News Summary
Generated by OK AI. Editorially reviewed.- १० भदौको बाढीले त्रिशूलीका पुल बगाएपछि टुटेको वारिपारि आवतजावत मंगलबार तुइन जडानपछि केही सहज भएको छ।
- विदुर नगरपालिका वडा १ र ९ को सिमानामा तुइन सञ्चालन हुँदा स्थानीयले ताली बजाएर स्वागत गरे र औषधि तथा यात्रु ओसारपसार गरे।
- बाढीले रसुवा, नुवाकोट र धादिङका धेरै ठाउँमा ३५ पक्की पुल बगाएपछि सञ्चार, बिजुली, खाद्यान्न र स्वास्थ्योपचार प्रभावित भएका छन्।
१७ भदौ, नुवाकोट (त्रिशूली) । १० भदौमा आएको विनाशकारी बाढीले एक सातादेखि त्रिशूली वारिवारिको सम्बन्ध टुटेको थियो । वारिका वारि, पारिका पारि रोकिएका थिए । आफन्तसँग भेट हुन पाएको थिएन । खोजखबरसमेत थिएन । तर मंगलबार तुइन जडान गरिएपछि स्थानीयलाई थोरै राहत दियो ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ र ९ को सिमानाको त्रिशूली नदीमा तुइन जोडेपछि स्थानीय खुसी मात्र भएनन्, ताली बजाएर तुइनको स्वागत गरे । ‘वारिपारि गर्न सहज होस् भनेर हो । एक सातादेखि यताउता गर्न पाएका थिएनौं,’ तुइनको लठ्ठा तान्न आएका स्थानीय रामबहादुर अधिकारीले भने ।
पारिबाट पहिलो लटमा तुइनमार्फत अत्यावश्यक औषधि ल्याइयो । ‘तीन बक्सा औषधि आयो,’ स्थानीयले ताली बजाए । जहाँ तुइन झुन्ड्याइको थियो त्यसैको मुनि झोलुङ्गे पुल थियो । तर बाढीले पुल बगाएपिछि स्थानीय समस्यामा परेका थिए ।
‘एक दुई जना गरी ल्याउनुपर्छ । तुइन ओझेलमा परेको थियो । बाउबाजेको पालमा फर्किनुपर्यो,’ अधिकारीले भने, ‘अहिले बाध्यता पर्यो । यसैमा पनि खुसी हुनुपरेको छ ।’ १० गतेअघि धेरै सहज थियो । तर अहिले दुर्गम गाउँ जस्तो भएको महसुस स्थानीयले गरेका छन् ।
‘खाद्यन्न पारिबाट ल्याउनुपर्छ । मर्ने त मरेर गए बाँच्नेलाई थप गाह्रो भएको छ । बजार भाउ बढेको छ,’ स्थानीय राजु पण्डितले भने, ‘तुइन सानो छ । यसले कति बोक्छ र । ठूलो तुइन राख्नुपर्ने हो ।’
तुइन सानो भए पनि बाढीमा फसेकालाई उद्धार गर्न राहत मिलेको छ । वारिपारि दुवैतर्फ लठ्ठा तान्न मान्छे चाहिन्छ ।
‘अहिलेको अवस्था नै यस्तै छ । मान्छे आवतजावत गर्नु पर्नेछ । औषधि ल्याउनुपर्छ,’ स्थानीय नारयाणप्रसाद भट्टले भने, ‘पुरानै जमनामा जानुपर्ने अवस्था आयो ।’ उनका अनुसार यो तुइन सरकारको सहयोगमा बनाइएको हो । तुइन सञ्चालनमा आएसँगै बाढीबाट फसेकाहरू तुइनमा लाइन लाग्न आइपुगे ।

स्थानीयले पनि पहिलो प्राथमिकता बाढीमा फसेकालाई दिएका छन् । कामको सिलसिलामा सुर्खेतका सूर्य सुनुवार नुवाकोट आएका थिए । बाढीले पारि जान सकेका थिएनन् ।
‘बाढीले कामकाज रोकियो । सुर्खेत घर जान लागेको थिएँ । तुइन चलेको खबर आएपछि आएको हुँ,’ उनले भने, ‘पारिबाट काठमाडौं जाने त्यसपछि घर जाने योजना छ ।’
सुर्खेतकै विक्रान्त राना पनि तुइनमा पालो कुरेर बसेका थिए । ‘काम रोकियो । ठेकदारले जानु भनेपछि हिँडेको तर पारि जान सकिएको थिएन । तुइनमा पालो कुरेर बसेको छु,’ उनले भने ।
तुइन चलेपछि जोखिम उत्तिकै छ । बाढीले क्षति भएको गुम्बामा टेको दिएर तुइन सञ्चालन गरिएको छ । तुइन तान्ने मान्छे नहुँदा त्रिशूली नदी माथि नै अड्कने जोखिम छ ।
तुइनमा जोखिम भएकै कारण अघिल्ला सरकारहरूले विस्थापित गर्ने घोषणा गरेका थिए । तर अहिले बाढीका कारण फेरि स्थापित गर्नुपरेको स्थानीयले बताए ।
रसुवा, नुवाकोट र धादिङका धेरै ठाउँमा अहिले पनि वारिवारि आवतजावत हुन सकेको छैन । बाढीका कारण त्रिशूलीमा ३५ वटा पक्की पुल बगाएको छ । कति झोलुङ्गे पुल बगायो सबै विवरण संकलन भएको छैन ।
बाढीले दर्जनौं पुल र सडक बगाएपछि वारिपारिका बस्तीहरूबीचको सम्बन्ध टुटेको छ । सञ्चार, बिजुली, खाद्यान्न र स्वास्थ्योपचार जस्ता अत्यावश्यक सेवाबाट वञ्चित हुँदा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा ढुंगेयुगमा फर्किए जस्तो भएको बताउँछन् ।
‘बाढीले झोलुङ्गे र पक्की पुल बगाएपछि दुवैतर्फ बेखबर छौं । सम्बन्ध टुटेको छ,’ नुवाकोट दर्शनटारका ८६ वर्षीय भुवनप्रसाद घिमिरेले भने, ‘सरकारले सम्बन्ध कहिले जोड्छ थाहा छैन ।’
फोटो/भिडियो : चन्द्र आले
प्रतिक्रिया 4