१७ भदौ, लन्डन । रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ ।
मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो ।
स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।
स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा घाइतेहरूको उपचारमा सम्पूर्ण साधनस्रोत लगाइरहेको जानकारी दिए ।
उनले ब्रिटिश राजपरिवार, प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, मेयरहरूलगायत समाजसेवी तथा व्यवसायीहरूबाट ऐक्यबद्धता र सहयोगको सन्देश प्राप्त भएको जानकारी दिए ।
कार्यवाहक राजदूत दुवाडीले बेलायतस्थित नेपाली समुदायले बाढी पीडितहरूलाई मन खोलेर सहयोग गरिरहेको भन्दै प्रशंसा पनि गरे ।
मानवीय सहयोगका लागि प्रदान गरिएको रकम दुरुपयोग हुन नपाओस् र उठेको रकम पीडितसम्म पुगोस् भन्नेबारे सजग रहन पनि उनले आग्रह गरे ।
प्रधानमन्त्री राहत कोषमा गएर सहयोग प्रदान गर्न सकिने भन्दै यसबारे थप जानकारी दूतावासको वेबसाइटमा अद्यावधिक गरिएको उनले बताए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले एनएचएसमा कार्यरत आफ्नी दिदी शारदा सिम्खडा बेपत्ता भएको जानकारी दिँदै दिदी फर्केर आउनेमा आशा व्यक्त गरे । उनले एनआरएनएले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिरहेको जनाउँदै सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरे ।
एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीहरुले कुनै अपराध नगरेता पनि जलवायु परिवर्तनका कारण धनजनको ठूलो क्षति बेहोरीरहेको भन्दै नेपालले क्षतिपूर्ति माग्नुपर्ने बताए । उनले दुखमा एक आपसमा सहयोग गर्ने नेपाली परम्परा रहेको भन्दै पीडित नेपालीहरुको दुखमा मल्हम लगाउन आग्रह गरे ।
नेप्लिज डक्टर्स एसोसियसन युकेकी अध्यक्ष डा आरती थापाले एसोसियसनले १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको भन्दै सहयोग संकलन जारी रहेको बताइन् ।
उनले बेलायतमा कार्यरत नेपाली चिकित्सकहरू मुलुकलाई आवश्यक सहयोग गर्न तयार रहेको भन्दै ‘जलवायु न्याय’ का लागि पनि आवाज उठाउनु पर्ने बताइन् ।
नेप्लिज नर्सिङ एसोसियसन यूकेकी अध्यक्ष रश्मिता दर्लामीले एक जना नर्सिङ सहकर्मी बाढीमा परी बेपत्ता हुँदा आफुहरु सबै दुखित रहेको भन्दै नर्स शारदा सिम्खडा सकुशल फर्किउन् भनी आफुहरूले प्रार्थना गरिरहेको बताइन् । बाढी पीडितहरूको पीडामा मल्हम लगाउन नेपाली नर्सहरू तयार रहेको पनि उनले बताइन् ।
प्रतिक्रिया 4