News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाइन् ।
- उनले उद्धार र राहतमा सरकार प्रभावकारी समन्वय गर्न नसकेको र मन्त्रीहरू सामाजिक सञ्जालमा प्रचारमा व्यस्त रहेको बताइन् ।
- झाँक्रीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती प्रशासनको कामप्रति प्रशंसा गर्दै विपद् पूर्वतयारी थप गर्नुपर्नेमा जोड दिइन् ।
१६ भदौ, काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाएकी छिन् ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको आरोप पनि लगाइन् ।
सरकारका मन्त्रीहरू सामाजिक सञ्जालमा प्रचार गर्नमा व्यस्त भएपनि विपद् प्रभावित नागरिकले सरकार आफूसँगै रहेको आभास गर्न नसकेको उनको भनाइ छ ।
‘सोसियल मिडियामा भयंकर भिजिबिलिटी छ । सोसियल मिडियाको अल्गोरिदमहरू चुनाव जस्तै हाइपमा छ । तर यो सरकारको समर्थकहरू, यसका कार्यकर्ताहरू, यसका नेताहरूले के लेख्दै छन् । सोसियल मिडियामा के म्यासेज दिइरा छन्,’ उनले थप भनिन्, ‘त्यसले सरकारले कति प्रभावकारी काम गरिरहेको छ भनेर देखिन्छ नि । कोही सांसदहरूलाई बोकेको फोटो हाल्नुभएको छ, कोही सांसदहरू हेलिकप्टर चढेको सेल्फीको फोटो हाल्नुभएको छ, मन्त्रीहरूले त अर्काको फोटोलाई पनि टनेल भित्र छिरेको भन्दै तानिरहनुभएको छ । अरू के नै गर्नुभएको छ र ?’
यो विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती प्रशासनले गरेको कामप्रति प्रसंशायोग्य रहेको समेत बताइन् ।
झाँक्रीले जलवायु परिवर्तनका कारण आगामी दिनमा पनि अनावृष्टि, अतिवृष्टि, खडेरीलगायतका विपद् दोहोरिन सक्ने भन्दै सरकार र नागरिकले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको लागि थप तयारी गर्नुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया 4