत्तर दिए ।
साउदी अरेबियासँगको अप्रत्याशित हारपछि धेरैले अर्जेन्टिनाको यात्रा समाप्त भएको ठानेका थिए । तर त्यसपछि मेसीको टोली रोकिने नामै लिएन । मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसियालाई पन्छाउँदै अर्जेन्टिना फाइनल पुग्यो ।
फाइनल विश्वकप इतिहासकै महान् खेलमध्ये एक बन्यो ।
फ्रान्सविरुद्ध मेसीले दुई गोल गरे । विपक्षी टोलीका युवा किलियन एमबाप्पेले ह्याट्रिक गरेपनि फ्रान्स पराजित भयो । अतिरिक्त समयसम्म ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी बन्यो ।
विश्वकप ट्रफी हातमा उठाउँदा ३६ वर्ष लामो प्रतीक्षा समाप्त भयो । त्यो क्षणसँगै मेसीको नाम डिएगो म्याराडोनाको छेउमा होइन, धेरैका लागि फुटबलकै सर्वोच्च शिखरमा पुग्यो ।

अन्तिम विश्वकप, फेरि एकपटक फाइनल
विश्वकप जितेपछि धेरैले मेसी तत्काल सन्यास लिने अनुमान गरेका थिए । तर उनले यात्रा जारी राखे ।
सन् २०२४ मा दोस्रो पटक कोपा अमेरिका जित्दै अर्जेन्टिनालाई लगातार अर्को उपाधि दिलाए । त्यसपछि २०२६ विश्वकपमा पनि कप्तानका रूपमा टोलीको नेतृत्व गरे ।
३९ वर्षको उमेरमा पनि उनले अर्जेन्टिनालाई फेरि विश्वकप फाइनलसम्म पुर्याए । यद्यपी यसपटक स्पेनसँग १–० ले पराजित हुँदै लगातार दोस्रो विश्वकप उपाधि जित्ने सपना भने अधुरै रह्यो ।
फाइनल सकिएको केही सातामा उनले पितालाई गुमाए । स्वास्थ्य समस्यासँग जुधिरहेका मेसीका पिताको निधन भयो ।
त्यसको केही सातामा उनले आफ्नै सन्देश सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय यात्राको अन्त्य घोषणा गरे।
‘म राष्ट्रिय टोलीलाई सधैं माया गर्नेछु । अब म पनि तपाईंहरूमध्ये एक हुनेछु—बाहिरबाट अर्जेन्टिनाका लागि हुटिङ गर्ने’ उनले भनेका छन् ।

संख्याभन्दा ठूलो विरासत
मेसीले अर्जेन्टिनाका लागि २०७ खेल खेले, १२५ गोल गरे र इतिहासकै सर्वाधिक खेल खेल्ने तथा सर्वाधिक गोल गर्ने खेलाडी बने ।
तर उनको वास्तविक विरासत त्यो होइन ।
उनले अर्जेन्टिनालाई विश्वकप, दुई कोपा अमेरिका, फिनालिसिमा र एउटा पुस्तालाई विश्वास दिए- हार अन्तिम सत्य होइन, कहिलेकाहीँ सबैभन्दा ठूलो जित त्यही हारबाट जन्मिन्छ ।
२०१६ मा आँसुसँगै जर्सी फुकालेका मेसी २०२२ मा विश्वकप चुम्दै अमर बने । त्यसैले उनको सन्यास एउटा अन्त्य मात्र होइन, विश्व फुटबलले देखेको सबैभन्दा सुन्दर पुनरागमन कथाको पूर्णविराम हो ।
यदि २०१६ मा मेसीले सन्यास फिर्ता नलिएका भए, सायद फुटबल इतिहासमा एउटा ठूलो ‘यदि’ (ह्वाट इफ?) सधैंका लागि रहिरहने थियो । तर त्यो बाल्यकालको रोग, २०१६ को सन्यास, कतारको स्वर्णिम ट्रफी र २०२६ को अन्तिम विश्वकप यात्राले नै मेसीको कथालाई केवल एउटा खेलाडीको सफलतामा सीमित राखेन—यसलाई धैर्य, सङ्घर्ष र पुनःउत्थानको सबैभन्दा महान् महाकाव्य बनाइदियो ।
प्रतिक्रिया 4