News Summary
Generated by OK AI. Editorially reviewed.- सन्दीप लामिछानेको ५ विकेटसहित नेपालले एसीसी प्रिमियर कपमा बहराइनलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गर्यो।
- मलेसियाको वाइएसडी युकेएम ओभलमा बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भयो, जहाँ सन्दीपले १० ओभरमा १४ रन दिए।
- ८८ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्यो, अर्जुन कुमाल ३६ र रोहित पौडेल १९ रनमा अविजित रहे।
१५ भदौ, काठमाडौं । कप्तान सन्दीप लामिछाने सहित बलरहरूको शानदार प्रदर्शनमा नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा सोमबार दिउँसो सम्पन्न खेलमा नेपालले बहराइनमाथि ७ विकेटको जित हासिल गरेको हो ।
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्यो । अर्जुन कुमाल ३६ तथा रोहित पौडेल १९ रनमा अविजित रहे ।
बहराइनका इमरान जावेदले २ विकेट लिँदा नेपालको अर्को एक विकेट रनआउट मार्फ्त गुम्यो ।
त्यसअघि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो ।
सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए ।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए ।
१४औं ओभरमा सुरुवाती बलिङ थालेका सन्दीपले पहिलो बलमै विकेट लिएका थिए भने चौथो बलमा अर्को विकेट लिए ।
त्यसपछि उनले आफ्नो पाँचौं ओभरमा १ विकेट लिए भने सातौं ओभरमा र आठौं ओभरमा १-१ विकेट लिँदै ५ विकेट पूरा गरे ।
नेपालले दोस्रो खेलमा बिहीबार मलेसियासँग खेल्नेछ ।
प्रतिक्रिया 4