News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीले रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टे बस्तीमा ठूलो क्षति पुर्याउँदा २५७ परिवारमध्ये करिब साढे तीन सय जना सम्पर्कविहीन भएका छन्।
- स्थानीय छेकु लामाका अनुसार सूचना पाएलगत्तै बस्तीमा पुगेर भाग्न भने पनि केही सेकेन्डमै बस्ती सखाप भएको थियो ।
- खाल्टेवासीले ११ वर्षदेखि सुरक्षित ठाउँ माग्दै आएका थिए र पुनःस्थापनाका लागि उनीहरू पटकपटक सिंहदरबार धाउने गरेका थिए।
१५ भदौ, धन्चे (रसुवा) । उत्तरगया गाउँपालिका-५ खाल्टेका छेकु लामालाई बुधबार बिहानको घटना राम्ररी सम्झनामा पनि छैन । सम्झेर सुनाउने पनि कति । ‘के सम्झने के सुनाउने ?,’ उनी थकित र निराश थिए ।
यद्यपि अनलाइनखबरको टोलीसँग उनले सकेसम्म १० भदौमा भएका घटना सुनाए । उनी बोलिरहँदा पीडा र आक्रोश दुवै थियो ।
त्यसदिन उनी सधैं जस्तै मजदुरीमा निस्किएका थिए, पहरेबेसीतिर ।
टिम्बुरेका एक जना साथीले फोन गरेर डरलाग्दो बाढीको सूचना दिए ।
उनको बस्तीमा टेलिफोन राम्रो चल्थेन । कसैसँग फोन सम्पर्क हुन नसकेपछि कुदेर बस्ती पुगे । सबैलाइ भाग्न भने ।
तर, उनको प्रयत्न कतिपनि सफल भएन । ‘एक सेकेन्डमा बस्ती सखाप भयो, दुई सेकेन्डमा बाटोमा हिंडिरहेका मानिस बगे,’ लामा भन्छन् ।
कसैले कसैलाई सहयोग गर्न सक्ने स्थिति रहेन । बस्तीमा बाढी बगेको तस्वीर खिच्न भनेर केही माथिका सडकमा मोबाइल लिएर उभिएका भीड नै थियो । तर निमेषभरमै उभिएकाहरू बगेको उनले देखे ।

२५७ परिवारका साढे तीन सय बगे
भोटेकोशी बाढीले बढी क्षति पुर्याएको रसुवाका बस्तीहरूमध्ये खाल्टे एक हो । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, बगरमा बसेको बस्ती भएकाले धेरै मानवीय क्षति पुगेको बताउँछन् ।
‘बगरमा बसेको बस्ती थियो, बाढीको बहाबले माथिमाथिका बस्ती बगाउँदा उनीहरू जोगिन सक्ने स्थिति रहेन’, उनी भन्छन् ।
बस्तीबाट कति बगे, कति बचे कुनै विवरण संकलन हुन सकेको छैन । प्रहरी नै बगेको छ । गाउँ पालिकाको कार्यालय भवन बग्दा कुनै रेकर्ड बाँकी छैन ।
बाँकी छ भने सम्झना मात्रै । सम्झेरै छेकु लामाले भने, ‘हामी २५७ परिवार बगरमा बस्थ्यौं । साढे तीन सय जति सम्पर्कमा छैनन् जस्तो लाग्छ ।’

आफन्तसँग सोधीखोजी गरेर तथ्याङ्क संकलन भइरहको उनी बताउँछन् । छोटो सूचनाका भरमा ज्यान जोगाएकाहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएकाले राम्रो सूचना पाउन नसकिएको उनले बताए ।
धेरैजसोलाई त्रिशूलीको होल्डिङ सेन्टरमा राखिएको छ । बाँकी रसुवाकै विभिन्न स्थानमा छन् । कति त नातागोताको घर पुगेको स्थानीय बताउँछन् ।
बस्तीका अगुवा लामा, बस्ती जोगाउन सूचना दिनेदेखि उद्धारमा समेत सरकारले राम्रो भूमिका नखेलेको बताउँछन् । उद्धारमा असाध्यै ढिलो भएको उनी बताउँछन् ।
‘मैले सीडीओलाई २१ पटक फोन गरेँ, तर फोन उठेन,’ लामा भन्छन् ।
११ वर्षदेखि बगर छोड्ने संघर्ष
भोटेकोशीको बगरमा जोखिम जानेरै खाल्टे बस्ती बस्नुमा ११ वर्ष अघिको भूकम्प कारण हो । पुरानो हाकु गाविस ८ र ९ अन्तर्गत पर्ने तिरू र गोगने गाउँलाई भूकम्पले बस्न नमिल्नेगरी क्षति गर्यो । भूकम्पबाट ७५ जनाको ज्यान गयो ।
हिमपहिरो र सुक्खा पहिरोका कारण पनि यो क्षेत्रलाई सरकारी अध्ययनले ‘रेड जोन’ घोषणा गर्यो । यसपछि अधिकांश तामाङ समुदाय रहेका गाउँ बासको खोजीमा भोटेकोशी बगरमा बस्न थाले ।
बर्षेनि बाढीले दुःख दिन्थ्यो । उनीहरू यहाँबाट चाँडो सर्न चाहन्थे । यसका निम्ति ठूलै लडाईं लडेपनि ।
‘२०७३ सालदेखि अहिलेसम्म जुनसुकै सरकार आए पनि हामीले सुरक्षित ठाउँ मागिरहेका छौं,’ यो बस्तीका अगुवा छेकु लामा भन्छन्, ‘सिंहदरबारमात्रै १०३ पटक धाइसक्यौं । तर ११ वर्षसम्म हाम्रो समस्या समाधान भएन ।’
सिंहदरबार डेलिगेसन जाँदा हरेक पटक विश्वास दिलाउने काम हुन्थ्यो । तर, उनीहरूको काम नगरी धेरै प्रधानमन्त्री र मन्त्रीहरू फेरिए ।

