News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल–चीन सीमा क्षेत्रमा बाढीपहिरोपछि प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच मंगलबार करिब १० मिनेट टेलिफोन वार्ता भयो।
- ताकाइचीले गत अगस्ट २६ को बाढीपहिरोमा ज्यान गुमाउनेप्रति समवेदना जनाउँदै सम्पर्कविहीन ५ जापानी नागरिकको खोजी र उद्धारमा सहयोग गर्न आग्रह गरिन्।
- उनले त्रिपाल र ब्ल्याङ्केटलगायत राहत सामग्री छिट्टै नेपाल पठाइने र अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोली पठाउने तयारी भइरहेको बताइन्।
- शाहले क्षतिको विवरण र उद्धार–राहत प्रयासबारे जानकारी दिँदै जापानी सरकार र जनताप्रति कृतज्ञता व्यक्त गरे।
१६ भदौ, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोको विषयलाई लिएर नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ।
मंगलबार दिउँसो करिब उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ।
समवेदना र बेपत्ता नागरिकको खोजीमा चासो
वार्ताको सुरुमै जापानी प्रधानमन्त्री ताकाइचीले गत अगस्ट २६ मा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै शोकाकुल परिवार र प्रभावितहरूप्रति सहानुभूति व्यक्त गरेकी थिइन्।
प्राकृतिक विपद्को उच्च जोखिममा रहेका दुवै देशको अवस्थालाई स्मरण गर्दै उनले यस सङ्कटको घडीमा लामो समयदेखिको मित्रराष्ट्र नेपालको साथमा जापान दृढतापूर्वक उभिएको बताइन्। सो अवसरमा प्रधानमन्त्री ताकाइचीले हाल सम्पर्कविहीन रहेका ५ जना जापानी नागरिकको तत्काल खोजी र उद्धार कार्यमा अधिकतम सहयोग गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरेकी छन्।
राहत सामग्री र आपत्कालीन टोली पठाइँदै
नेपालका लागि घोषणा गरिएका त्रिपाल र ब्ल्याङ्केटलगायतका आपत्कालीन राहत सामग्रीहरू छिट्टै नेपाल आइपुग्ने जानकारी प्रधानमन्त्री ताकाइचीले गराएकी छन्।
यसका साथै, अन्तर्राष्ट्रिय संघसंस्थाहरूमार्फत थप सहयोग उपलब्ध गराउने र जापानबाट एउटा अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोली पठाउने तयारी भइरहेको उनले बताएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहद्वारा कृतज्ञता व्यक्त
जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद्बाट भएको क्षतिको यथार्थ विवरण र नेपाल सरकारले गरिरहेको उद्धार तथा राहत प्रयासबारे जापानी समकक्षीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री शाहले जापानी सरकार र जापानी जनताले देखाएको सहानुभूति, सहयोग र ऐक्यबद्धताप्रति गहिरो कृतज्ञता व्यक्त गरेको जापानी परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया 4