स्थायी पुनर्थापनाका लागि केही काम पनि भए । तल्लो बैरीबेसीमा ३४ रोपनी ४ आना जग्गा खरिद गरियो । तर, राष्ट्रिय पुन:निर्माण प्राधिकरणको नाममा रहेको उक्त जग्गा बस्तीका सबै परिवारलाई नपुगेकाले काम अगाडि बढेन ।
उनीहरू सरकारी जग्गा भएको बगरमै बस्न बाध्य थिए । जोमध्ये धेरै बगेर बेपत्ता भए ।
स्थानीय शिक्षक प्रकाश नेपाल, भूकम्प पीडितलाई यतिका वर्षसम्म बगरमै राख्नु सरकारको ठूलो गल्ती भएको बताउँछन् । ‘भूकम्पपछि विस्थापित भएका बस्तीलाई खोला किनारमै लगेर बसोबास गराइएको थियो,’ उनी भन्छन्, ‘त्यही कारणले यसपटक ठूलो मानवीय क्षति भयो ।’
हरेक परिवारबाट हराए
बस्ती पुनर्थापना अभियानका संयोजक छेकु लामा, बस्तीका सबै परिवारले सदस्य गुमाएको अनुमान गर्छन् । उनकै परिवारबाट पनि दिदी, भान्जा, बुवा, आमा तथा दाजुसहित परिवारका ९ सदस्यीय बेपत्ता छन् । २०७२ सालको भूकम्पमा पनि परिवारकी एक भाउजु कृष्णमाया तामाङलाई गुमाएका थिए ।
‘अहिले मसँग श्रीमती र दुई बच्चा मात्रै बाँकी छन्,’ उनी भन्छन्, ‘बाँकी सबै टुहुरा भएका छन् ।’ व्यक्तिगत पीडाबीच पनि उनी बस्तीका अन्य परिवारको विवरण संकलन र समन्वयमा जुटिरहेका छन् ।
बस्तीका १ हजार २०० जनसंख्यामध्ये अधिकांश तामाङ समुदायका थिए । उनीहरू ज्यालादारी मजदुरी, बाख्रापालन, अधियाँ खेती र पर्यटन उनीहरूको मुख्य जीविकोपार्जन थियो ।

पर्यटन क्षेत्रमा काम गर्ने करिब सय जनामध्ये ७० जनासँग अहिले सम्पर्क हुन नसकेको लामाले बताए । तीमध्ये आफ्नै भान्जा र ज्वाइँहरू पनि रहेको उनले बताए । तर, उनीहरूको औपचारिक मृत्यु पुष्टि भने भइसकेको छैन । बस्तीका बालबालिका बोगेडार, उत्तरगया बोर्डिङ, ट्रिनिटी र रामचन्द्र लगायत विद्यालयमा पढ्थे । बाढीपछि तलतिर लगिएका कतिपय बालबालिकाको अवस्थाबारे पनि अझै जानकारी नआएको उनले बताए ।
भेटिएका शव पनि बगे
बाढीको भोलिपल्ट नै खाल्टेबासीले केही शव भेटेका थिए । अन्त्येष्टिका निम्ति प्रशासनलाई आग्रह गरिएको थियो । स्थानीयका अनुसार पहिचान भएका ८ जनाको शव भेटिएको थियो । तर, प्रहरीबाट मुचुल्का नउठाई दाहसंस्कार गर्न नमिल्ने अडान सेनाले लियो ।
मुचुल्का उठाउने प्रहरी भएन । मुचुल्का पर्खंदापर्खंदै २ दुईवटा बाहेक अरू शव पनि बाढीले बगायो । ‘हिजो मात्रै प्रहरीले शव उठाउने प्रक्रिया थालेको थियो,’ लामा भन्छन्, ‘तर प्लास्टिकमा प्याक गरिएका शव आजको बाढीले फेरि बगाइदियो ।’
सुरक्षित ठाउँको खोजी
११ वर्षअघि भूकम्पले घरबाट विस्थापित भएका खाल्टेवासीले अहिले बाढीले फेरि घर, आफन्त र भविष्य गुमाएका छन् । त्यसैले अब सरकारले राहत मात्रै होइन, सुरक्षित भूगोलमा स्थायी पुनःस्थापनाको ग्यारेन्टी गर्नुपर्ने लामाको माग छ ।
‘हामी यही माटोमा जन्मेका नेपाली नागरिक हौं,’ उनी भन्छन्, ‘विदेशी शरणार्थीले समेत सुरक्षा पाउँदा हामीले ११ वर्षसम्म जोखिमपूर्ण ठाउँमा बस्नुपर्ने अवस्था आउनु राज्यको कमजोरी हो ।’
तस्वीर : कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4